युक्रेनकाे किएभमा कर्फ्यु हट्नासाथ सुरक्षित क्षेत्रतर्फ जाने पर्खाइमा नेपाली

 फागुन १६, २०७८ सोमबार ८:५०:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - युद्धग्रस्त युक्रेनबाट नेपालीहरु छिमेकी देश पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हङ्गेरी प्रवेश गर्ने क्रम चलिरहेको छ ।

अहिलेसम्म पोल्यान्ड, स्लोभाकिया, रोमानिया र हङ्गेरीमा ५८ जना नेपाली प्रवेश गरिसकेका छन् । ९० जना नेपाली सीमाक्षेत्रमा पुगेका छन् । ८० नेपाली युक्रेन छाड्ने पर्खाइमा छन् । पोल्यान्डमा मात्रै ३० नेपाली प्रवेश गरेका छन् । ७० जना लाइनमा छन् । पोल्यान्डले सीमा क्षेत्रमा रोकी राखेकाले घण्टौँसम्म लाइनमा बस्न नेपाली बाध्य भएका छन् ।

सीमा क्षेत्रमा अलपत्र रहेका नेपालीलाई पोल्यान्ड प्रवेशका लागि गैरआवासीय नेपाली सङ्घले समन्वय गरिरहेकाे छ । त्यस्तै, १२ नेपाली युक्रेनबाट स्लोभाकिया पुगेका छन् भने १२ जना रोमानिया प्रवेश गरेका छन् ।

स्लोभाकियामा गैरआवासीय नेपाली सङ्घले आईओएमसँग समन्वय गरेर सय नेपालीका लागि बस्ने व्यवस्था मिलाएको बर्लिनमा रहेको दूतावासलाई जानकारी दिएको छ । युक्रेनका लागि गैरआवासीय राजदूत रामकाजी खड्काका अनुसार युक्रेनमा रहेका र छोडेकासमेत अहिलेसम्म दुई सय २८ जना नेपाली बर्लिनमा रहेकाे नेपाली राजदूतावासको सम्पर्कमा छन् । अहिलेसम्म ३४ नेपालीलाई दूतावासले ट्राभल डकुमेन्ट बनाइदिएको छ ।

राजदूत खड्काका अनुसार पूर्वी युक्रेनको खार्किभमा पाँच नेपाली छन् । दक्षिण–पश्चिमको बेलासेरकुवा र मारियोपोलमा तीन–तीन जना छन्  । उनीहरू सुरक्षित रहेका खड्काले बताउनु भएको छ। यस्तै, चार नेपाली हङ्गेरी प्रवेश गरेका छन् ।

युक्रेनको खार्किभ र राजधानी किएभमा सोमवार बिहानसम्म कर्फ्यु छ । त्यहाँबाट कर्फ्यु हट्नासाथ नेपालीहरू पश्चिम युक्रेनतर्फ जाने पर्खाइमा छन् । धेरैजसो नेपाली भूमिगत मेट्रो स्टेसनमा बसेका छन् ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया