महिलाले ३३ मात्रै हाेइन ५० प्रतिशत अधिकार पाउनुपर्छ : अष्टलक्ष्मी शाक्य

 फागुन २४, २०७८ मंगलबार १८:३५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – नेकपा (एमाले) की उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले महिलाले ३३ प्रतिशतमात्रै नभएर ५० प्रतिशत अधिकार पाउनुपर्ने बताउनुभएको छ । 

आज मङ्गलवार एक सय १२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एमाले निकट अखिल नेपाल महिला सङ्घले काठमाण्डाैमा आयोजना गरेको कार्यक्रममा बोल्दै शाक्यले अब महिलाले ३३ प्रतिशत मात्रै नभएर पुरुष सरह ५० प्रतिशत अधिकार पाउनुपर्ने बताउनुभएकाे हो । उहाँले नेपालको कुल जनसङ्ख्याको आधाभन्दा बढी महिला भएकाले पनि पुरुष सरह ५० प्रतिशत समान अधिकारको अवधारणा बनाउनुपर्ने उल्लेख गर्नुभयाे ।  

उहाँले भन्नुभयो, ‘जनसङ्ख्याको आधाभन्दा बढी महिला भएको हिसाबले भन्ने हो भने अब ३३ प्रतिशत होइन ५० प्रतिशत अवधारणा लिएर अगाडि बढ्न सक्नुपर्छ । हिम्मत गर्नुपर्छ । महिलाहरूले पनि आफूलाई सक्षम बनाउँदै जानुपर्छ ।’

उपाध्यक्ष शाक्यले महिलाहरू इमानदार, जवाफदेही, पारदर्शी र कुशल भएकाले अबको स्थानीय तहदेखि देश हाँक्ने तहसम्म उनीहरूले आफूलाई सक्षम बनाउनुपर्ने धारणा राख्नुभयाे । उहाँले महिला/पुरुष समान रहेकाले महिलालाई हिंसा, विभेद, असमानतार दुर्व्यवहार गर्ने सबै कुरा समाप्त गर्दै महिलाहरूलाई हेर्ने दृष्टिकोण फरक बनाउन आवश्यक रहेकाे बताउनुभयाे । 

त्यस्तै नेकपा एमालेकी स्थायी कमिटी सदस्य एवम् पूर्वमन्त्री थममाया थापाले संविधानमा गरिएको किटानी व्यवस्थाअनुसार समाजवादको आधार तयार पार्नका लागि महिलाहरू निर्णायक ठाउँमा पुग्नुपर्ने बताउनुभयो । उहाँले महिलाहरू पुरुष सरह नेतृत्व तहमा सहभागिता नभएसम्म महिलाका अधिकारहरू प्राप्त हुन नसक्ने तर्क पनि गर्नुभयो ।

स्थायी कमिटी सदस्य थापाले स्थानीय तहको सरकारको प्रमुख पदमा महिला अनिवार्य हुनुपर्ने व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले नेतृत्वमा महिला पुगे मात्रै आर्थिक, सामाजिक तथा राजनीतिक हिसाबले महिलाको सहभागिता बढ्ने उल्लेख गर्नुभयो । 

अन्तिम अपडेट: माघ १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया