प्रधानमन्त्री देउवा र ओलीबीच भेट, आवश्यक परे सरकारमा सहकार्य गर्न प्रधानमन्त्रीको आग्रह

 फागुन ६, २०७८ शुक्रबार ७:७:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - प्रधानमन्त्री शेरबहादुर देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न प्रमुख प्रतिपक्षी दल एमालेलाई आग्रह गर्नु भएको छ ।

हिजो एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उहाँको निवास बालकोट पुगेका प्रधानमन्त्री देउवाले आवश्यक परे सरकारमा सहकार्य गर्न अनुरोध गर्नु भएको हो । यसअघि प्रधानमन्त्री देउवाले ओलीलाई एमसीसी पास गराउनका लागि सहकार्य गर्दै आउनु भएको थियो ।

सत्ता गठबन्धनमा एमसीसीबारे सहमति नभएपछि एमाले अध्यक्ष ओलीलाई भेट्न हिजो राति ९ बजेतिर पत्नी आरजु राणासहित प्रधानमन्त्री देउवा बालकोट पुग्नु भएको हो ।

प्रधानमन्त्री र ओलीबीच राजनीतिक अवस्थाका बारेमा कुराकानी भए पनि यही विषयमा छलफल भयो भन्नेबारे सार्वजनिक गरिएको छैन । तर, भेटमा ओलीले अब सत्ता गठबन्धन कसरी अगाडि बढ्छ ? भनेर जिज्ञासा राखेका उहाँको सचिवालयले जनाएको छ । एमालेले एमसीसी अनुमोदन गर्ने/नगर्ने पक्षमा स्पष्ट निर्णय गरिसकेको छैन ।

आज सत्ता गठबन्धनको बैठक फेरि बस्ने भएकाले गठबन्धनले के निर्णय गर्छ भन्ने पर्खाइमा एमाले छ । हिजोको बैठकमा पनि सहमति नजुटेपछि गठबन्धनको बैठक आज फेरि बस्न लागेको हो ।

प्रधानमन्त्री देउवाले आजको संसद् बैठकमा एमसीसी टेबल गर्ने तयारी गरे पनि यथास्थितिमा एमसीसीलाई अगाडि नबढाउने माओवादी केन्द्र र एकीकृत समावादी पार्टीले अडान राख्दै आएका छन् । सहमति नगरि एमसीसी अगाडि बढाइए सरकारबाट बाहिरिने माओवादी केन्द्रले चेतावनी दिएको छ ।

माओवादी केन्द्र र एकीकृत समाजवादीले गठबन्धन छोडेमा सरकार अल्पमतमा पर्ने भएकाले प्रधानमन्त्री देउवाले एमालेसँगको सहकार्यका लागि छलफल चलाउनु भएको हो । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया