वृषेशचन्द्र लालसहितका नेता लोसपा परित्याग गर्दै तमलोपामा प्रवेश

 फागुन १०, २०७८ मंगलबार १७:४२:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

धनुषा – लोकतान्त्रिक समाजवादी (लाेसपा) पार्टीका केन्द्रीय कार्यकारणी सदस्यद्वय वृषेशचन्द्र लाल र डा. विजयकुमार सिंहले पार्टी परित्याग गर्नुभएको छ । 

आज मङ्गलवार जनकपुरमा पत्रकार सम्मेलन गरी नेताद्वय लाल र सिंहले लोकतान्त्रिक समाजवादी पार्टी परित्याग गरेको घोषणा गर्नुभएको हो । लाल राष्ट्रिय सभाका पूर्वसदस्य हुनुहुन्छ भने डा. सिंह संविधान सभा सदस्य हुनुहुन्छ । 

मधेश केन्द्रित दलहरूले मधेशको एजेन्डा नै छाडेकाले मधेशी जनताको हितका लागि लाेसपा पार्टी परित्याग गरी तराई मधेश लोकतान्त्रिक पार्टी (लाेसपा) मा समावेश भएको दुवै नेताले बताउनुभयो । नेता लालले नेतृत्व पङ्क्तिले मधेश केन्द्रित नामबाटै तर्सिने काम गर्न थालेको र लोकतन्त्रवादी मधेशी जनतालाई वामपन्थीको खोल ओढाउन थालिएको आरोप लगाउनुभयो । उहाँले आफ्नो भूमि, इतिहास, भाषा, संस्कृति र जीवनशैली बोकेको मधेशलाई जात र सम्बन्धवादमा विभाजित गरी सीमित गर्न खोजिएको आरोप लगाउनुभयो ।

नेता लालले मधेशी जनताको चाहनाअनुसार स्वच्छ क्षेत्रीय आकाङ्क्षा र आवश्यकताअनुसार स्वशासन र सङ्घीयताको अभ्यासलाई अगाडि बढाउन, लोकतन्त्रवादी, मधेश एजेन्डाप्रति प्रतिबद्ध लाेसपामा समावेश भएको जानकारी गराउनुभयो ।

यस्तै डा. सिंहले मधेशी जन विद्रोहबाट जन्मेका शक्तिहरू बिस्तारै मधेश शब्दबाट विमुख हुँदै गएको बताउनुभयो ।

महन्थ ठाकुर लोसपा छोडेर नेताहरू तमलोपा बिउँताउने अन्तिम तयारीमा जुटेका छन् । आन्तरिक द्वन्द्वबाट जुधिरहेकै बेला लोसपाका शीर्ष नेताहरू तमलोपालाई सक्रिय बनाउने अभियानमा जुटेका छन् ।

जसपाभित्र विवाद चलिरहेकै बेला निर्वाचन आयोगमा तमलोपा दर्ता भएको थियो । धनुषाका रविशंकरलाल कर्णको नेतृत्वमा तमलोपा दर्ता भएको हो । कर्ण नेता लाल निकट मानिनु हुन्छ । मधेश आन्दोलनको सुरुवातसँगै तमलोपा हुँदै लोसपासम्म आइपुग्दा पार्टीले आन्दोलनकारीहरूलाई अवमूल्यन गरेको असन्तुष्ट बनेका नेताहरूले आरोप लगाउँदै आइरहेका छन् । 

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया