बुटवल–नारायणघाट सडक खण्डमा बढी रुख काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न निर्देशन

 माघ २८, २०७८ शुक्रबार १६:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै : बुटवल–नारायणघाट सडक खण्डमा डीपीआरमा उल्लेख गरिएको भन्दा बढी रुख काटिएकाले बढी रुख काट्न गलत आँकडा पेस गर्ने र काट्न स्वीकृति दिनेमाथि छानबिन गर्न संसदीय समितिले निर्देशन दिएको छ । 

प्रतिनिधि सभा अन्तर्गतकाे विकास तथा प्रतिनिधि समितिको आज शुक्रवारको बैठकले बुटवल–नारायणघाट सडक खण्डका दुवै प्याकेजमा डीपीआरमा उल्लेख गरिएभन्दा बढी रुख काट्नेमाथि छानबिन गरी प्रतिवेदन पेस गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिएको हो । आयोजनाको काम नै प्रभावित हुने गरी गलत आँकडा पेस गरिएको समितिको ठहर छ ।

निर्देशन दिँदै समिति सभापति कल्याणीकुमारी खड्काले भन्नुभयो, ‘बुटवल–नारायणघाट सडक खण्डका दुवै प्याकेजमा स्वीकृति दिएको डीपीआरमा उल्लेख भएको भन्दा क्रमशः ५७६ प्रतिशत र ४४० प्रतिशत रुख काटिनुपर्ने कारणले आयोजनाको काममा ढिलाइ भएको भन्ने तथ्य पेस भएको सन्दर्भमा आयोजनाको काम नै प्रभावित हुने गरी गलत आँकडा पेस गर्ने र त्याे कामलाई स्वीकृत गर्ने पदाधिकारीमाथि १५ दिनभित्र छानबिन गरी त्यसको प्रतिवेदन समितिमा उपलब्ध गराउन नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन गर्दछ ।’

त्यसैगरी बैठकले छिमेकी देशबाट नेपाल प्रवेश गर्ने ठूला मालवाहक गाडीले निर्धारित मापदण्ड र सडकको क्षमताभन्दा बढी मालवस्तु बोके/नबोकेको सम्बन्धमा प्रवेश नाकामै परीक्षण गर्नका लागि नीतिगत व्यवस्था मिलाउन सरकारलाई निर्देशन दिएको छ ।

बैठकले राष्ट्रिय गौरवका आयोजनाहरूलाई निर्धारित समयमा काम सम्पन्न गर्नका लागि भुक्तानी समस्या देखिएकाले त्याे समस्या समाधान हुने गरी बजेट व्यवस्थापन गर्न सरकारलाई निर्देशन दिएको छ । निर्माण सामग्रीहरूको सहज उपलब्धता हुने व्यवस्था मिलाउन पनि समितिको निर्देशन छ ।

यस्तै समितिले आफूबाट स्थलगत अध्ययन, अवलोकन भ्रमण भइ तयार पारिएको नारायणघाट–बुटवल सडक खण्डको स्थलगत अध्ययन, अवलोकन भ्रमण प्रतिवेदन २०७८ र मदन भण्डारी लोकमार्गको स्थलगत अध्ययन भ्रमण प्रतिवेदन २०७८ लाई पारित गर्ने निर्णय गरेकाे छ । साथै पारित प्रतिवेदनले निर्दिष्ट गरेका विषयमा कार्यान्वयनका लागि त्याे प्रतिवेदन सरकारका सरोकारवाला मन्त्रालय तथा निकायहरूमा पठाउने निर्णय पनि गरेको छ । 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया