यसपालिको हिउँदमा सरदर भन्दा बढी वर्षा, पानीका स्रोत पुनर्भरणसँगै कृषिलाई फाइदा

 फागुन ३, २०७८ मंगलबार ७:४७:२९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - यसपालिको हिउँदयाममा सरदर भन्दा बढी वर्षा भएको छ । मौसमविद् राजु प्रधानाङ्गका अनुसार हिउँदमा ६० दशमलव ९ मिलिमिटरसम्म वर्षा हुनुलाई औसत मानिन्छ । यसपालिको हिउँदमा अहिलेसम्म ६५ दशमलव ७ मिलिमिटर वर्षा भइसकेको छ ।

हिउँदयाम सकिन अझै १३ दिन बाँकी रहेकाले यसबीचमा पनि वर्षा हुनसक्ने अनुमान मौसमविद्को छ। नेपालमा डिसेम्बरदेखि फेब्रुअरी अर्थात मंसिर १५ गतेदेखि फागुन १६ गतेसम्मको अवधिलाई हिउँदयाम भनिन्छ । पोहोरको हिउँदयाममा  १५ दशमलव ४ मिलिमिटर मात्रै वर्षा भएको थियो । पोहोर सुक्खा र खडेरी थियो ।

मौसमविद्काअनुसार नेपालमा विगत कयौँ वर्ष हिउँदमा राम्ररी पानी पर्न सकेको थिएन । २०६२ सालको हिउँदमा निकै कम जम्मा ७ दशमलव १ मिलिमिटर पानी परेको सरकारी तथ्याङ्क छ । तथ्याङ्क अनुसार सन् २००७ यता पाँचवटा वर्षका हिउँदमा मात्र नेपालमा सरदरभन्दा धेरै वर्षा भएको छ ।

विगत ३० वर्षमा भएको हिउँदे वर्षाको औसतलाई आधार मानेर हरेक वर्ष जाडोयाममा हुने वर्षालाई तुलना गरिन्छ । यसपालि औसतभन्दा बढी नै वर्षा भएकाले पानीका स्रोत पुनर्भरणसँगै कृषिलाई पनि फाइदा पुग्ने देखिन्छ ।

मौसमविद् राजु प्रधानाङ्गकाअनुसार आज पनि पश्चमी पहाडी जिल्लामा हल्का वर्षा र हिमपातको सम्भावना छ । दिउँसो पछि यी क्षेत्रमा हल्का वर्षा र हिमपात हुनेछ । 

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया