पोखरामा परेको असिना पानीले ११ करोड रुपैयाँ बराबरकाे क्षति

 फागुन १०, २०७८ मंगलबार १३:२०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - पोखरामा गएकाे आइतवार परेको असिना पानीले ११ करोड रुपैयाँ बराबरको क्षति भएको छ । 

बाक्लो असिनापानीका कारण केही जनावर मरेका र तरकारी तथा फलफूलसहित बालीनालीमा क्षति पुगेकाे  पोखरा महानगरपालिका कृषि तथा पशु विकास महाशाखाले जनाएको छ ।

पोखरा महानगरपालिकाका कृषि महाशाखाका प्रमुख मनोहर कडारियाले पोखरा वडा नम्बर ९, ११, १३ र १८ मा धेरै क्षति भएको र अन्य वडामा सामान्य क्षति भएको बताउनुभयो ।

कडारियाले राज्यले कृषकलाई दिएको बीमा सुविधा समेत कृषकले सदुपयोग गरेमा यसप्रकारका क्षतिबाट राहत पुग्नसक्ने बताउनु भयो । उहाँले असिनाका कारण यस वडामा तरकारी बाली, नगदे बाली, फलफूल, तोरी, आलु लगायतका बालीमा पूर्ण क्षति पुगेको जानकारी दिनुभयो । उहाँकाअनुसार असिना पानी परेको दोस्रो दिनसम्म पनि असिना पग्लिएको छैन ।

असिनाकै कारण पोखरा महानगरपालिका वडा नम्बर ११ मा फलमान गुरुङले सञ्चालन गर्दै आउनुभएको उदय अर्गानिक कृषि फार्मका दुई वटा भैँसी मरेका छन् ।

फार्ममा टिनमा असिनाको भार पर्दा भाँचिएर थिचेको कारण भैँसी मरेका हुन् । त्यस्तै तरकारीका टनेलहरु भत्किएका छन् । गुरुङका अनुसार फर्ममा २० लाख रुपैयाँ बराबरको क्षति भएको  छ ।

पोखरा वडा ११ मा केहरमान गुरुङले सञ्चालन गर्दै आउनुभएको गोर्खाली मनकामना नर्सरीमा पनि ठूलो क्षति पुगेको छ । उहाँले ४ रोपनी क्षेत्रफलमा लगाएको विभिन्न जातका फूलहरु टनेलसहित भाँचिदा पूर्णरुपमा क्षति भइ २० लाख रुपैयाँ बराबरको क्षति पुगेको बताउनु भयो । असिनाको भारका कारण टनेल भाँचिएको उहाँको भनाइ छ ।

यसैगरी पोखरा ११ को कृषक मोतीराम भट्टराईको पनि तरकारी खेतीमा ठूलो क्षति पुगेकाे छ । उहाँ सरकारले राहत दिएर भए पनि किसानहरुलाई सहयोग गरिदिन आग्रह गर्नुभयो ।

पोखरा महानगरपालिका वडा नम्बर ११ का अध्यक्ष मोहनप्रसाद बास्तोलाले पोखरा क्षेत्रमा परेको असिनापानीको मुख्य केन्द्र पोखरा ११ भएकोले आफ्नो वडामा धेरै क्षति पुगेको बताउनु भयो । उहाँले कृषकको राहतमा आफूले पहल गरेकोसमेत बताउनु भयो ।

पोखरा महानगरका कुल ३३ वडामध्ये २ हजार १ सय ८१ हेक्टर क्षेत्रफलमा तरकारी खेती हुने गरेको छ । फलफूल ३ सय २० हेक्टर क्षेत्रफलमा, आलु १ हजार २ सय ५३ हेक्टर क्षेत्रफलमा उत्पादन हुने गरेको छ । पोखरामा गएकाे फागुन ८ गते आइतवार दिउँसो असिना पानी परेको थियो । 

असिनापानीले पोखराको सडक केही समय बन्द भएको थियो । पोखराको न्युरोड, चिप्लेढुङ्गा, फूलबारी, बगर, अमंरसिंह चोक, रानीपौवा भागमा असिनाले सडक नै छोपिएको थियो । सडकमा परेको असिना हटाउन डोजरको समेत प्रयोग गरिएको थियो  । असिनाले गुडिरहेका सवारी साधन रोकिएका थिए  । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया