हुम्लाकाे लिमीमा चुनावअघि नै जनप्रतिनिधि चुनिए, वडाअध्यक्षमा पाल्जोर तामाङ दोहोरिँदै

 चैत ४, २०७८ शुक्रबार ७:४४:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

हुम्ला - हुम्लाको नाम्खा गाउँपालिका–६ लिमीमा स्थानीय बासिन्दाले स्थानीय तहको चुनावअघि नै जनप्रतिनिधि चुनेका छन् । उनीहरुले वडाध्यक्ष र सदस्य चुनेका हुन् । अब आउँदो वैशाख ३० गते हुने चुनावमा  उनीहरुले गाउँपालिका अध्यक्ष र उपाध्यक्षका लागि मात्रै मतदान गर्ने भएका छन् ।

हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका स्थानीय बासिन्दाले गएको मंसिर ३०  गते नै बैठक बसेर नयाँ जनप्रतिनिधि छनोट गरेका हुन् ।

‘लिमीका स्थानीय बासिन्दाको आफ्नै नीति–नियम छ । यो कुनै नौलो कुरा भएन यसअघि पनि यस्तो भएको थियो’ नाम्खा गाउँपालिकाका उपाध्यक्ष पेमा तामाङले भन्नुभयो । उहाँकाअनुसार आफ्नो  गाउँठाउँका लागि स्थानीय बासिन्दा आफैँले जनप्रतिनिधि चयन गर्ने गरेका छन्  ।

‘यो पहिलेदेखि नै चलिआएको रीति रिवाज हो’ उहाँले भन्नुभयो । लिमीका स्थानीय बासिन्दा महत्त्वपूर्ण निर्णय लिन कात्तिक अन्तिम हप्ता र मंसिरको पहिलो हप्ता बैठक बस्छन् ।  त्यही अनुसार गएको मंसिर ३० गते बसेको बैठकले वडाध्यक्ष र सदस्यहरू चयन गरेको हो ।

वडा अध्यक्षमा उनीहरुले पाल्जोर तामाङलाई नै दोहोर्याएका छन् । वडा सदस्यहरू भने सबै नयाँ चयन भएका छन् । वडा अध्यक्षमा दोहोरिएका पाल्जोर तामाङ गाउँमा खाद्यान्न अभाव भएपछि सिंहदरबार गुहार्दै गएको मंसिरमा काठमाण्डौ आउनु भएको थियो ।

पाँच दिनको पैदल यात्रा अनि एक दिनको हवाई यात्रापछि वडाध्यक्ष तामाङ मंसिर ७ गते काठमाण्डौ आइपुग्नु भएको थियो । उहाँकै पहलमा गाउँमा चामल पुगेको थियो ।  आलु र उवा मात्रै उत्पादन हुने लिमी क्षेत्रमा खाद्यान्न अभाव हुने गरेको छ । 

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया