माधव नेपालकाे आराेप : ट्रम्पले ओलीलाई 'ट्र्याप' मा पारेर चीन विराेधी काममा संलग्न गर्न खाेजेका थिए

 फागुन १७, २०७८ मंगलबार १६:५२:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकाका तत्कालीन राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालका तत्कालीन प्रधानमन्त्री केपी ओलीलाई 'ट्र्याप' मा पारेर नेपाललाई चीन विराेधी क्रियाकलाप सञ्चालन गराउन खोजेको आराेप लगाउनुभएकाे छ । एमसीसी सम्झौताबारेमा पार्टीको धारणा सार्वजनिक गर्न आज मङ्गलवार काठमाण्डौमा गरेको पत्रकार सम्मेलनमा उहाँले यस्ताे आराेप लगाउनुभएकाे हाे । 

अमेरिकामा राष्ट्रपति परिवर्तन भएसँगै आफूहरूले निरन्तर कुरा उठाएसँगै नेपाललाई इन्डोप्यासेफिक रणनीतिबाट हटाइएको उहाँले दाबी गर्नुभयो । उहाँले भन्नुभयो, ‘डोनाल्ड ट्रम्पको पालामा केपी ओली ट्र्यापमा परेका थिए । नेपाललाई चीन विरोधी क्रियाकलापमा संलग्न गराउने कुरामा केपी ओली फसेका थिए । त्यसपछि हामीहरूले करा उठायाैँ । अमेरिकामा पनि राष्ट्रपति परिवर्तन भए । विभिन्न घटनाक्रमलाई विचार गरिसकेर एमसीसी आईपीएसको हिस्सा होइन भनेर अमेरिकाले प्रष्ट पार्‍याे । केही पनि होइन भनेर अहिले केपी ओलीले भनिरहेका छन् । त्यो शतप्रतिशत गलत हो ।’

यसैबीच अध्यक्ष नेपालले एमसीसी सम्झौतासँगै संसदबाट पारित गरिएको व्याख्यात्मक घोषणाले कानुनी मान्यता पाउने बताउनुभएकाे छ । नेकपा (एमाले) को समेत सम्झौतामा औपचारिक विरोध नभएकाले सम्झौता दुई तिहाइभन्दा बढी मतले पारित भएको उहाँले दाबी गर्नुभयाे । सम्झौता अनुमोदनपछि अमेरिका र छिमेकी देश चीनको समेत सकारात्मक प्रतिक्रिया आएको उहाँले बताउनुभयो ।

जनतामा एमसीसीबारे भएका भ्रमहरूको व्याख्यात्मक घोषणाले प्रष्ट पारेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘कसै–कसैले यो व्याख्यात्मक घोषणालाई केही पनि होइन भनेर प्रचार गर्न खोजेका छन्, त्यसलाई अन्तर्राष्ट्रिय सन्धिसम्बन्धी व्यवहारको ज्ञान नभएका अज्ञानीहरूको कुरा मात्रै हो । उनलाई यो पनि ज्ञान छैन कि नेपालमा २०७७ सालमा सन्धिसम्बन्धी नियमावली जारी भएको थियो । त्यो नियमावलीले एउटा फर्म्याछ अगाडि सारेको थियो । त्यही फर्म्याटको आधारमा कुनै पनि सन्धिकाे साथमा त्यसलाई प्रस्तुत गर्‍याे भने त्योसँग जोडिन पुग्दछ भन्ने व्यवस्था गरेको थियो । त्यही व्यवस्था गरेको आधारमा व्याख्यात्मक घोषणा तयार भएको हो र प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बसाएर त्यसलाई स्वीकार गरेर नेपाल सरकारले स्वीकार गरेर, प्रतिबद्धता व्यक्त गरेर सिङ्गाे संसदले प्रस्तुत गरेको छ, केपी ओलीकाले पनि विरोध एक शब्द गरेनन् त्यहाँ । अत्यधिक दुई तिहाइबाट संसदले अनुमोदन गरिसकेपछि र त्यसको बारेमा अमेरिका र चीनले पनि सकारात्मक प्रतिक्रिया दिइसकेपछि यसको केही पनि अर्थ छैन भन्ने ? यत्रो जनताको बीचमा फैलिरहेको भ्रमलाई चिर्नुपर्ने आवश्यकता पर्दैन ? त्यसैले यी १२ वटा विषयमा ती जम्मै भ्रमहरू चिर्ने कोसिस भएको छ । व्याख्यालाई प्रष्ट पार्न खोजिएको छ ।’

सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिँदै अध्यक्ष नेपालले आफूहरू सभामुख अग्निप्रसाद सापकोटाको राजीनामाको पक्षमा नरहेको स्पष्ट पार्नुभयो । सभामुखको पक्षमा एकीकृत समाजवादी दृढताको साथमा उभिने उहाँको भनाइ छ । सभामुख सापकोटाले संसदको गरिमा र सांसदहरूको अधिकारको रक्षा गरेको भन्दै उहाँले सभामुखको राजीनामा गराउने कुरा नचिताउन चुनौती दिनुभयो ।

उहाँले नेपालले आउँदा दिनमा अन्तर्राष्ट्रिय सन्धि, सम्झौता गर्दा विशेष ध्यान पुर्‍याउनुपर्ने बताउनुभयो । सरकार तथा मन्त्रालयका नेतृत्वकर्ताले ध्यान दिँदै देशप्रेमी, विषयवस्तुको ज्ञान भएको र अनुभवीहरूलाई यस्तो काममा खटाए मात्रै त्रुटि नहुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया