आउँदाे चुनावमा गठबन्धनलाई ७ दिन उठ्न नसक्ने गरी पछार्छाैँ : ओली

 फागुन १३, २०७८ शुक्रबार १९:२:२४ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आउँदाे चुनावमा सत्तारुढ गठबन्धनलाई सात दिन उठ्नै नसक्ने गरी पछार्ने चेतावनी दिनुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले ‘गठबन्धनमा सहमति, एमसीसी पास हुने, गठबन्धन पनि नटुट्ने’ समाचार आएको उल्लेख गर्दै उनीहरूलाई एकमुष्ट रूपमा उठ्नै नसक्ने गरी पछार्ने बताउनुभएको हो । 

आज शुक्रवार पोखरामा आयोजित पार्टी कार्यकर्ता भेलामा बोल्दै उहाँले सत्तारुढ गठबन्धन आउँदाे चुनावमा धुलोपिठो हुने भयले पनि नटुट्ने तर्क गर्नुभयो । एमालेले गठबन्धन दलहरूसँग 'वान बाई वान' लड्नुभन्दा एकमुष्ट लड्न चाहेको उल्लेख गर्दै अध्यक्ष ओलीले पाँच वटै दललाई एकमुष्ट रूपमा चुनावमा लड्न चुनौती दिनुभयो । उहाँले आफ्नो दल जनताको पवित्र मतबाट विजयी हुने दाबीसमेत गर्नुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘गठबन्धन टुट्यो भने बिचराहरू धुलोपिठो हुन्छन् । पाँच वटै एकैचोटि आऊ । वैशाख ३० गतेको चुनाव सार्न प्रधानन्यायाधीशमाथि महाअभियोग लगाइयो । गठबन्धन टुटाएर एक्लै चुनाव लड्ने कसैको हिम्मत छ ? ठिक छ, वैशाख ३० गतेसम्म एक झट्का, एक पटक हामी त्यहाँ सात दिन नउठ्ने गरी पछार्छाैँ । यिनीहरूको जस्तो सडकमा ढुङ्गा हानेर होइन, जनताको पवित्र मतबाट ।’

अध्यक्ष ओलीले एमसीसी पास गर्नका लागि पर्याप्त मत सरकारसँग रहेको बताउनुभयो । एक सय ६५ भोट सरकारसँग छ, एमसीसी पास गर्न कसले रोकेको छ ? उहाँको सत्तारुढ दलप्रति प्रश्न थियो । ओलीले एमसीसीप्रति सङ्केत गर्दै आफ्नो पार्टीले देश र जनताको हितभन्दा बाहिर गएर कुनै पनि निर्णय नलिने स्पष्ट पार्नुभयो । उहाँले पुतलीको कथा उद्धृत गर्दै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमसीसीबारे दोहोरो चरित्र देखाइरहेको आरोप लगाउनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, ‘प्रचण्डले २९ सेप्टेम्बरमा पाँच महिनामा एमसीसी पास गर्छु भनेर संयुक्त पत्र पठाएका छन् । अस्ति फेरि एमसीसी पास नगर्ने भनेका छन् । यो मान्छे हो कि पुतली हो ? कुन सही हो, कुन गलत हो ?’

कार्यक्रममा विभिन्न दलबाट एमालेमा प्रवेश गर्ने कार्यकतालाई अध्यक्ष ओलीले स्वागत गर्नुभएको थियो  । 

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया