अर्जुन ट्रफीमा डडेलधुराले धनगढीलाई ८ विकेटले हरायो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत रसुवा र नुवाकोटमा निर्माणाधीन ३७ मेगावाट जडित क्षमताको माथिल्लो त्रिशूली ३ बी जलविद्युत आयोजनाको कामले गति लिएको छ ।
कोभिड–१९ महामारीको चपेटामा परेकोे माथिल्लो त्रिशूली ३ बी जलविद्युत् आयोजनाको अहिलेसम्मको समग्र भौतिक निर्माण प्रगति ५८ प्रतिशत पुगेको छ । आयोजनाको निर्माण असोज २०८० भित्र (सेप्टेम्बर २०२३) सम्पन्न गर्ने लक्ष्यका साथ काम धमाधम भइरहेको छ ।
नयाँ वर्ष मनाउन माघ २०७६ को दोस्रो हप्ता घर गएका चिनियाँ कामदारहरू कोभिड–१९ का कारण फर्कन र चीनबाट उपकरण तथा सामाग्री ल्याउन नसक्दा पूर्णरूपमा काम भइरहेको आयोजनाको निर्माण झन्डै महिना ठप्प प्रायः भएको थियो । आयोजनाको निर्माण २०७७ को चैतदेखि मात्र फेरि सुरु भएकोमा कोभिड–१९ को दोस्रो र तेस्रो लहरका कारणले झन्डै तीन हप्ता काम फेरि प्रभावित भएको थियो । साथै मुख्य सुरुङमा पहिले अनुमान गरेभन्दा ज्यादै कमजोर चट्टान फेला परेका कारण निर्माण प्रभावित भएको थियो । ठेकेदार चिनियाँ कम्पनी सुइफा एएनएचई ग्रुप कम्पनी लिमिटेडले अहिले इन्टेक, मुख्य सुरुङ, विद्युत् गृहलगायतका मुख्य संरचना निर्माण गरिरहेको छ ।
आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडका प्रबन्ध सञ्चालक मोहनप्रसाद गौतमले तीन हजार आठ सय पाँच मिटर लम्बाइ भएको मुख्य सुरुङमध्ये दुई हजार आठ सय ६५ मिटर खनिएको बताउनुभयो ।
‘सतही विद्युत् गृह खन्ने काम सम्पन्न भइ संरचनाहरूको कङ्क्रिक गर्ने काम सुरु भएको छ, इलेक्ट्रोमेकानिकल उपकरण र पार्ट्सहरूको जडान गर्दै पहिलो चरणको कङ्क्रिटकाे काम आउँदो जेठसम्म सक्ने लक्ष्यका साथ काम भइरहेको छ’, गौतमले भन्नुभयो, ‘चीनसँगका भन्सार नाकाहरू अझै पूर्णरूपमा नखुल्दा ठेकेदार कम्पनीले चीनमा खरिद गरिसकेका तथा खरिद आदेश दिइ उत्पादन र प्याकेजिङको चरणमा रहेका निर्माण उपकरण तथा सामाग्रीहरू ढुवानी गरी निर्माणस्थलसम्म ल्याउन सकिरहेको थिएन । केरुङ नाकामा लामो समयदेखि छुटाउन नसकिएका इलोक्ट्रोमेकानिकल उपकरणहरू ऊर्जा र परराष्ट्र मन्त्रालयको पहलपछि ल्हासामा रहेकाे महावाणिज्य दूतावासबाट अब छिट्टै भन्सार नाकाबाट छुट्ने जानकारी पाएका छौँ ।’
इन्जिनियरिङ, खरिद तथा निर्माण (ईपीसी) मोडेलमा आयोजना निर्माणका सुइफा एएनएचई ग्रुप कम्पनीसँग २०७४ माघ २९ गते ठेक्का सम्झौता भएको थियो । ठेकेदार कम्पनीले आयोजनाको सिभिल, इलेक्ट्रोमेकानिकल र हाइड्रोमेकानिकलतर्फका सम्पूर्ण संरचना र उपकरणको डिजाइन, निर्माण, जडान तथा सञ्चालन गर्नेछ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको ६० मेगावाट क्षमताको माथिल्लो त्रिशूली ३ ए जलविद्युत् आयोजनाको क्यास्केड आयोजना भएकाले माथिल्लो त्रिशूली ३ बी ले बाँध, बालुवा थिग्र्याउने पोखरी (डिसेन्डर) लगायतका संरचना बनाउनुपर्ने छैन । माथिल्लो त्रिशूली ३ ए को विद्युत् गृहबाट विद्युत उत्पादनपछि निस्किएको पानीलाई आयोजनाको सुरुङमा पठाउन आवश्यक पर्ने गेट जडान गरिसकिएको छ ।
उत्पादित विद्युत् अहिले सञ्चालनमा रहेको समुद्रटार–त्रिशूली ३ वी हब प्रसारण लाइनमार्फत राष्ट्रिय प्रणालीमा प्रवाह हुने छ ।
शेयरबापतको बाँकी रकम छिट्टै सङ्कलन
आयोजनाको प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडले जनताको जलविद्युत् काार्यक्रमअन्तर्गत निष्कासन गरेको शेयरबापतको बाँकी रकम छिट्टै सङ्कलन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि ३७ लाख पाँच हजार कित्ता शेयर निष्कासन गरी प्रतिशेयर एक सय रुपैयाँ अङ्कित मूल्यको न्यूनतम १० प्रतिशतले हुने १० रुपैयाँ मात्र सङ्कलन गरेको थियो । जनताको जलविद्युत् कार्यक्रम (सञ्चालन तथा व्यवस्थापन) कार्यविधि २०७५ मा शेयरबापत चुक्ता गर्न बाँकी रकम आयोजनाको ५० प्रतिशत भौतिक प्रगति र कम्पनीका संस्थापक समूहका शेयरधनीले लिन कबुल गरेको शेयरबापतको रकम सबै चुक्ता गरेपछि मात्र भुक्तानी माग गर्नुपर्ने व्यवस्था छ । ‘कार्यविधिमा भएको व्यवस्था पूरा भइसकेकोले शेयरधनीले चुक्ता गर्न बाँकी ९० रुपैयाँ सङ्कलनका लागि छिट्टै आह्वान गरिनेछ । साथै सर्वसाधारण समूहमा रहेका अन्य शेयर पनि निष्कासन प्रक्रिया अघि बढाइने छ’, प्रबन्ध सञ्चालक गौतमले भन्नुभयो ।
आयोजनाकाे प्रवर्द्धक त्रिशूली जलविद्युत् कम्पनी लिमिटेडमा प्राधिकरण र नेपाल टेलिकमको ३०/३० प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा रसुवा तथा नुवाकोटका गाउँपालिका र नगरपालिकाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटका स्थानीय वित्तीय संस्थाको पाँच प्रतिशत, रसुवा तथा नुवाकोटवासीको १० प्रतिशत, सर्वसाधारणको १५ प्रतिशत र प्राधिकरण तथा टेलिकमका कर्मचारीको पाँच प्रतिशत शेयर रहने छ । अनुमानित निर्माण लागत सात अर्ब ४४ करोड रुपैयाँ रहेको आयोजनाको निर्माण अवधिको प्रक्षेपित ब्याज ७८ करोड रुपैयाँ रहेको छ । आयोजनामा ३० प्रतिशत इक्विटी (दुई अर्ब ४७ करोड रुपैयाँ) र ७० प्रतिशत ऋण (पाँच अर्ब ७६ करोड रुपैयाँ) बाट लगानी जुटाइएको छ ।
आयोजनाबाट सुक्खायाममा (मङ्सिर १६ देखि जेठ १५ गतेसम्म) १३ करोड ४८ लाख ८० हजार र वर्षायाममा (जेठ १६ देखि मङ्सिर १५ गतेसम्म) १५ करोड ७७ लाख १० हजार युनिट विद्युत् उत्पादन हुनेछ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।