हाेली कसरी मनाउने ?

 चैत ३, २०७८ बिहीबार १३:१७:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - होली पर्वलाई समाजमा सकारात्मकता र सद्भावना ल्याउनका लागि मनाउनु पर्नेमा संस्कृतिविद्हरुले जोड दिएका छन् । 

नेपालमा वसन्तोत्सवको रुपमा मनाउने गरिएको र होलीलाई प्राकृतिक रङहरुसँग नै मनाएर समाजमा सकारात्मकता र सद्भावना ल्याउन आवश्यक रहेको संस्कृतिविद्हरुले जोड दिएका हुन् । रङहरुको पर्व होली विशेष गरेर आज नेपालको पहाडी क्षेत्र र भोलि तराईमा एक आपसमा रङ लगाएर मनाइन्छ।

कोरोनाका कारण गएकाे तीन वर्ष हर्षोल्लासका साथ मनाउन नपाएको होली यस वर्ष भने नेपालको काठमाण्डौसहित देशभर नै हर्षोल्लासकासाथ मनाइरहेकाे छ । यसैबीच, सह-प्राध्यापक डा. प्रियंवदा काफ्लेले होली अर्थात् फागु पूर्णिमा राक्षसी होलिका दहन भएको उपलक्ष्यमा खेलिने पर्व भएको बताउनुभयो ।

उहाँले होली प्राकृतिक रङहरुबाट खेल्ने पर्व भएको र घरमै बेसार, चामलको पीठो, चुकन्दर र प्राकृतिक वनस्पतिबाट रङहरु बनाएर खेल्नुपर्नेमा जोड दिनुभयो । सह-प्राध्यापक काफ्लेले प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो छाला र स्वास्थ्यमा पनि फाइदा पुग्ने भएकाले पनि प्राकृतिक रङबाट होली खेल्न पहल गर्नुपर्ने बताउनु भयो ।

काफ्लेले भन्नुभयो, ‘रङहरुको महत्त्वलाई हेर्दा हाम्रो सबै चाडपर्वहरु प्रकृतिसँग नजिक छ । हामीले प्रकृति रङहरुलाई ग्रहण गर्नुपर्छ । प्राकृतिक रङलाई ग्रहण गर्दा हाम्रो त्वचा (छाला) लाई, स्वास्थ्यलाई धेरै नै लाभ पुग्छ । कृत्रिम खालका रङहरुलाई हामीले लिँदा त्यसले धेरै हानी गर्दछ । अहिलेको बालबच्चाहरुलाई हामीले रङहरु कसरी बनाउने, चुकन्दरबाट पनि हामीले एक प्रकारको बैजनी खालको रङ बनाउन सकिन्छ । बेसारबाट पहेँलो रङ हुन्छ । बेसार हाम्रो त्वचाको निमित्त औषधीय गुणले भरिपूर्ण हुन्छ ।

चामलको पीठोबाट हामीले सेतो रङ बनाउन सकिन्छ । चामलको पीठो पनि हाम्रो त्वचाको निमित्त असाध्यै राम्रो हुन्छ । दाद, पोतो हराउने हुन्छ । विभिन्न फूलहरुको लेप लगाउने, त्यस्तै किसिमका स्नान द्रव्यले स्नान गर्ने त्यो किसिमको वातावरण हामीले बनाउनुपर्छ । घरमै बनाइएका रङहरुलाई हामीले प्रोत्साहन गरेर प्रयोग गर्ने हो भने यसले हाम्रो शरीरलाई पनि राम्रो गर्दछ । कसैले पनि यसलाई नकारात्मक रुपमा व्याख्या गर्न हुँदैन ।’

काफ्लेले होलीको महत्त्व आजका नयाँ पुस्तालाई बुझाउन शिक्षामा समावेश गर्नुपर्ने बताउनु भयो । उहाँले प्रकृति मरेपछि संस्कृति नरहने जिकिर गर्दै नेपाली भाषालाई प्रोत्साहन गर्नुपर्ने र होली लगायतका नेपाली चाडपर्वहरुलाई विषयगत पाठ्यक्रममा राख्न आजको आवश्यक्ता भएको बताउनुभयो ।

काफ्लेले भन्नुभयो, ‘होलीको महत्त्व बुझाउनको निमित्त हामीले शिक्षामा यसलाई समावेश गर्न आवश्यक छ । प्रकृति हाम्रो लाग कति आवश्यक छ ? प्रकृति मरेपछि हाम्रो संस्कृति मर्छ, सबै विषयहरु अङ्ग्रेजी माध्यमबाट पढाइदिएपछि भाषा मर्छ । हाम्रा बालबालिकाहरु, नेपालीहरुले नेपाली भाषा नजान्ने अवस्था आउनसक्छ । भाषा नजानेपछि भाषाले बोकेको संस्कृति र सन्देश पनि मर्दै जान्छ ।’

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने गरिन्छ । नेपालका पहाडी तथा हिमाली क्षेत्रमा फागु पूर्णिमाका दिन होली मनाउने गरिन्छ भने तराईमा पूर्णिमाको भोलिपल्ट होली पर्व मनाउने गरिन्छ ।

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया