गर्मी लागेसँगै वनमा डढेलोको जोखिम बढ्याे : मानवीय लापर्बाही मुख्य कारण

 चैत ४, २०७८ शुक्रबार ७:५१:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - गर्मी लागेसँगै वनमा डढेलोको जोखिम बढेको छ । हरेक वर्ष हिउँदमा वन जङ्गलमा डढेलोका घटना धेरै हुने गरेका छन् ।

प्राकृतिक र आकस्मिक रुपमा समेत वन जङ्गलमा आगलागी हुने भए पनि नेपालमा ८० प्रतिशत डढेलो मानव सिर्जित हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । मुख्य गरी मानवीय लापर्बाहीका कारण वनमा डढेलो लाग्ने गरेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

वनमा डढेलो लगाउँदा पालुवा पलाउने मानवीय धारणाका कारण वन क्षति हुने गरेको छ । डढेलोले वनजङ्गलसँगै, वन्यजन्तु, जडीबुटी र पर्यावरणमा नोक्सानी गर्ने गरेको छ । वायु प्रदूषण समेत बढ्ने गरेको छ । बेलैमा डढेलो निभाउन नसक्दा बस्तीमा पसेर पनि जनधनको क्षति हुने जोखिम रहेको प्राधिकरणले जनाएको छ ।

नेपालमा पछिल्लो पाँच वर्षमा गएको वर्ष सबैभन्दा धेरै डढेलोका घटना भएका थिए । गएको वर्ष चैत १३ गतेका दिन देशका ५४ जिल्लामा चार सय ३७ ठाउँमा एकैपटक डढेलो लागेको थियो । यसवर्ष वैशाखयता देशका ७३ ठाउँमा जङ्गलमा आगलागीका घटना भएका र आगो निभाउने क्रममा तीन जनाले ज्यान गुमाएका प्राधिकरणको तथ्याङ्क छ । वनमा लागेको डढेलो बस्तीमा पस्दा ३३ परिवार प्रभावित भएका छन् ।

जङ्गलमा भएको आगलागीबाट एघार महिनामा झण्डै ४५ लाख रुपैयाँ बराबरको क्षति भएको छ । वनमा डढेलो लगाउनेलाई जरिबानासहित कैद सजाय हुने भए पनि समुदायबाट सूचना लुकाउने प्रचलनका कारण घटनामा संलग्नको पहिचानमा समस्या हुने गरेको प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले बताउनुभयो ।

उहाँका अनुसार, डढेलो लगाउने व्यक्तिलाई क्षति भएको बिगो असुल गरी तीन वर्षसम्म कैद वा ६० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।      

अन्तिम अपडेट: असार २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया