ओलीकाे दाबी : स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र भइरहेको छ

 चैत ७, २०७८ सोमबार १३:४६:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख ३० गतेका लागि तोकिएको स्थानीय तहको चुनाव सार्ने षड्यन्त्र भइरहेको आरोप लगाउनुभएको छ ।

आज साेमवारदेखि काठमाण्डाैमा सुरु भएको पार्टी पोलिटब्युराे बैठकमा अध्यक्ष ओलीले निर्वाचन आयोगमा आफू नेतृत्वको सरकारले नियुक्त गरेका तीन जना आयुक्तलाई सर्वोच्च अदालतबाट बर्खास्त गरेर चुनाव सार्ने षड्यन्त्र गरिरहेको दाबी गर्नुभएको हो । तीन जना आयुक्तलाई बर्खास्त गरेपछि दुई जना आयुक्तले चुनाव गर्न नसक्ने बहानामा चुनाव पर धकेल्ने ओलीको दाबी छ । ओली प्रधानमन्त्री हुँदा अध्यादेशमार्फत निर्वाचन आयोग लगायत विभिन्न संवैधानिक अङ्गमा ५२ जनाको नियुक्ति भएको थियो । यससम्बन्धी मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासले पर्सि बुधवार सुनुवाइ गर्दैछ । 

अध्यक्ष ओलीले निर्वाचन आयोगले मतपत्रको रङ हरियो राखेकोप्रति असन्तुष्टि दोहोर्‍याउनुभएकाे छ । आयोग सत्ता गठबन्धनसँग मिलेर एमालेविरुद्धमा लागेको अध्यक्ष ओलीको आरोप छ । उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले पनि दलहरूसँग परामर्श गर्नुपर्छ । अनि चुनाव चिह्नकाे रङ रङबारे पनि दलहरूको परामर्श लिनुपर्दैन, कस्तो स्वेच्छाचारिता हो यो ? गठबन्धनसँगको भित्री परामर्शबाट भएका निर्णयहरू हुन यी । अहिलेसम्म रङको कारणले चुनाव चिह्न चिनिएन भनेर कुनै दल वा मतदाताबाट आयो र ! हामीले रङको कारणले चिनेनौँ, रङको कारणले द्विविधा भयो भन्ने त आएन । त्यस कारण रङ बदलेर हरियो चाहिँ किन राख्नुपर्‍याे ? चिह्नमा हरियो रुखलाई किन राख्नुपर्‍याे ? सूर्य कसरी हरियो हुन्छ । कि त सिम्बोलिक ब्लाकेन ह्वाइटमा जानुपर्‍याे । कि जसको जुन चिह्न हाे, त्यहीअनुसार हामीलाई रातो सूर्य देऊ । यो सत्ता साँठगाँठ होइन भने के हो ?’

हिजो इलाममा पनि अध्यक्ष ओलीले रुखको रङ हरियो अनि सूर्यको रङ पनि हरियो कसरी हुन्छ भनेर प्रश्न गर्नुभएको थियो ।

अध्यक्ष ओलीले दलहरूसँग परामर्श नगरि चुनावसम्बन्धी कुनै पनि गतिविधि अघि नबढाउन पनि निर्वाचन आयोगको ध्यानाकर्षण गराउनुभयो । उहाँले आउँदाे चुनावमा एकल बहुमत ल्याएर तीन वटै तहको सरकार पार्टीले चलाउनुपर्ने भन्दै त्यहीअनुसारको तयारी गर्न पनि सिँगो पार्टी पङ्क्तिलाई आह्वान गर्नुभयो । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया