वीपी कोइरालाको बारेमा बनेकाे डकुमेन्ट्री फ्लिम हेरेपछि कसले के भने ?

 फागुन ३०, २०७८ सोमबार १३:३३:४३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी काेइरालाकाे बारेमा ‘राजद्रोही राजनेता’ नामक डकुमेन्ट्री फ्लिम निर्माण भएको छ । 

डकुमेन्ट्री फ्लिममा वीपी काेइरालाले आफूमाथि लागेका आठ राजद्रोहसम्बन्धी मुद्दाको प्रवाह नगरि स्वदेश फर्किएको र जनमत सङ्ग्रहको घोषणा भएको कुरा उल्लेख गरिएको छ । स्वदेश फर्किएपछि कसरी वीपी ‘राजनेता’ बन्न सफल भए भन्ने कुरा पनि डकुमेन्ट्रीमा देखाइएको छ । नेपालको स्वाधीनता कसरी जोगियो भन्नेबारेमा पनि यस डकुमेन्ट्रीमा उतारिएको छ ।

डकुमेन्ट्री हेरेपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले दक्षिण एसियामा भारत सोभियत गठबन्धनले साना देशहरूमाथि ठूलो खतरा निम्त्याएकाे अवस्था र त्यसका कारण नेपालको मानचित्र नै परिवर्तन भएको बेलामा वीपीले चालेका कदमको प्रशंसा गर्नुभयो । उहाँले  वीपीको त्याे कदमलाई नेपालको लोकतान्त्रिक आन्दोलनको साहसिक कदमका रूपमा चित्रण गर्नुभयो । पूर्वप्रधानमन्त्री खनालले त्यो बेलामा वामपन्थी कम्युनिस्टहरूले पनि आन्दोलनमा सहयोग गरिरहेको कुरा डकुमेन्ट्रीमा समावेश गरेको भए सुनमा सुगन्ध हुने धारणा राख्नुभयो ।

त्यस्तै नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले इतिहासको कालखण्डलाई सम्झाउन यो डकुमेन्ट्री अति उपयोगी भएको बताउनुभयो । उहाँले यो डकुमेन्ट्रीलाई हेरेर राजनीतिक व्यक्तित्वहरूले नेपालको भविष्य कतातिर जाँदैछ भन्ने कुरा बताउन सक्ने जिकिर गर्नुभयो । नेता कोइरालाले यो हरेक नेपालीले हेर्नुपर्ने डकुमेन्ट्री भएको बताउनुभयो ।

त्यस्तै नेपाल पत्रकार महासङ्घका अध्यक्ष विपुल पोखरेलले यस डकुमेन्ट्रीमा वीपी कोइरालाको नेपाल प्रवेशपछि जनमत सङ्ग्रहसम्मका घटनाक्रमहरूलाई समेटिएको र यसले इतिहासको संरक्षण भएको बताउनुभयो । उहाँले यस डकुमेन्ट्रीमा नेपालको राजनीति कसरी बित्याे भन्ने कुरा जीवन्त उतारिएको बताउनुभयो । अध्यक्ष पोखरेलले नयाँ पुस्ताका लागि यो डकुमेन्ट्री अत्यन्त महत्त्वपूर्ण भएको बताउनुभयो ।

त्यस्तै राजनीतिक विश्लेषक डा. राम थपलियाले वीपीले जहिल्यै सत्य, न्याय, प्रेम र यथार्थतालाई अङ्गालेको बताउनुभयो । उहाँले वीपीको राष्ट्रिय मेलमिलापको औचित्य आज झनै महत्त्वपूर्ण रहेको बताउनुभयो ।

त्यस्तै सशस्त्र प्रहरी बलका पूर्व प्रमुख सनत बस्नेतले यो डकुमेन्ट्रीबाट राजनीतिमा नैतिकता धेरै बलियो हुन्छ भन्ने सन्देश दिइएको र अहिलेका राजनीतिज्ञहरूले यसबाट धेरै कुरा बुझ्न सक्ने बताउनुभयो । उहाँले नैतिक बलमा नै राजनीति अडिनु पर्छ भन्ने कुरा राजनीतिक दलहरूले भुल्न नहुने भन्दै नैतिकता सिकेका राजनीतिक दलहरूले समाज र राजनीतिमा भएको ह्रास मेटाउन सक्ने धारणा राख्नुभयाे । 

त्यस्तै राजनीतिकर्मी डा. शिवजी यादवले यो डकुमेन्ट्रीले नेपालमा नौलो आयाम थपेको बताउनुभयो । उहाँले अहिलेका राजनीतिकर्मीहरूले यस डकुमेन्ट्रीबाट सिकेर अघि बढ्न आवश्यक रहेको औँल्याउनुभयो ।

‘राजद्रोही राजनेता’ को निर्माणसँगै अन्वेषण अभियानले अन्य १२ वटा ऐतिहासिक डकुमेन्ट्री निर्माणकाे काम अघि बढेको बताएको छ । 

अन्तिम अपडेट: बैशाख ११, २०८१

तपाईको प्रतिक्रिया