यो वर्ष मात्रै २१ सय ८५ वटा आगलागीका घटना, ८६ जनाले ज्यान गुमाए

 चैत २, २०७८ बुधबार १४:४६:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पाल्पाको रैनादेवी छहरा गाउँपालिका–३ मा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । रैनादेवी छहरा गाउँपालिका–३ ढुकुरखोलामा भएको आगलागीमा ५९ वर्षीय हरिबहादुर कुमालको जलेर ज्यान गएको इलाका प्रहरी कार्यालय मुझुङले जनाएको छ । कुमालको घरमा लागेको आगो मुझुङको प्रहरी टोली र स्थानीयवासीकाे सहयोगमा निभाइएको छ ।

यस्तै पाँचथरको कुम्मायक गाउँपालिका–२ माँजाबुङमा गोठमा आगो लाग्दा एक पुरुष सामान्य घाइते भएका छन् । त्यस्तै तेह्रथुमको आठराई गाउँपालिका–६ मा आगलागी हुँदा दुई वटा घर जलेका छन् । आगलागीबाट झन्डै १३ लाख रुपैयाँ बराबरको क्षति भएको चुहानडाँडा प्रहरी चौकीले जनाएको छ ।

सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–६ मा पनि एउटा घरमा आगलागी हुँदा सात लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ । पछिल्लो २४ घण्टामा पाल्पा, पाँचथर, तेह्रथुम, सोलुखुम्बु, खोटाङ, मोरङ, इलाम, बारा, सिरहा, सप्तरी, रोल्पा, काठमाण्डौ, झापामा गरी १४ वटा आगलागीका घटना भएका राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

यो वर्ष मात्रै घर तथा जङ्गलमा गरी २१ सय ८५ वटा आगलागीका घटना भएका छन् । गएको वैशाख १ गतेदेखि आजसम्म भएका आगलागीका घटनामा ८६ जनाले ज्यान गुमाएका छन् । त्यस्तै तीन सय ५८ जना घाइते भएका छन् । दुई हजार पाँच सय ५५ परिवार प्रभावित भएका र आगलागीका घटनाबाट अनुमानित दुई अर्ब ७ करोड रुपैयाँ बराबरको क्षति भएको प्राधिकरणको तथ्याङ्कमा उल्लेख छ ।

तथ्याङ्क स्राेत : राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया