चैत २५ गतेदेखि देशभर टाइफाइडविरुद्धको खोप अभियान, १५ वर्षमुनिका सबैलाई दिइने

 फागुन २६, २०७८ बिहीबार १७:२४:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले १५ वर्षमुनिका सबै बालबालिकालाई टाइफाइडविरुद्धको खोप दिने भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आउँदो चैतको २५ गतेदेखि वैशाखको १८ गतेसम्म एकै चरणमा देशैभरि अभियानकै रूपमा टाइफाइडविरुद्धको खोप दिने भएको हो । 

नेपालमा यसअघि नै टाइफाइडविरुद्धको खोप दिँदै आए पनि अभियानकै रूपमा भने पहिलो पटक सुरु गर्न लागेको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले जानकारी दिनुभयो । खोप लगाइदिने स्वास्थ्यकर्मीलाई तालिम दिनेदेखि अरू विभिन्न खालका प्राविधिक तयारीका काम भइरहेको अधिकारीले बताउनुभयो । 

उहाँका अनुसार विश्वका धेरै देशमा १५ वर्षमुनिका बालबालिकालाई यो खोप लगाइसकेको भए पनि नेपालमा भने पहिलो पटक लगाउन लागिएकाले तयारी तीव्र पारिएको हो । आउने चैत २५ गतेदेखि वैशाख १८ गतेसम्म यो खोप अभियान सञ्चालन गरिसकेपछि  बालबालिकालाई लगाइँदै आइएको नियमित खोप कार्यक्रममा नै यसलाई समेट्ने उहाँले बताउनुभयो । 

खोपको उपलब्धताका साथै अरू विभिन्न खालको जटिलताका कारण नेपालमा यो खोप यस अगाडि प्रयोग गर्न सकिएको थिएन । केही समय अगाडि नेपालमा टाइफाइडविरुद्धको नयाँ खोपको क्लिनिकल ट्रायल सफल भएको थियो । कान्ति बाल अस्पताल, धुलिखेल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान र नेपालगञ्ज मेडिकल कलेजमा तेस्रो चरणको ट्रायल गरिएको थियो । अब त्यही खोप बालबालिकालाई लगाइने भएको हो । 

नेपालमा ट्रायल गरिएकाले भर्खरै विकसित भएको खोप भनेर नबुझ्न र आफ्ना १५ वर्षमुनिका बालबालिकालाई ढुक्क भएर खोप लगाउन  डा. अधिकारीले आग्रह गर्नुभयो । खोप अभियान सञ्चालनका लागि अहिले विभिन्न पालिकाहरूले विद्यार्थीको विवरण माग गरेका छन् । 

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया