एमालेले ६० देखि ७० प्रतिशत स्थानीय तहमा जित्छ : अध्यक्ष ओली

 चैत १, २०७८ मंगलबार १५:४५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आउँदाे स्थानीय तह चुनावमा कम्तीमा ६० प्रतिशत स्थानीय तहमा आफ्नो पार्टीले जित्ने दाबी गर्नुभएको छ । 

आज मङ्गलवार काठमाण्डाैमा आयोजित अखिल नेपाल महिला सङ्घको सातौँ राष्ट्रिय सम्मेलन आयोजक कमिटीको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले स्थानीय तह चुनावमा ६० देखि ७० प्रतिशत स्थानीय तहमा एमालेले जित्ने दाबी गर्नुभएको हो । 

अध्यक्ष ओलीले चुनावी प्रतिस्पर्धा स्वस्थ गर्नुपर्ने पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘हामीले यसको वैशाखी टेक्नुपर्छ, यो ढोडको लौरो टेक्नुपर्छ अनि मात्रै हामी हिड्न सक्छौँ भन्ने होइन । हामी हिँड्न सक्छौँ । हामी ६० देखि ७० प्रतिशत स्थानीय तहमा चुनाव जित्न सक्छौँ । सिटको हिसाबले, पालिकाको हिसाबले, अनेक हिसाबले पनि ६० देखि ७० प्रतिशत हामी एक्लै जित्न सक्छौँ । त्यसअनुसारको तयारी गरौँ । यति जित्नका लागि सबै हामीले मिलाउन सक्यौँ भने त सर्वसम्मत हुन्छ होइन र ? हामीले रोजेको प्रतिस्पर्धात्मक बहुदलीय व्यवस्था हो । प्रतिस्पर्धा त हामीले रोजेको हो । केही–केही ठाउँमा त हामी हार्न पनि तयार हुनुपर्छ ।हाम्रो भनाइ कति मात्रै हो भने प्रतिस्पर्धा स्वस्थ गरौँ । राजनीतिको प्रतिस्पर्धाको निर्णायक थलो जनताको अभिमत हो ।’

अध्यक्ष ओलीले नेपालको राजनीति प्रतिगामी शक्ति र जनादेश चाहने शक्तिबीचको दुई ध्रुवमा रहेको बताउनुभयो । उहाँले सत्तारुढ पाँच दलीय गठबन्धनले प्रतिगामी शक्तिको प्रतिनिधित्व गर्ने उल्लेख गर्नुभयो । आफूहरू भने जनताको फैसला मान्ने जनपक्षीय शक्ति रहेको उहाँले जिकिर गर्नुभयो । अध्यक्ष ओलीले एमालेबाट फुटेर जानेहरू पतित भएको संज्ञा दिनुभयो ।

अध्यक्ष ओलीले स्थानीय तहको चुनाव अगाडि अखिल नेपाल महिला सङ्घको सदस्य सङ्ख्या १० लाख जना पुर्‍याउनुपर्ने बताउनुभयो । पार्टीको नीति, निर्णय र निर्देशनको पालना गर्दै गाउँ र टोल कमिटीसम्म सङ्गठन विस्तार गर्न उहाँले निर्देशन दिनुभयो । उहाँले नेकपा एमालेमा पार्टी प्रवेशको लहर चलेको पनि बताउनुभयो । 

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया