जिल्लामा सक्रिय सङ्गठन भएका साना दलले पनि आफ्नै चिह्नबाट चुनाव लड्न पाउने

 चैत २, २०७८ बुधबार १९:९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावमा सक्रियताको आधारमा साना दललाई पनि दलीय चुनाव चिह्न दिने भएको छ । अहिलेसम्म राष्ट्रिय दलको मान्यता पाएका पार्टीका उम्मेदवारलाई मात्रै दलीय चुनाव चिह्न दिने र अरू साना दलका उम्मेदवारले स्वतन्त्र चिह्न लिएर चुनाव लड्नुपर्ने व्यवस्था रहेकोमा निर्वाचन आयोगले सर्तसहित दलीय चुनाव चिह्न दिने भएको हो । 

दलीय चुनाव चिन्ह पाउनका लागि साना दलले आफ्नो सङ्गठन र क्रियाशिलता रहेको विवरण पेस गर्नुपर्नेछ । आफ्नो दलको कुन–कुन जिल्लामा जिल्लास्तरको सङ्गठनात्मक संरचना रहेको छ, त्यो विवरण तयार गरी दलको केन्द्रीय पदाधिकारीले प्रमाणित गरेर यही चैत ६ गतेसम्म जिल्ला निर्वाचन कार्यालयमा पेस गर्न आयोगले समय दिएको छ । दलको जिल्ला समितिबाट पेस भएको विवरण जाँच–बुझ र अभिलेख राखी सम्बन्धित निर्वाचन कार्यलयहरूले चैत ७ गतेभित्र निर्वाचन आयोगको केन्द्रीय कार्यालयमा पठाउनुपर्नेछ । 

दलको जिल्ला सङ्गठन सक्रिय रहेको जिल्लामा मात्रै मान्य हुने गरी निर्वाचन आयोगले मतपत्रमा दलीय चुनाव चिह्न दिने निर्णय गरेको छ । आयोगले तोके बमोजिमको विवरण पेस नगर्ने राजनीतिक दलको उम्मेदवारलाई स्वतन्त्र चुनाव चिह्न नै प्रदान गर्ने आयोगले जनाएको छ । 

कुल मतको तीन प्रतिशत मत ल्याउने दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउने कानुनअनुसार अहिले नेपालमा ६ वटा दलले मात्रै राष्ट्रिय दलको मान्यता पाएका छन् । 

निर्वाचन आयोगको आज बुधवारको निर्णयअनुसार अब साना दलका उम्मेदवारले पनि जिल्ला सङ्गठन र सक्रियताका आधारमा दलीय चुनाव चिह्न पाउने भएका छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया