आगामी चुनावमा एक्लै बहुमत ल्याउने कांग्रेस शीर्ष नेताहरुको दाबी

 फागुन २१, २०७८ शनिबार १७:४०:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसका शीर्ष नेताहरुले मंसिर अघि नै संघीय संसदको चुनाव हुन सक्ने बताएका छन । 

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री गगनकुमार थापाले एमालेले संसदलाई अवरुद्ध पारिरहने हो भने आगामी मंसिर अघि नै संघीय संसदको चुनाव गर्ने बताउनु भएको हो । नेपाल निजामती कर्मचारी युनियन, केन्द्रिय कार्य समितिले शनिबार काठमाण्डौमा आयोजना गरेको एक कार्यक्रमा बोल्दै वरिष्ठ नेता पौडेलले संसद सञ्चालन नहुने हो भने चाँडै संघीय संसदको चुनाव गराउन आफूले प्रधानमन्त्री शेरबहादुर देउवालाई सुझाव दिएको बताउनु भयो ।

उहाँले देशलाई अलमलमा राख्न नदिन पनि संसद नचले नयाँ संसदका लागि चुनावमा छिटो जानुको विकल्प नरहेको तर्क गर्नुभयो । वरिष्ठ नेता पौडेलले भन्नु भयो,  ‘मैले त प्रधानमन्त्रीलाई भनि सके–चाँडै संसद सञ्चालन गर्नु पर्यो वा चाँडै संसद ल्याउनुपर्यो । अब यस्तो अलमलमा राख्नु हुँदैन देशलाई । म सबैलाई के भन्न चाहन्छु भने–एमसीसी पास गरिएको छ । यसले देशको विकास र समृद्धिले फड्को मार्नेछ । तर नेपाली जनतालाई यसबारे बुझाउन सक्नुपर्दछ ।’

महामन्त्री थापाले एमालेले संसद चल्न दिएन भने मंसिर अघि नै संघीय संसदको चुनाव हुने र आफ्नो पार्टीले बहुमत ल्याएर पाँच वर्ष देश शान्दार ढंगले चलाउने बताउनु भयो । उहाँले पालिकाको चुनाव बैशाख ३० गते नै हुने बताउनु भयो । महामन्त्री थापाले भन्नु भयो, ‘बैशाख ३० गते पालिकाको चुनाव गराउने हो । त्यसपछि आम चुनाव हुन्छ । एमालेले संसद चल्न दिएन भने मंसिर अघि नै चुनाव हुन सक्छ । हामी चुनावमा जाने हो । शान्दार ढंगले बहुमत ल्याएर पाँच वर्ष देश चलाउने हो ।’

कार्यक्रममा बोल्दै कांग्रेस उपसभापति धनराज गुरुङले आफ्नो पार्टी चुनावतर्फ लम्किएको उल्लेख गर्दै एक्लै चुनावमा लडने संकेत गर्नु भयो । प्रचण्ड, माधव नेपालहरुलाई चमेराको संज्ञा दिँदै उहाँले उनीहरुले साथ छोड्दैमा आफ्नो पार्टीलाई चुनावमा केही फरक नपर्ने बताउनु भयो । उहाँले भन्नु भयो, ‘यो चुनावी वर्ष हो । यो चुनावी मैदानमा कांग्रेसरुपी हात्ती लम्कदै गर्दाखेरी हात्तिको ठूलो कान देखेर चमेराहरु ओत लाग्न खोज्दैछन । हात्तिको कानमा ओत लाग्ने चमेराहरुको भरोसा हुँदैन भन्ने कुरा हामीलाई राम्रैसँग थाहा छ । चमेराले हात्तिलाई सहयोग गर्न सक्दैन । दूर्गन्धित बनाउन सक्दछ, हात्तिको कानमा । त्यसैले हाम्रो रोडम्याप एकदम स्पष्ट छ । यही रोडम्याप अनुसार नेपाली कांग्रेसरुपी हात्ति अगाडि बढ्छ । मुसाले बोटो काट्दैमा केही फरक पर्दैन ।’

अर्का महामन्त्री विश्वप्रकाश शर्माले रुपान्तरित कांग्रेसनै देशको भरोसा भएको दाबी गर्नु भयो । उहाँले देशको समृद्धिका लागि कांग्रेस एकतावद्ध हुने र देशलाई विकल्प दिनेगरी अघि बढने संकल्प पनि गर्नुभयो । महामन्त्री शर्माले भन्नु भयो, ‘रुपान्तरिक भएको कांग्रेस देशको भविष्य हो । यही पुरानो कांग्रेसलाई रुपान्तरित गरेर देशलाई विकल्प दिने हो । किनभने कांग्रेस नै देशको भरोसा हो ।’

कांग्रेस महामन्त्री शर्माले लोकतन्त्रको सवाल, देशको विकास र समृद्धिको सवालमा कांग्रेस एकतावद्ध भएर अघि बढ्छ भन्ने कुरा संसदबाट पारित गरिएको एमसीसीले पनि देखाएको स्मरण गराउनु भयो । उहाँले गुटको पछि लागेर पार्टीलाई कमजोर बनाउन काम गर्न नहुने पनि बताउनु भयो । 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया