कृष्णसारका कष्ट

 चैत ५, २०७८ शनिबार ११:१८:५६ | उज्यालो सहकर्मी
unn.prixa.net

क्षेत्रीय प्रशासन कार्यालय सुर्खेतमा काम गर्दा बर्दियाको कृष्णसार संरक्षण क्षेत्रको अवलोकन गर्ने योजना बनाएँ ।

कृष्णसारलाई संरक्षण गर्न सरकारले खैरापुरमा संरक्षण क्षेत्र बनाएको छ । बर्दिया जिल्लाको गुलरिया नगरपालिका, खैरापुरमा कृष्णसार संरक्षण क्षेत्र छ । हरिण, चित्तल, बाह्रसिङ्गे, जरायो, रतुवा मृग, कस्तुरी मृग जस्ता मृगका प्रजाति जस्तै देखिने कृष्णसार मृगभन्दा भिन्न हो भन्ने कुरा मैले कृष्णसार संरक्षण क्षेत्र पुगेपछि थाहा पाएँ । ‘कृष्णसार देख्दा मृग जस्तै देखिन्छ नि’, मैले भनेँ। 

मेरो कुरा सुनेपछि कृष्णसार संरक्षण क्षेत्रका प्राविधिकले भने, ‘मृग प्रजातिका भालेको टाउकामा सिङ पलाउँछ र प्रत्येक वर्ष यी भालेहरुको पुरानो सिङ झरेर नयाँ पलाउने गर्छ तर कृष्णसारका भालेको सिङ स्थायी रुपमा रहने गर्छ ।’

कृष्णसार मेरा लागि नौलो जनावर थियो । मैले त कृष्णसारलाई अन्य मृग जस्तै मानेको थिएँ । यसका के त्यस्ता विशेषता रहेछन् जसले गर्दा कृष्णसारका लागि छुट्टै संरक्षण क्षेत्र आवश्यक भयो भन्ने जिज्ञासा मेरा मनमा आइरह्यो ।

‘यो कृष्णसार जताततै पाइँदैन, कृष्णसारका लागि भनेरै संरक्षण क्षेत्र बनाइएको रहेछ । कस्तुरी मृग, रतुवा मृग, हरिण जस्ता मृगका प्रजातिका लागि त छुट्टै संरक्षण क्षेत्र बनाइएको छैन । यो किन होला ?’, मैले सोधेँ।

संरक्षण क्षेत्रका प्राविधिकले भने, ‘उष्ण तथा समशीतोष्ण क्षेत्रको जङ्गलको घाँसे मैदानमा पाइने शाकाहारी जनावर कृष्णसार मांसाहारी प्राणीका कारण सङ्कटमा परेको छ । मांसाहारी प्राणीको कारण मात्र नभइ कृष्णसारको स्वभावका कारण पनि यो जङ्गली जनावर लोपोन्मुख प्राणीअन्तर्गत पर्ने गरेको छ ।’

‘मृग प्रजाति मात्र होइन, खरायो, नील गाई जस्ता अन्य जङ्गली शाकाहारी प्राणी पनि अन्य मांसाहारी प्राणीका सिकार भइरहेका छन् । आखिर पारिस्थितिक प्रणालीभित्र पर्ने भएकाले कृष्णसारलाई मात्र सङ्कट होइन नि !’ मैले आश्चर्य प्रकट गर्दै सोधेँ ।

‘अन्य शाकाहारी जङ्गली जनावरभन्दा कृष्णसारको कथा भिन्न छ । मृगका प्रजातिहरुलाई सङ्कटापन्न प्राणी भनिएको छैन । कृष्णसार र मृगहरु प्राणी जगतका एउटै किसिमका जनावर हुन्, यिनीहरुबीच सतही रुपमा धेरै समानता भए पनि केही ताङ्खिवक भिन्नता पनि छन् । त्यसैले त यसलाई सङ्कटापन्न जनावर घोषणा गरिएको हो ।

मानवजातिकाे क्रियाकलापले पनि यो प्राणी सङ्कटमा परेको छ । कृष्णसारको चोरी शिकारी पनि हुन्छ, चितुवा, बाघ, हुँडार, स्याल, कुकुरका कारण पनि कृष्णसारको ज्यान जान्छ । 'कहिलेकाहीँ बाढीले बगाउँछ, कालगतिबाट पनि मृत्यु हुन्छ । घरपालुवा जनावरले खाएको घाँसबाट पलाएको कलिलो घाँस खाने हुँदा घरपालुवा जनावरमा खोरेत जस्ता सरूवा रोग लागेर पनि कृष्णसार मरेका छन् । त्यसैले यो लोपोन्मुख नै प्राणी हो’, प्राविधिकले भने । 

प्राविधिकको भनाइले मेरो जिज्ञासालाई अझ बढायो । मैले थप जान्न कोसिस गरेँ । मैले प्राविधिकलाई कृष्णसारका ताङ्खिवक भिन्नतालाई बताउन अनुरोध गरेँ । प्राविधिकले भने, 'तपाईंलाई कृष्णसार र मृगलाई उस्तै उस्तै लाग्नु स्वाभाविकै हो । हेर्दा उस्तै, दुवै जङ्गली जनावर । तर कृष्णसार विशुद्ध जङ्गलमा भन्दा मानिसको बस्ती वरिपरिको जङ्गलमा बस्न मन पराउँछ । अन्य मृगभन्दा कृष्णसार मानिससँग नजिक हुन चाहन्छ । यो यस्तो स्वभावका कारण पनि हो । कृष्णसार घडियाल गोही जस्तै हो । यसलाई खानाको समस्या पर्ने गर्छ ।’

‘शाकाहारी जङ्गली जनावर त जङ्गलमै चर्ने हो । जङ्गलको घाँसपात खाने हो । अनि कृष्णसारलाई कसरी खानाको समस्या पर्ने रहेछ ?’ मैले सोधेँ।

‘कृष्णसार घना जङ्गल र झाडीमा बस्न मन पराउँदैन । यसलाई घाँसे मैदान चाहिन्छ । घाँसे मैदान पनि झाडी नभएको । हरियो पिपिरो घाँस मात्र खान्छ, भर्खरै पलाएको कमलो घाँस, कलिलो घाँस, टुसा घाँस । छिप्पिएको घाँस खाँदैन । यिनीहरुले त पाँच इन्चभन्दा कम कलिलो घाँस मात्र खान्छन् । पाँच इन्चभन्दा बढीको घाँस खासै खाँदैनन् । दुवो घाँस विशेष मन पराउँछन् ।’ 

भर्खरै पलाएको घाँसे मैदान देखाउँदै प्राविधिकले भने, ‘छिप्पिएको घाँस अन्य जनावरले खाएपछि पलाउँछ र त्यसपछि पलाएको घाँस मात्र यसले खान्छ । कहिलेकाहीँ 'हामीले नै छिप्पिएको घाँस काटिदिन्छौँ“, अनि पलाएको मुना घाँस खान्छ । झाडी भएको घाँसलाई आगो लगाएपछि पलाएको कमलो घाँस खान्छ । त्यसैले यो जनावरलाई खानकै समस्या हुने गर्छ ।’

प्राविधिकले भने, ‘कृष्णसारको घाँस खाने बानी अनौठो किसिमको छ । खरका पिपिरा, पलौटो घाँस र जडीबुटी र साना साना बुट्यानका पालुवा खाने गर्छन् । संरक्षण क्षेत्रभित्रको छिप्पिएको ढड्डी घाँसलाई स्थानीय जनतालाई काट्न दिने चलन पनि छ । यस्तो घाँस काटेपछि नयाँ घाँस पलौटो पलाउँछ । यस्तो घाँस कृष्णसार मन पराउँछ । कलिलो घाँसपात खाने हुँदा संरक्षण क्षेत्रभित्र जोतेर गहुँ, मकै, गेडागुडी छर्ने गरिन्छ । यस्ता अन्नका विरूवा कृष्णसारले खाने गर्छन् ।’

‘तपाईंले अघि मानिसको बस्ती वरिपरिको जङ्गलमा बस्न मन पराउँछ भनेको कुरा स्पष्ट हुन सकेन’, मैले जिज्ञासा राखेँ । ‘यसको मतलब के हो भने मानिसले घरपालुवा जनावर पाल्छन् । यी घरपालुवा जनावरलाई जङ्गलमा चराउन लैजान्छन् । यी जनावरले छिप्पिएको घाँस खाइदिन्छन् । त्यसपछि कलिलो घाँस पलाउँछ । यस्तो घाँस कृष्णसारले खान मन पराउँछ । कहिलेकाहीँ मानिसले जङ्गलको घाँस काटेर लैजान्छन् । त्यसपछि पनि कलिलो घाँस पलाउँछ । वास्तवमा घाँसका लागि नै यिनीहरु मानव बस्ती वरिपरि आउने गर्छन्’, प्राविधिकले भने ।

उनले थपे, ‘कृष्णसार एकान्तमा बस्न मन पराउने प्राणी होइन । यो त पशु चौपायासँगै बस्न मन पराउँछ । यसको पनि कारण छ । पशु चौपायाले घाँस खाएको भोलिपर्सिपल्ट पलाएको कलिलो टुसा घाँस खानका लागि यसले यसो गर्छ ।’

मलाई प्राविधिकको कुराले चित्त बुझ्यो । पारिस्थितिक प्रणालीले मानिसलाई पनि जङ्गली जनावरसँग जोडेको रहेछ । ‘यसरी मानव बस्तीमा आउँदा मानिसले कृष्णसारको सिकार गर्न सक्छन् नि ?’ मैले जिज्ञासा राखेँ ।

प्राविधिकले मन बुझ्ने उत्तर दिए । उनले भने, ‘कृष्णसार पाइने बस्तीमा कृष्णसारलाई भगवान्को प्रतीक मान्छन् । पौराणिक कथामा भगवान् श्रीकृष्णका गाई र मुरलीको स्वरमा मुग्ध हुने भएकाले यिनीहरुलाई कृष्ण सिहार भन्दाभन्दै कृष्णसार भनिएको किम्वदन्ति सुनिन्छ । यसको नाम पनि कृष्णसार हो, भगवान् श्रीकृष्णसँग जोडिए जस्तो । यहाँका यादव र थारू बस्तीमा कृष्णसारलाई पुज्ने चलन छ । त्यसैले सिकार त के सर, खेतबारीमा पसे पनि पिट्दैनन् । आवाजले हप्काएर लखेट्छन् । यता त कृष्णसार किसानका घर घरमा पुग्छ । किसानले पनि भगवान्को प्रतीक मानेर माया गर्छन् । कृष्णसारलाई हिन्दु धर्मसँग जोडेर हेर्छन् ।

मैले कताकति संस्कृतज्ञ विद्धानहरुबाट सुनेको कुरा सम्झेँ,'कृष्णसार मृग जहाँ निर्धक्क हिँड्छ, त्यही देश यज्ञ गर्नका लागि पुण्यभूमि मानिन्छ ।' प्राविधिकले भनेको कुरा र मैले सुनेको कुराको तालमेल मिलिरहेको थियो । पहिले पहिले ऋषि महर्षिहरुका आश्रममा मृगहरु खेल्छन् भन्ने सुनिन्थ्यो, त्यो यही कृष्णसार मृग रहेछ भन्ने अनुमान गरेँ । मलाई रमाइलो लागिरह्यो ।

मैले जापानको हिरोसिमाको एक पार्कमा घुम्न जाँदा जताततै मृग देखेको थिएँ । मृग खुला रुपमा बजारमा हिँड्ने गर्थे । मृगलाई अहित हुने काम मानिसबाट हुँदैन्थ्यो । त्यस बेला मैले नेपालका बस्तीलाई सम्झेको थिएँ । घरबाट बाहिर निस्केको कुखुराको भाले सकुशल फर्कन नसक्ने हाम्रो बस्तीमा यसरी मृग खुलेआम बस्ती र बजारमा हिँड्ने हो भने मृगको के गति हुन्छ होला भनेर मनमा कुरा खेलाएको थिएँ ।

भारतको तामिलनाडुको राजधानी चेन्नई (मद्रास) मा रहेकाे इन्डियन इन्स्टिच्युट अफ टेक्नोलोजी (आईआईटी) मा आयोजना भएको अन्तर्राष्ट्रिय सम्मेलनमा भाग लिन जाँदा आईआईटीमा जताततै मृग देखेको थिए । मृगहरु पनि मानिससँग एकाकार भएका थिए । आईआईटी भित्र चल्ने मोटरसँग पनि अभ्यस्त भएका थिए। मृगलाई सबैले माया गर्थे । नेपालमा यस्तो अवसर मैले देख्न पाएको थिइनँ । नेपालमा त मृगको अवैध सिकार गर्ने पनि चलन छ । 'हामी प्राणीमैत्री हुन सकेका छैनौँ। जोगाउनको त कुरा छोडौँ।'

मैले ‘कृष्णसार र मृगका प्रजातिबीच नस्ल सुधार हुन सक्छ’ भनी प्राविधिकसँग जिज्ञासा राखेको थिएँ । प्राविधिकले मेरो जिज्ञासाको जवाफमा भने, ‘कृष्णसार र मृगको प्रजाति एउटै होइन । यो मृगभन्दा भिन्न हो, यसको प्रजाति मृग परिवारमा पर्दैन । त्यसैले यसको मृगका प्रजातिसँग नस्ल सुधार हुन सक्दैन । बरू यसको प्रजाति नील गाईसँग मिल्छ भन्ने सुनेको छु, यसको एउटै आधार यी दुवै जनावर एन्टिलोप वर्गमा पर्ने भएकाले हो । प्रजनन प्रक्रिया हेर्दा कृष्णसार घरपालुवा बाख्रासँग मिल्छ । पोथी कृष्णसारलाई अन्य मृगको भाले लाग्दैन, कृष्णसारको भाले नै चाहिन्छ । भाले लागेको छ महिनामा पाठो पाउँछ । एकपटकमा एउटा मात्र पाठो पाउँछ ।’

खैरापुरको कृष्णसार संरक्षण क्षेत्र र यसका प्राविधिकले कृष्णसारका सम्बन्धमा नवीन जानकारी दिएर मेरो सिकाइको क्षेत्रलाई फराकिलो बनाइदिए । मानव जीवन र सनातन संस्कृतिसित जोडिएका कुराहरुलाई प्रत्यक्ष नियाल्न पाउँदा पृथक आनन्दको अनुभूति हुने रहेछ । म पुलकित भएँ ।

अन्तिम अपडेट: जेठ १८, २०७९

1 Comments

  • Narahari Baral

    March 22, 2022, 11:18 a.m.

    ‘कृष्णसारका कष्ट’’ माथि सङ्क्षिप्त टिप्पणी –नरहरि बराल डा. खगराज बरालद्वारा लिखित उज्यालो अनलाइनमा प्रकाशित ‘मालामा नउनिएका फूलहरू’ पुस्तकको पुस्तक अंश ‘कृष्णसारका कष्ट’ शीर्षकमा लेखिएका भावना र विचारहरू ज्यादै मर्मस्पर्शी लागे । म बर्दियामा प्रमुख जिल्ला अधिकारी भएर कार्यरत रहँदा कृष्णसारको संरक्षणका लागि सरकारले खैरापुरमा संरक्षण क्षेत्र बनाएको छ । संरक्षण केन्द्रका वाडेनले समय समयमा समीक्षालगायत विभिन्न कार्यक्रमहरू आयोजना गर्थे । मलाई प्रमुख अतिथिका रूपमा आमन्त्रण गर्ने गर्थे । छलफल र समीक्षामा सूक्ष्म कुरा गरिन्थ्यो । समय समयमा कार्यालय प्रमुखको बैठकमा पनि कृष्णसार संरक्षणमा लागि संरक्षण कार्यालयले गर्ने गतिविधि र त्यसका समस्याहरूका सम्बन्धमा चर्चा हुने गथ्र्यो । संरक्षण कार्यालयले बजेटको अभावमा प्रभावकारी संरक्षण हुन नसकेको गुनासो सुनाउँथ्यो । कृष्णसार सङ्कटापन्न प्रजाति भएकाले संरक्षणमा जोड दिनुपर्ने निचोड निस्कन्थ्यो । यसमा सरकारको पर्याप्त ध्यान नपुगेको जस्तो कुरा आउँथ्यो । वि.सं. २०७० सालमा बर्दियामा बाढी आउँदा धेरै कृष्णसारहरूलाई बाढीले बगाएको र बाढीले बगाउँदा धेरै मरेको तथ्य पनि पटकपटक सुनिन्थ्यो । ‘कृष्णसारका कष्ट’ पढेपछि अचम्म त के लाग्यो भने एकदिनको अवलोकन भ्रमण, त्यसमा पनि डेढ दुई घण्टाको अवलोकनपश्चात डा. बरालले कृष्णसारका सम्बन्धमा सूक्ष्म तर गहिरो जानकारी ग्रहण गरी यस लेखमा प्रस्तुत गरेको पाएँ । लेखमा भावना र विचार मात्र छैनन्, गहिरो तथ्यगत विश्लेषण पनि छ । कृष्णसार के हो, कस्तो जनावर हो, किन संरक्षण गरिएको छ जस्ता विषयमा जिज्ञासा र प्रश्नोत्तरका माध्यमबाट सूक्ष्म रूपमा जानकारी प्रस्तुत गरिएको छ । घाँसे मैदान र घाँसका पिपरालाई आहारका रूपमा खाने कृष्णसार घना जङ्गल, झाडीमा बस्दैन । मानव बस्तीको नजिकै बस्न रुचाउने कृष्णसारको आहारविहार, यसको प्रजातिका सम्बन्धमा शोधपूर्ण लेख पढ्दा ज्यादै आनन्दित भएँ । म लामो समय बस्दा र कृष्णसार संरक्षण क्षेत्र अवलोकन गर्दा थाहा नपाएका र जानकारी नभएका विषयका सम्बन्धमा पनि सुसूचित हुन पाएँ । लेखकको प्रस्तुति प्रश्नोत्तरका हिसाबले अगाडि बढेको छ । लेखले कृष्णसारको यथार्थ चित्रणसहित सूक्ष्म विश्लेषण गर्दै पाठकले थाहै नपाउने किसिमले सूचनाहरू मस्तिष्कभित्र छिराउँदछ । म स्थानीय विकास अधिकारी र प्रमुख जिल्ला अधिकारीका रुपमा सप्तरी, सिरहा र रौतहत जिल्लामा काम गरेको थिएँ । यी जिल्लाका जाति र जातीय संस्कार र जातीय भावनाका सम्बन्धमा थोर बहुत जानकारी पनि लिएको थिएँ । यी जिल्लामा यादवहरूको बाक्लो बस्ती छ । पूर्वतिरका यादवहरू लडाकु स्वभावका थिए, जातीय एकतामा जोड दिन्थे, गैह्रयादवहरूप्रति कम सहिष्णु थिए, दादागिरी चलाउँथे, मदिरापान पनि गर्थे । छिमेकी राष्ट भारतको विहारमा पनि यादवहरूको बाहुल्यता भएकाले अलि मसलको प्रयोगमा उद्धत थिए । घरमा अतिथि आउँदा खानपिनमा मांसाहारी परिकारका साथ मदिरा पनि हुने गथ्र्यो । जब म बर्दियाको प्रमुख जिल्ला अधिकारी भएँ, यहाँका यादवहरूको स्वभाव र खानपिन पूर्वका यादवहरूका भन्दा भिन्न पाएँ । घरमा अतिथि आउँदा मिठाइ तथा शाकाहारी खाना र अन्य सात्विक खाना हुने गथ्र्यो । बर्दियाको खैरापुरस्थित कृष्णसार संरक्षण क्षेत्र वरपर यादवहरूको बस्ती छ । यी यादवहरू महाभारतकालका श्रीकृष्ण भगवानका साथमा रहने ग्वाला भएको भनाइ पनि पाइन्छ । यी यादवहरू कृष्णभक्त पनि रहेछन् । यी यादवहरू शुद्ध शाकाहारी रहेछन् । यो बस्ती वरिपरि कुनै किसिमको प्राणीको काटमार पनि हुँदो रहेनछ । यस्तो बस्ती वरिपरि कृष्णसार संरक्षण क्षेत्र हुनुको पनि रहस्य रहेछ । यादवहरू श्रीकृष्ण भगवान्का साथका ग्वाला भएका र कृष्णसार श्रीकृष्ण भगवान्को मुरलीको सुन्दै भगवान् नजिकै जाने प्राणी हुन् भन्ने किंमदन्दी रहेछ । यादव र कृष्णसार एकआपसमा अन्योन्याश्रित रहेछन्, पर्याय पो रहेछन् । यहाँका यादवहरूले कृष्णसारलाई पूजा गर्दारहेछन्, स्नेह गर्दा रहेछन्, माया गर्दारहेछन् । कृष्णसार पनि यादवका बारीबारी र घरघरमा आउँदा रहेछन् । कसैले पनि कृष्णसारलाई पिट्दा रहेनछन् । पूर्वका यादव जाति र पश्चिमका यादव जातिबिचको व्यवहार देख्दा मलाई अनौठो लाग्यो । मैले यादव जातिलाई राम्रोसँग चिनेको र बुझेको रहेनछु भन्ने लाग्यो । महाभारतका पात्र जस्तै यहाँका यादवहरूको आनी बानी व्यहोरा र जनावरप्रतिको स्नेहिलो व्यवहार देख्दा म अति नै खुशी भएँ । यसैले गर्दा नै कृष्णसार संरक्षण क्षेत्र खैरापुरलाई बनाइएको होला भन्ने मलाई लाग्यो । लेखकले कृष्णसारको कष्टका बारेमा गरेको विश्लेषणमा यादव र कृष्णसारलाई पर्याय हुन् भन्ने सन्देश पनि थपिदिएका भए यो लेखमा सुनमा सुगन्ध हुने थियो भन्ने मेरो धारणा हो ।

  •  0 Reply

तपाईको प्रतिक्रिया