प्रचण्ड र माधव नेपालबीच भेट, गठबन्धन कायम राख्नुपर्नेमा जाेड

 फागुन १३, २०७८ शुक्रबार १७:५३:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । 

आज शुक्रवार दिउँसाे अध्यक्षद्वय दाहाल–नेपालबीच सिंहदरबारमा रहेकाे नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको कार्यालयमा भेटवार्ता भएको हो । अध्यक्ष नेपाल आफ्नो पार्टीका मन्त्रीहरू तथा उपलब्ध सांसदहरूसँग छलफल गरिरहेका बेला अध्यक्ष दाहाल पुग्नुभएको थियो । 

भेटवार्ताका क्रममा अलमलमा परेकाे वर्तमान राजनीतिक विषयलाई समाधान गर्ने विषयमा छलफल भएको एकीकृत समाजवादीका सचेतक जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । गठबन्धनलाई कायम राख्ने र एमसीसीमा भएका राष्ट्रहित विरोधी दफाहरूलाई सच्याउन सकिन्छ कि भन्ने सम्बन्धमा नेताहरूबीच कुराकानी भइरहेको उहाँले बताउनुभयो । सचेतक श्रेष्ठले भन्नुभयो, ‘राष्ट्रिय आवश्यकताले बनेको गठबन्धनलाई कसरी कायम गर्ने ? एमसीसीको सन्दर्भमा उठेका विषयहरू र एमसीसीका सन्दर्भमा अहिलेसम्म जति पनि शङ्काका कुराहरू छन्, त्यसमा राष्ट्रहित विपरीतका दफालाई सच्याउन सकिन्छ कि भनेर छलफल भइरहेकाे छ । र यथास्थितिमा हामी पास गर्न सक्दैनौँ भन्ने पार्टीकाे निर्णय हो ।’

प्रमुख सचेतक श्रेष्ठले प्रमुख प्रतिपक्ष एमालेले देशलाई राजनीतिक अस्थिरतामा लैजाने षड्यन्त्र गरिरहेकाले अझै पनि त्यसका विरुद्धमा गठबन्धन आवश्यक रहेको बताउनुभयो । गठबन्धनको आवश्यकता र महत्त्व उत्तिकै रहेकाले गठबन्धन कायम राखेर अगाडि बढ्नुपर्नेमा पार्टीको जोड रहेको उहाँले स्पष्ट पार्नुभयो । 

अन्तिम अपडेट: असोज ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया