आज विश्व मिर्गौला दिवस : खानपानमा ध्यान दिए मिर्गौला स्वस्थ राख्न सकिन्छ

 फागुन २६, २०७८ बिहीबार ८:१९:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज विश्व मिर्गौला दिवस हाे । ‘मिर्गौला स्वास्थ्य सबैका लागि’ भन्ने नाराका साथ देशभर चेतनामूलक कार्यक्रमका साथ याे दिवस मनाइँदै छ । कार्यक्रममा अंगदान र अंग प्रत्यारोपण गरेका व्यक्ति पनि अन्य स्वस्थ व्यक्ति जत्तिकै स्वस्थ हुन सक्छन् भन्ने सन्देश दिइने छ ।

दिवसका अवसरमा अहिले काठमाण्डौको शान्तिबाटिकाबाट मिर्गौला पदयात्रा निस्किएको छ । पदयात्रा दशरथ रङ्गशालासम्म पुगेर अंग प्रत्यारोपण गरिएका व्यक्ति, अंगदाता, डाक्टर, कलाकार, पत्रकार, समाजसेवीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता गरिने छ । सन् २००६ देखि हरेक वर्ष मार्च महिनाको दोस्रो बिहीबार विश्व मिर्गौला दिवस मनाउन थालिएको हो ।

नेपालमा हरेक दिन मिर्गौला रोगका बिरामी बढिरहेका छन् । अस्वस्थ खानपान र जीवनशैली तथा नियमित स्वास्थ्य परीक्षण गराउने बानी नहुँदा मिर्गौला रोगका बिरामी थपिँदै गएका डाक्टरले बताएका छन् । मिर्गौला रोग लाग्न नदिन बेलाबेलामा परीक्षण गर्नुपर्ने वरिष्ठ मिर्गौला रोग विशेषज्ञ डा. पुकारचन्द्र श्रेष्ठ बताउनुहुन्छ । कम्तीमा वर्षमा एक पटक पिसाबको परीक्षण गर्दा मिर्गौलाको अवस्थाबारे थाहा हुने उहाँको भनाइ छ । स्वास्थ्यमा ध्यान नदिँदा मिर्गौला खराब भएको पत्तै नहुने र पछि अवस्था जटिल बनिसकेपछि मात्र उपचारमा जाने प्रवत्ति रहेकाले पनि समस्या बढ्दै गएको डाक्टर श्रेष्ठले बताउनुभयो ।

नेपालमा हरेक वर्ष ३ हजार पाँच सय जनाको मिर्गौलामा खराबी आउने गरेको तथ्याङ्क छ । नेपालको कुल जनसङ्ख्यामध्ये १० प्रतिशतमा कुनै न कुनै रुपमा मिर्गौला रोग लाग्ने गरेको पाइएको छ । खानपान, जीवनशैली, उच्च रक्तचाप, मधुमेहलगायतका समस्याले गर्दा नेपालमा पछिल्लो समय मिर्गौला रोगी बढेको डा. श्रेष्ठले बताउनुभयो ।

बिहान उठ्ने बित्तिकै पानी पिउन, हिँडडुल गर्न, बेलैमा सुत्न र उठ्न, धेरै गुलियो तथा चिल्लो नखान, उचाई अनुसार तौल व्यवस्थापन गर्न पनि डाक्टरको सुझाव छ । सरकारले मिर्गौला रोग लागेका विपन्न बिरामीलाई निःशुल्क डायलाइसिस, आवश्यक उपचार तथा औषधिका लागि एक लाख रुपैयाँ सहयोग गर्दै आइरहेको छ । स्वास्थ्य मन्त्रालयले मिर्गौलाको उपचार र डायलाइसिसका लागि ७० वटा अस्पताललाई सूचीकृत गरेको छ । मिर्गौला खराब भएपछि हप्तामा दुईदेखि तीन पटक नियमित डायलाइसिस गरी रगत सफा गर्नुपर्ने वा आफन्तको मिर्गौला प्रत्यारोपण गनुपर्ने हुन्छ ।  

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया