रासायनिक मल ल्याउन भारतसँग 'जी टु जी' सम्झौता, पहिलाे वर्ष १ लाख ५० हजार टन ल्याइने

 फागुन १६, २०७८ सोमबार १८:२२:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले भारतसँग रासायनिक मल खरिदको सम्झौता गरेको छ ।  सरकार–सरकार अर्थात् 'जी टु जी' प्रक्रियाबाट रासायनिक मल खरिद गर्न नेपाल र भारतबीच सम्झौता भएको हो । भारतको तर्फबाट रसायन एवम् मल मन्त्रालयका सचिव राजेश कुमार चतुर्वेदी र नेपालको तर्फबाट कृषि तथा पशुपक्षी विकास मन्त्रालयका सचिव गोविन्दप्रसाद शर्माले आज साेमवार समझदारी पत्रमा हस्ताक्षर गर्नुभएको हो । 

जी टु जी प्रक्रियामार्फत भारतबाट नेपालमा युरिया र डीएपी मल आपूर्तिका लागि दुई देशका सरकारबीच समझदारी पत्रमा हस्ताक्षर भएको कृषि सामग्री कम्पनी लिमिटेडका कायममुकायम प्रबन्ध सञ्चालक राजेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । यो सम्झौता पाँच वर्षका लागि हुनेछ । सम्झौताअनुसार यो आर्थिक वर्ष एक लाख ५० हजार टन मल ल्याइनेछ । जसमा ६० प्रतिशत युरिया र ४० प्रतिशत डीएपी मल आयात हुने कार्कीले जानकारी दिनुभयो ।

कृषि तथा पशुपक्षी विकास मन्त्री महिन्द्रराय यादव र नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्रालगायतको उपस्थितिमा भर्चुअल माध्यमबाट दुई पक्षीय समझदारी पत्रको आदानप्रदान भएको हो । दुई पक्षबीच भएको यो समझदारीले नेपालमा बारम्बार दोहोरिने मल अभावको समस्यालाई केही हदसम्म समाधान हुन सक्ने पनि कृषि सामग्री कम्पनी लिमिटेडका कायममुकायम प्रबन्ध सञ्चालक  कार्कीले बताउनुभयो । 

टेन्डर खरिद प्रक्रियाबाट रासायनिक मल ल्याउँदा ढिलो हुने र चाहिएको समयमा मल नपाउने समस्या भएकाले जी टु जी प्रक्रियाबाट मल ल्याउँदा छिटो हुने भएकाले किसानलाई फाइदा हुन्छ । नेपाल र भारतबीच मल खरिद सम्बन्धी सम्झौता भएसँगै यो वर्षको बर्खाको समयमा मलको अभाव नहुने कार्कीले दाबी गर्नुभयो । नेपालमा बर्सेनि आठ लाख मेट्रिक टन रासायनिक मलको माग रहेकोमा, भारतबाहेक अरू देशबाट पनि मल ल्याउनका लागि टेन्डर भइरहेको र केही मल बाटोमा भएकाले यो वर्ष सम्भवत कुनै पनि खेतीबालीका लागि मलको अभाव नहुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया