त्रिभुवन विश्वविद्यालयलाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गरिने

 चैत १, २०७८ मंगलबार १६:३६:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारले त्रिभुवन विश्वविद्यालय (त्रिवि) लाई नेपालको उच्च शिक्षा सुधार केन्द्रको रूपमा विकास गर्ने भएको छ । उच्च शिक्षामा रहँदै आएको परीक्षा प्रणाली, पठनपाठन, शिक्षण सिकाइ प्रक्रिया र विश्वविद्यालयको भौतिक संरचनालाई समेत परिमार्जन गर्ने गरी त्रिविलाई सुधार केन्द्र बनाउन मन्त्रालयमा छलफल भएको शिक्षा विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेलले बताउनुभयो । 

आज मङ्गलवार त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालयको भवन शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री पौडेलले यस्तो बताउनुभएको हो । उहाँले उच्च शिक्षा सुधारका लागि त्रिविले अग्रसरता देखाउनुपर्ने बताउनुभयो । मन्त्री पौडेलले सरकारले सात सय ५३ वटै स्थानीय तहमा प्राविधिक शिक्षा पुर्‍याउने गरी काम गरिरहेको बताउनुभयो ।

त्यस्तै मन्त्री पौडेलले शिक्षा क्षेत्रबाट नै नेपालबाट वार्षिक अरबाैँ रुपैयाँ बाहिर जाने गरेको बताउनुभयो । उहाँले विदेशबाट आउने रेमिट्यान्सकाे हिसाब गर्ने तर नेपालबाट बाहिर गएको पैसाको हिसाब नगर्ने भएकाले अर्थतन्त्र रेमिट्यान्सकाे भर पर्नुपरेको दाबी गर्नुभयो । नेपालबाट उच्च शिक्षा अध्ययनका लागि अरबाैँ रुपैयाँ बाहिर जाने गरे पनि नियन्त्रण गर्न नसकिएको मन्त्री पौडेलले बताउनुभयो । उहाँले नेपालमा नै गुणस्तरीय शिक्षा अध्ययन गर्ने वातावरण बनाउनु आवश्यक भएको धारणा राख्नुभयाे ।  बताउनु भयो ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्ताकालयमा २०७२ सालको भूकम्पले क्षति पुगेकाे थियो । याे पुस्तकालय बनाउन भारत सरकारले ५० करोड रुपैयाँ अनुदान दिएको छ । अहिलेकाे त्रिभुवन विश्वविद्यालय केन्द्रीय पुस्तकालय भवन सन् १९६७ मा भारत सरकारको सहयोगमा निर्माण भएको थियो । त्रिभुवन विश्वविद्यालयमा रहेकाे गान्धी भवनको निर्माण पनि भारत सरकारको सहयोगमा सन् १९७३ मा भएको हो । 
शिलान्यास कार्यक्रममा बोल्दै नेपालका लागि भारतीय राजदूत क्वात्राले यो परियोजना भारत र नेपालबीचको बहुपक्षीय एवम् बलियो विकास साझेदारीको प्रमाण भएको बताउनुभयो । उहाँले नेपालको सामाजिक एवम् आर्थिक विकासका लागि नेपाल सरकारसँग भारतले निरन्तर हातेमालो गर्ने बताउनुभयो ।

भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाल सरकारलाई दुई सय ५० मिलियन अमेरिकी डलर अनुदान प्रदान गर्ने प्रतिबद्धता गरेको छ । त्याे रकममध्ये ५० मिलियन अमेरिकी डलर शिक्षाको क्षेत्रमा खर्च भइरहेको छ । अहिले नेपालका आठ जिल्लामा ७१ वटा शैक्षिक संस्थाको निर्माण भइरहेको छ जसमध्ये १४ वटाको निर्माण सम्पन्न भइ हस्तान्तरण भइसकेको छ भने बाँकीको निर्माण कार्य अघि बढिरहेको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया