एउटा ‘नमस्ते’ ले फेरिएको महानगर !

 फागुन १९, २०७८ बिहिबार ९:१०:५६ | वैद्यनाथ पाैडेल
unn.prixa.net

ट्राफिक प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) बाट अवकाश प्राप्त गरेपछि सीताराम हाछेथुलाई लागेको थिएन कि कुनैबेला परबाट देख्नेबित्तिकै ‘सीताराम दाइ नमस्कार’ भनेर हात जोड्ने मान्छेले पछि आफैँले नमस्कार गर्दा पनि फर्काउँदैनन् भन्ने । तर, विडम्बनासत्य यही भयो । उनले नफर्काएको त्यही एउटा नमस्कारले ललितपुर महानगरको मुहार फेर्न एउटा प्रेरणाको काम गर्यो । 

ललितपुरको नगर प्रमुख भएपछि आफ्ना सहकर्मीसहित फुटपाथ पसल हटाउन अनुरोध गर्ने क्रममा नमस्ते गर्दा ती सज्जनले नमस्कार नफर्काए पछि यो दृष्यले हाछेथुलाई भन्दा पनि उहाँका प्रहरीको मुहारमा एक प्रकारको ग्लानी र क्रोध देखियो । यसले हाछेथुलाई भने रिस उठेन ! 

उहाँलाई लाग्यो नमस्कार नफर्काउनु ती सज्जनको कमजोरी होइन । कमजोरी पक्कै पनि महानगरीय प्रहरीमा छ । आखिर नागरिकको नजरमा महानगरीय प्रहरीको ठाउँ कहाँ रहेछ ! उहाँलाई यसले राम्रैसँग घोत्लिन बाध्य गरायो । अनि उहाँले तत्कालै आफ्ना प्रहरीलाई बोलाएर हामी नगर प्रहरीको ठाउँ नागरिकको नजरमा कहाँ रहेछ विचार गर्नुस्, यसलाई हामीले बदल्नु पर्छ, हामीले अरु नराम्रो भन्दा पनि पहिले आफू राम्रो हुनुपर्यो, यसका लागि आजैदेखि आफूलाई सुधार गरौँ भनेपछि सुरु भयो ललितपुर महानगरको सुधार अभियान । 

सुधार अभियान

पहिलो अभियानका रुपमा सुरु भयो कोही पनि फुटपाथ व्यापारीलाई तिमी नभनी तपाईँ भन्नुपर्ने अभियान । फुटपाथमा पसल राख्न दिने अनि प्रहरी पठाएर सामान लुटेर ल्याउने चोर–पुलिसको काम बन्द गरी त्यहाँ प्रहरी पठाइ पसल नै राख्न निषेध गर्ने । 

उहाँ आउनु अघि नगर प्रहरीले लट्ठी बोक्ने काम गर्थे । किन लट्ठी बोकेको भन्दा भनेको मान्दैनन् अनि उनीहरु साइकल, रिक्सा तथा स्याउ, केरा र मेवामा लट्ठीले हानेपछि भाग्छन् भन्ने जवाफ हातलाग्यो । 

लट्ठी भनेको हतियार हो, त्यसकारण अब नगर प्रहरीले लट्ठी बोक्न नपाउने भन्ने उहाँको सुधारको अर्को निर्णय थियो । नगर प्रहरीले हामीलाई आक्रमण गर्छन नि सर नभनेको होइन । तर, राम्रो काम नगरेकोले आक्रमण गरेको हो राम्रो काम गरेपछि त फूलमाला लगाउँछन् भनेर हाछेथुले लट्ठी विस्थापन गर्नुभयो । 

उहाँले नगर प्रहरीका बारेमा अध्ययन पनि थाल्नुभयो । तर, नेपालमा नगर प्रहरीको अवधारणा कतै पनि स्पष्ट रुपमा थिएन चाहे त्यो काठमाण्डौ, ललितपुर वा भक्तपुर । नगर प्रहरी भनेको फुटपाथको सामान लुट्ने भन्ने एउटा आम बुझाइ भएको छ । 

बैंकको सुरक्षा गार्डलाई पनि नमस्ते गर्छन् तर, नगरको सुरक्षाका लागि खटिने प्रहरीको ठाउँ भनेको सुरक्षा गार्ड भन्दा पनि तलको रहेको भन्ने लाग्यो हाछेथुलाई । त्यसलाई परिवर्तन गर्न जरुरी रहेका कारण पनि उहाँले यसको अध्ययन थाल्नुभएको रहेछ । 

जागिर होइन सेवा भाव

परिवर्तनका कुरा भन्न जति सजिलो छ गर्न उत्तिकै गाह्रो । नगर प्रहरीको व्यवहार, उनीहरुको क्रियाकलाप तथा काम कारबाहीमा परिवर्तन ल्याउन उहाँलाई पनि धेरै नै गाह्रो भयो । तर, ट्राफिक प्रहरी तथा प्रहरी बलमा पनि थुप्रै तालिम लिएका हाछेथुले त्यसको प्रयोग नगरी प्रहरीमा गर्नुभयो । जसले गर्दा उहाँ प्रहरीलाई हामी जागिर आएको होइन सेवा गर्न आएको भन्ने भावनाको विकास गर्न सफल हुनुभयो । 

उहाँलाई एउटा उपाय सुझ्यो, नगर प्रहरीले तलब बापत बुझ्ने एक एक रुपैयाँ भनेको नगरवासीले तिरेको रगत, पसिनाको कमाइ हो जसले तपाईँको परिवार पालिएको छ, बालबच्चाले पढ्न पाएका छन् भनेर उहाँले सम्झाउने काम गर्नुभयो जसले प्रहरीलाई नगरवासीप्रति अनुग्रहित हुन र सेवामा समर्पित रहने भाव विकसित भयो । यसले प्रहरी पनि सुध्रिए । 

नगर प्रहरीको व्यवहारमा परिवर्तन आयो । व्यक्तित्व झल्काउन उहाँले नगर प्रहरीको पोसाक परिवर्तन गर्नुभयो । यसले नगरी प्रहरी कहाँ छ र के गर्दै छ भन्ने देखिने भयो साथै नराम्रो काम गर्यो भने सजिलै देखिने भयो । पोसाकले नराम्रो ठाउँमा जान र नराम्रो काम गर्न बन्देज गर्यो । 

सचेतना अभियान

त्यसपछि सुरु भयो जभाभाबी फोहोर नफाल्ने, जहाँ पायो त्यहीँ पाेस्टर नटासौँ भन्ने माइकिङसहितको सचेतना अभियान । अनि जाँड रक्सीका होर्डिङ बोर्डहरु हटाउने काम सुरु भयो । जसले सहर अलि सुन्दर देखिन थाल्यो । 

जात्रा तथा पर्वहरुमा पहिले एकजना नगर प्रहरी पठाइन्थ्यो पछि उहाँले मन्दिर तथा भगवानको सुरक्षा घेरा हुने गरी ४०/५० को सङ्ख्यामा प्रहरी पठाउनु भयो । यसले नगरवासीमा नगर प्रहरी भनेको हाम्रो सेवाको लागि हो भन्ने भावना मजबुत गरायो । 

ट्राफिक प्रहरीमा एकसय २९ वटा पुरस्कार पाएर उत्कृष्ट ट्राफिक प्रहरी बनेर आएको मान्छेले के गर्यो अनि हाछेथु ट्राफिक प्रहरीको लागि मात्र रहेछ भन्ने चुनौतीले उहाँलाई देखिने गरिको सुधारमा घचेट्यो । 

त्यसका लागि उहाँले नमस्ते सहित फुटपाथ अतिक्रमण हटाउनु भयो, सहर नै कुरुप देखिने गरी लत्रिएका तार सङ्गाल्ने काम भयो भने पोलहरुमा रहेका पाेस्टर, पम्प्लेट हटाउने र त्यसलाई सफा देखाउन हरियो रङ्ग लगाउने काम गर्नुभयो । यसले सहर झन उजेलियो । अबको उहाँको कदम भनेको सडक पेटीमा लामो समयसम्म थुपारिएको निर्माण सामग्री उठाउने छ । 

पत्रमा सबै सार्वजनिक बिदा पाउने गरी बिहान दशदेखि बेलुकी पाँच बजेसम्म उल्लेख छ उहाँको जागिर । तर, केही गर्नुपर्ने दबाबले आएको अठार महिनामा उहाँ जम्मा तीन दिनमात्र बिदा बस्नु भएको छ । 

उहाँले फुटपाथबाट पसल त हटाउनु भयो तर, राखिएका मोटरसाइकल हटाउने नियम रहेनछ नगरपालिकाको । नगरसभाले हालै त्यो कानुन पनि बनाएको छ । जरिबाना पाँचसय रुपैयाँ पनि गरिएको छ । तर, यो राजश्व बढाउने उद्देश्यले नभइ सचेतना अभियान गरेर लागू गरिएको हो । 

निःशुल्क पार्किङ तथा व्यवस्थित फुटपाथ

अहिले महानगर र नगर प्रहरीको सक्रियतामा २१ ठाउँलाई निःशुल्क पार्किङ स्थल घोषणा गरिएको छ जसमा मानभवन, कुमारीपाटी, पाटन अस्पताल अगाडि, महालक्ष्मीस्थान, बटुकभैरव, एकान्तकुना यातायात, जावलाखेल स्टिल टावर अगाडि, भनिमण्डल लगायत छन् । 

केटाकेटीलाई कापी, कलम किन्न आउने अनि एक प्लेट मःम लिन आउने नगरवासीसँग त्यो भन्दा धेरै पार्किङ लिएर कति ढाड सेक्ने भनेर उहाँले महानगर प्रमुखलाई भनेपछि साकार भएको हो निःशुल्क पार्किङको अवधारणा । 

पहिले महानगर प्रहरीको गाडी जाँदा फुटपाथ पसलेको भागाभाग हुन्थ्यो । अनि जो भाग्न सक्दैन उसको सामान खोसेर ल्याइन्थ्यो । एउटा अभद्र दृश्य देखिन्थ्यो । तर, हाछेथु आएपछि भने लगनखेलमा बेलुका पाँच बजेदेखि आठ बजेसम्म र बिहान पनि आठ बजेसम्म तरकारी तथा अन्य पसल राख्न पाइने व्यवस्था मिलाइएको छ । जसले काँठ क्षेत्रमा आफ्नो बारीमा उत्पादन भएका तरकारी स्थानीयले बेच्न पाएका छन्

ब्याग, तथा खेलौना बेच्नेहरुले दिउँसो एघार/बाह्र बजेदेखि लगनलेख बसपार्क पूर्वपट्टि उभिएर गाडीलाई असर नगर्ने गरी बेच्न पाइने व्यवस्था भएको छ । जसले स–साना रोजगारी पनि उपलब्ध भएको छ । 

नगर प्रहरीको कामबाट सन्तुष्ट भएर होला शायद अहिले नगर प्रहरीको कुनै पनि काम कारबाहीमा विरोध नभएर सहयोग भएको हाछेथुको अनुभव छ । अर्को कुरा महानगरको नेतृत्वले पनि त्यत्तिकै सहयोग गरेको बताउनुहुन्छ हाछेथु । 

कुपण्डोलदेखि सातदोबाटो तथा अन्य फुटपाथ क्षेत्रलाई निषेधित क्षेत्र घोषणा गरिएको तथा सम्झाइ बुझाइ गरेका कारण अहिले कतै पनि फुटपाथ पसल नभएको दाबी छ हाछेथुको । 

अनावश्यक लाभ लिएमा बर्खास्ती

कुनै पनि नगर प्रहरीले कसैसँग दुई रुपैयाँ घुस खाए वा फुटपाथ पसलका केही सामानदेखि एउटा स्याउ, सुन्तला मात्र खाए पनि त्यसको जिम्मेवारी आफूले लिने त्यस्तो भएमा कारबाही गर्ने उहाँको प्रतिबद्धता छ । 

नगर प्रहरीलाई अनुचित लाभ लिनबाट वञ्चित गर्ने उहाँको आफ्नो सूत्र छ । जागिर खान आउँदा कोही पनि म घुस खान्छु भनेर आएको हुँदैन । नियुक्ति पत्रमा घुस खान पाइन्छ भनेर लेखिएको पनि हुँदैन । जति तलब हो त्यति नै कमाउँछु भनेर आएको हुन्छ भने उसले खाने कुरा सोच्ने नै हैन भनेर उहाँले प्रहरीलाई सम्झाएर मनाउनु भएको छ । 

साथै न्यूनतम तलब १९ हजार पाँच सय रुपैयाँले पुग्दैन भनेर उहाँले महानगरलाई राशन भत्ता, महँगी भत्ता लगायतका सुविधा थप गरी ३० हजार पुर्याउन लगाउनु भएको छ । जसले गर्दा काम गर्ने प्रहरीमा उत्साह छ भने उनीहरुमा काम गर्ने, नगरवासीको सेवा गर्ने र अतिरिक्त आम्दानीतर्फ लाग्न निषेध गरेको छ । यदि कसैले त्यसो गरेको थाहा भएमा उ तत्काल सेवा निवृत्त हुने व्यवस्था छ । सेवा सुविधा राम्रो भएका कारण जागिर छाडेर अन्त जान्छु भन्ने प्रहरी नभेटिएको अनुभव छ हाछेथुको यो अठार महिनामा । 

उहाँले नेपालमै पहिलो पटक नगर प्रहरीका लागि चौबीसै घण्टा सेवा उपलब्ध हुने व्यवस्था पनि गर्नुभएको छ ललितपुर वारुणयन्त्र कार्यालयमा । बस्ने खाने व्यवस्था यहीँ छ । कन्ट्रोल रुम बनेको छ । अहिले महानगरमा ७८ जना नगर प्रहरी छन् । जसमा १४ जना महिला प्रहरी रहेका छन् । 

पार्क तथा सूचना केन्द्र

महानगरले झम्सीखेल, जावलाखेल लगायतका ठाउँमा पार्क पनि निर्माण गरिरहेको छ । जसले गर्दा मान्छे एकछिन भए पनि सुस्ताउन पाओस् । अहिले मान्छेलाई एकछिन आराम गर्न परे पनि चिया पसलमा गएर मन नलागे पनि चिया खाएर पैसा खर्च गर्नुपर्ने स्थिति छ । हाछेथु भन्नुहुन्छ, ‘हामी यो प्रवृत्तिको अन्त्य गर्छौँ ।’ 

जावलाखेलमा नगर प्रहरीको सूचना केन्द्र तथा प्रहरी बिट पनि बनेको छ । जुन बिहान नौ बजेदेखि बेलकी सात बजेसम्म खुल्ला रहन्छ । बाहिरबाट कोही मान्छे आएर सोध्दा महानगरीय प्रहरी कहाँ छ भन्ने जानकारी नै नहुने साथै सुस्ताउनका लागि पनि ठाउँ चाहिन्छ भनेर सूचना केन्द्र बनाइएको जानकारी पनि हाछेथुले दिनुभयो । अब छिटै लगनखेल लगायतका ठाउँमा गरी छ वटा सूचना केन्द्र बनाउने तयारीमा छ महानगरीय प्रहरी । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

वैद्यनाथ पाैडेल

वैद्यनाथ पाैडेल उज्यालाे सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया