वर्षाले सबै ठाउँको डढेलो निभायो, शनिवारसम्म नै पानी पर्ने सम्भावना

 बैशाख २७, २०८१ बिहिबार ६:४२:२० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – पानी परेपछि देशका सबैजसो ठाउँको डढेलो निभेको छ । ६ दिन अघिसम्म चार सयभन्दा धेरै ठाउँमा सक्रिय डढेलो रहेकोमा अहिले देशका कुनै पनि ठाउँमा डढेलो नभएको वन तथा भूसंरक्षण विभागको डढेलो अनुगमन प्रणालीले जनाएको छ ।

आइतवार र सोमवार परेको पानीले पूर्व र मध्य क्षेत्रको डढेलो निभाएको थियो । अस्ति र हिजोको पानीले तराई र पश्चिम क्षेत्रकोसमेत डढेलो निभाएको हो । पानी परेको र डढेलो पनि निभेका कारण वायुको गुणस्तर पनि सुधार भएको छ । वातावरण विभाग अन्तर्गतका सबैजसो वायु गुणस्तर मापन केन्द्रहरुले वायु गुणस्तर मापन सूचक एक्यूआई एकसय भन्दा तल झरेको देखाएका छन् ।

यसअघि सबैजसो केन्द्रमा एक्यूआइ एक सय ५० भन्दा माथि थियो । एक्यूआई एक सय ५० भन्दा माथि जाँदा त्यहाँको हावा अस्वस्थ हुन्छ । यस्तै बादल र वर्षासँगै गर्मी पनि घटेको छ । लामो खडेरीले आजित भएका किसानलाई पानी परेपछि राहत मिलेको छ ।

मौसम पूर्वानुमान् महाशाखाले पर्सि शनिवारसम्म नै पानी पर्ने जनाएको छ । महाशाखाकाअनुसार आज कोशी, मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । अरु ठाउँमा पनि हल्का पानी पर्ने महाशाखाले जनाएको छ । आजको तुलनामा भोलि कम पानी पर्ने र पर्सि शनिवार फेरि धेरै पानी पर्ने सम्भावना रहेको महाशाखाका मौसमविद रोजन लामिछानेले जानकारी दिनुभयो । 

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया