रुस–युक्रेनबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन : तत्काल युद्धविराम र सेना फिर्ता गर्नुपर्ने युक्रेनको सर्त

 फागुन १७, २०७८ मंगलबार ६:४४:३० | एजेन्सी
unn.prixa.net

तस्बिर : बेलारुसकाे विदेश मन्त्रालयबाट

रुस र युक्रेनबीच भएको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ । दुई देशबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको पहिलो चरणको वार्ता कुनै सम्झौताविना नै सकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी प्रतिनिधिमण्डलको नेतृत्व गरेका भ्लादिमिर मेडिन्स्कीले युक्रेनी अधिकारीसँग झण्डै पाँच घण्टा वार्ता भएको तर वार्तामा कुनै प्रगति हुन नसकेको बताएको अल जजिराले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सल्लाहकार मिखाइलो पोडोल्याकले वार्ता सम्भावित युद्धविराममा केन्द्रित भएको र दोस्रो चरणको वार्ता छिट्टै हुनसक्ने प्रतिक्रिया दिनुभएको छ ।

युक्रेनको सीमा नजिक बेलारुसमा भएको पहिलो चरणको वार्तामा युक्रेनले रुसले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नु पर्ने सर्त राखेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताउनु भएको थियो ।

रुसले युक्रेनमा आक्रमण गरेको आज छैटाैँ दिन हो । पाँचौँ दिन रुसी सेनाले युक्रेनको दोस्रो ठूलो सहर खार्किभको आवासीय क्षेत्रमा आक्रमण थालेपछि वार्ता सुरु भएको थियो । खार्किभको आवासीय क्षेत्रमा आक्रमण पछि कम्तीमा ११ जनाको ज्यान गएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

रुसी सेनाले दक्षिणपूर्वी युक्रेनका दुई साना सहर र आणविक ऊर्जा केन्द्र वरपरको क्षेत्र कब्जा गरेको जनाएको छ । अहिले पनि युक्रेनमा आक्रमणका घटना भइरहेका छन् । 

अन्तिम अपडेट: असार १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया