बारा–पर्सा औद्योगिक करिडोरका उद्योगलाई १ सय ३२ केभीबाट विद्युत् लिन आह्वान, ‘मागेजति’ दिइने

 फागुन २२, २०७८ आइतबार १३:५२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

प्राधिकरणका कार्यकारी निर्देशक घिसिङसहितकाे टाेली बारा–पर्सा औद्योगिक करिडोरमा अवलाेकन गर्दै

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरका उद्योगहरूलाई १ सय ३२ केभी प्रसारण लाइनबाट विद्युत् आपूर्ति लिन आह्वान गरेको छ । उत्पादित विद्युत् देशभित्रै खपत गर्ने अभियानअन्तर्गत प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोरमा, सञ्चालनको तयारीमा रहेका, भविष्यमा खुल्ने र थप विद्युत् माग गर्ने उद्योगहरूलाई एक सय ३२ केभीबाट विद्युत् आपूर्ति दिने छ ।

त्यस क्षेत्रका उद्योगहरूले अहिले ११ र ६६ केभी लाइनबाट विद्युत् आपूर्ति लिइरहेका छन् । एक सय ३२ केभीबाट विद्युत् आपूर्ति लिएमा त्यसको महसुल सस्तो छ । उद्योगहरूले आफ्नो परिसरमा सबस्टेशन भने आफैँले निर्माण गर्नुपर्ने छ । महसुल सस्तो पर्ने र चुहावट पनि कम हुने भएकोले त्यसको तुलनामा सबस्टेशन निर्माण महँगो पर्दैन । 

प्राधिकरणले बारा–पर्सा औद्योगिक करिडोर क्षेत्रमा पाँच वर्षभित्रमा दुई हजार मेगावाट विद्युत् खपत हुने गरी पूर्वाधार बनाउन पहल सुरु गरेको छ । बारा–पर्सा औद्योगिक करिडोरमा पर्ने सिमरा, निजगढ, वीरगञ्ज, परवानीपुर, पोखरिया, प्रसौनीलगायतका क्षेत्रमा अहिले सञ्चालमा रहेका तथा आउँदा दिनमा खुल्ने उद्योगहरूलाई लक्षित गरी प्राधिकरणले उच्च क्षमताका विद्युत् प्रसारण तथा वितरण लाइनका पूर्वाधार संरचना बनाउन लागेको हो । 

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको नेतृत्वमा उच्चस्तरीय टोलीले हिजो शनिवार त्यस क्षेत्रको स्थलगत अवलोक भ्रमण गरी चार सय र एक सय ३२ केभी प्रसारण लाइन तथा सबस्टेशन निर्माणका लागि सम्भावित ठाउँ, विद्युत् माग तथा खपतको अवस्थालगायतका विषयमा जानकारी लिएको छ । 

कार्यकारी निर्देशक घिसिङले बारा–पर्सा क्षेत्र आउँदा दिनमा ठूलो आद्यौगिक हब बन्ने सम्भावना देखिएकोले उच्च क्षमताका प्रसारण तथा वितरण लाइनसहितको विद्युतीय पूर्वाधार बनाउन लागिएको बताउनुभयो । घिसिङले वीरगञ्ज, पोखरिया र सुक्खा बन्दरगाह क्षेत्रमा नयाँ उद्योग खुल्ने ठूलो सम्भावना देखिएको बताउनुभयो ।

‘त्यस क्षेत्रमा खुल्ने उद्योग र अन्य सर्वसाधारणलाई लक्षित गरी दुई हजार मेगावाट खपत हुने गरी विद्युतीय प्रणाली बनाउँदैछौँ, तत्काल विद्युत् माग गर्ने उद्योगहरूलाई ११, ६६ र एक सय ३२ केभी लाइनको सुदृढीकरण गरी मागेजति थप विद्युत् आपूर्ति उपलब्ध गराउने छौँ’, घिसिङले भन्नुभयो, ‘पर्साको पोखरियामा चार सय केभी र बाराको प्रसौनीमा एक सय ३२ केभी सबस्टेशन निर्माणका लागि जग्गा अधिग्रहणको प्रक्रिया अगाडि बढाइसकेका छौँ ।’ 

हेटौँडा–ढल्केबर–इनरुवा चार सय केभी प्रसारण लाइन अन्तर्गत बाराको निजगढमा चार सय केभी सबस्टेशन निर्माण गरी त्यस लाइनलाई वीरगञ्ज हुँदै पोखरियामा पुर्‍याइने छ । बाराको पिलुवा र अमलेखगञ्ज सबस्टेशनको तत्काल सुदृढीकरण तथा स्तरोन्नति गरिने घिसिङले उल्लेख गर्नुभयो ।  

सिमरा र वीरगञ्ज क्षेत्रका उद्योगहरूको विद्युत् आपूर्तिलाई विश्वसनीय बनाउन हेटौँडा–परवानीपुर ६६ केभी डबल सर्किट प्रसारण लाइनको क्षमता विस्तार तथा सुदृढीकरणका लागि नयाँ टावर थप गर्ने र पुरानो कन्डक्टर निकाली बढी क्षमताको राख्ने काम भएको छ ।  यसबाट प्रसारण लाइनको क्षमता झन्डै दोब्बर हुने भएकोले उद्योगहरूलाई थप विद्युत् आपूर्ति दिन सकिने भएको छ । उद्योगहरूलाई भरपर्दो र गुणस्तरीय विद्युत् दिन पूर्वाधार संरचनाको निर्माण तथा जनचेतनामा अधिकतम प्रयास गरिएको छ । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया