बालहिंसाको डरलाग्दो रुप : बाबुआमा र शिक्षकले विशेष ध्यान दिन आवश्यक

 भदौ २९, २०७५ शुक्रबार ९:३:१३ | रामचन्द्र मिश्र
unn.prixa.net

काठमाडौं – गएको साउनमा भक्तपुरमा अपहरणपछि हत्या गरिएका ११ वर्षका बालक निशान खड्काको घटना नसेलाउँदै कञ्चनपुरमा १३ वर्षीया बालिका निर्मलाको पन्तको बलात्कारपछि हत्या भयो । 

बिहीबार मात्रै रामेछापमा ६५ वर्षका हजुरबुवा पर्नेले बलात्कार गर्न खोज्दा १३ वर्षकी बालिकाले रड प्रहार गर्दा उनको ज्यान गएको छ । 

यी त प्रतिनिधि घटना मात्रै हुन् । हरेक दिनजसो बालबालिकामाथि कुनै न कुनै प्रकारका हिंसाका घटना भैरहेका खबर सार्वजनिक भैरहेका हुन्छन् । शुक्रबार बाल दिवस मनाइरहँदा बालबालिकामाथि हुने हिंसाले सबैलाई गम्भीर बनाएको छ । 

पछिल्लो समय बालिकामाथि यौन हिंसाको जोखिम झनै बढेको छ । बालबालिकाको क्षेत्रमा काम गर्ने अन्तर्राष्ट्रिय संस्था युनिसेफका अनुसार नेपालका १० जना बालबालिकामध्ये आठ बालबालिका हिंसाबाट प्रभावित रहेका छन् ।

अनुशासनका नाममा बालबालिका आफ्नै बाबुआमा, परिवार र विद्यालयबाट समेत पीडित भएको युनिसेफको वार्षिक प्रतिवेदन २०१८ मा उल्लेख छ । 

युनिसेफका अनुसार ७० प्रतिशत भन्दा धेरै बालबालिकालाई मनोवैज्ञानिक आक्रोश पोखिने गरिएको र आधाभन्दा धेरै बालबालिकालाई भौतिक तथा शारीरिक दण्ड दिने गरिएको छ । बाल्य अवस्थामा भएका यस्ता हिंसाको प्रभाव पछिसम्म पर्न सक्छ । 

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतको केन्द्रीय बाल कल्याण समितिले सञ्चार माध्यममा आएका २०७४÷७५ का घटनालाई समेटेर प्रतिवेदन निकालेको छ ।

बालबालिकामा हुने हिंसा अन्तर्गत बालश्रम, बलात्कार, हत्या, बेचविखन तथा ओसार प्रसार, कुपोषण, गर्भपतन, आत्महत्या, अपहरण जस्ता घटनाहरु अत्याधिक बढ्दै गएको प्रतिवेदनले जनाएको छ ।

प्रतिवेदनका अनुसार वि.स. २०७४/०७५ मा पाँच सय ८३ वटा बालअधिकार हनन्का घटना सञ्चारमाध्यमा सार्वजनिक भएका छन् ।

पाँच सय ८३ घटनामा १ हजार २ सय ७३ बालबालिका प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ । जसमध्ये ३ सय ३८ जना अर्थात ३० प्रतिशत बालबालिका  बालश्रममा रहेको उल्लेख छ ।

२ सय ४३ जना बालबालिका यौन दुव्र्यवहार तथा बलात्कारमा परेका छन् । २ सय ३१ जनाको ज्यान गएको छ भने १ सय ६८ बच्चाको बालविवाह भएको छ । ७४ जना बालबालिकाको हत्या भएको र ५८ जना बालबालिका बेचविखन तथा ओसारपसारमा परेका छन् ।

३१ जना बालबालिका कुषोषणमा परेको र भू्रणको पहिचान गरेर ३० जनाको गर्भपतन गरिएको, २० जनाले आत्महत्या गरेको, १९ जना अपहरणमा परेको र १५ जनाले शारीरिक सजाय पाएको प्रतिवेदनमा उल्लेख छ ।

बालबालिकाको अधिकार संरक्षण, सम्बर्द्धन तथा परिपूर्ति गर्नका लागि सरकारले ‘बालबालिका सम्बन्धी ऐन, २०७५’ कार्यन्वयन मा ल्याएको छ । कानुनले मात्रै बालबालिकोको हिंसामा कमी आएको देखिंदैन ।

‘बालबालिकामाथि हुने हिंसाका कारण बालबालिकाको मनोविज्ञानमा कस्तो असर पर्छ’ भन्ने विषयमा मनोविद करुणा कुँवरसँग गरिएको कुराकानीको सम्पादित अंश :

समाजमा हुने हिंसाले बालबालिकामा कस्तो मनोवैज्ञानिक असर पर्छ ?

बालबालिकाले समाजमा हुने नराम्रा घटना सुन्ने, हेर्ने र पढ्ने गर्दा उनीहरुको मनोविज्ञानमा असर पर्छ । बालबालिको कस्ता सामाग्री पढ्ने, हेर्ने वा सुन्ने गरेका छन् भन्ने कुरा सबैभन्दा ठूलो कुरा हो ।

समाजमा हुने यौन हिंसा, शारीरिक तथा मानसिक दवाव पढ्दा, हेर्दा वा सुन्दा बालबालिकाले डरको महसुस गर्ने, चिन्तित हुने, छट्पटाउने, एक्लै बस्ने जस्ता समस्या देखिन्छन् । हिंसामा परेका बालबालिका यस्तो समस्याबाट झनै पीडित हुने र झनै डराउने गर्छन् । यसले मानसिक अवस्था खल्बल्याउछ । 
       
अहिले धेरै बालबालिका स्मार्ट फोन र इन्टरनेटको पहुँचमा हुन्छन् । उनीहरुले इन्टरनेटमा सबैखालका सामाग्री हेर्न सक्छन् । त्यसको मनोवैज्ञानिक असर बालबालिकामा कस्तो पर्छ ?

स्मार्ट फोनकै कारण बालबालिका मनोवैज्ञानिक असर पर्छ भन्ने होइन । उनीहरुले इन्टरनेटमा कस्तो सामाग्री हेर्छन वा पढ्छन्, त्यसका आधारमा उनीहरुको मनोविज्ञान विकास हुन्छ ।

धेरै बालबालिका हेर्न हुने वा नुहने सबै सामग्रीको पहुँचमा भएका कारण बालबालिकामा मनोवैज्ञानिक असर पर्न सक्छ । इन्टरनेटका सबैखाले सामग्री बालबालिकाले प्रयोग गर्दा उनीहरुको सोचमा खराबी आउने, खराब सङ्गतमा लाग्ने सम्भावना धेरै हुन्छ ।

त्यसले उनीहरुको मानसिक वृद्धिमा असर ल्याउँछ । व्यवहारमा अस्वभाविक परिवर्तन ल्याउँछ । त्यसैले अभिभावकले उनीहरुको निगरानी गर्न आवश्यक हुन्छ ।

बालबालिकामा हुने हिंसाको मनोवैज्ञानिक प्रभाव पछिसम्म पनि हुन सक्छ ?

हो, बालबालिकामा हुने हिंसाको मनोवैज्ञानिक प्रभाव पछिसम्म रहन्छ । त्यसैले बालबालिका हुर्काउँदा नै उनीहरुलाई सहि तरिकाले हुर्काउनुपर्छ । उनीहरुलाई बालमैत्री वातावरणमा हुर्काउन आवश्यक हुन्छ ।

बालबालिकाको मनोविज्ञान सही राख्न के–के कुरामा ध्यान दिन आवश्यक छ ?

बालबालिकाको मनोविज्ञान सहि राख्न बच्चा जन्मेदेखि ५ वर्षसम्म अत्यन्त संम्वेदनशील भएर उनीहरुको हेरचाह गर्न आवश्यक छ । बच्चासँग आमा–बुवा दुवैले सँगै बस्ने, खेल्ने र बच्चाका कुरा सुन्ने गर्नुपर्छ ।

बालबालिकोको मनोविज्ञान सही राख्न बावु र आमाको बराबरी सहभागिता हुनुपर्छ । बालबालिकालाई कराउने, कुट्ने र तर्साउने काम गर्नु हुँदैन । उनीहरुले हेर्ने, पढ्ने र सुन्ने कुरामा बावुआमा, परिवार र शिक्षकले विषेश निगरानी राख्न आवश्यक हुन्छ ।

अनावश्यक दवाव दिने, कराउने, त्रास देखाउने गर्दा बालबालिकामा नकारात्मक असर पर्छ । बालबालिकालाई निगरानी नगर्ने, हेरचाह नगर्ने, खानपिन र हिँडडुलमा सहयोग नगर्दा उनीहरुको मनोविज्ञानमा असर पर्छ ।

बालबालिका खेल्न जाँदा, हिँडडुल गर्दा बावुआमाले पनि सँगै साथ दिनु आवश्यक हुन्छ । बालबालिकाको मनोविज्ञानमा खराबी आए उनीहरुलाई परामर्शदाताकोमा लैजान आवश्यक हुन्छ ।

अन्तिम अपडेट: चैत १५, २०८०

रामचन्द्र मिश्र

रामचन्द्र मिश्र उज्यालाेमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया