बोइङ ७३७ मोडलका जहाजकाे सुरक्षामाथि फेरि शङ्का, शेयर मूल्य साढे ३ प्रतिशतले घट्यो

 चैत ८, २०७८ मंगलबार १४:३१:१२ | एजेन्सी
unn.prixa.net

दुर्घटना भएकाे बोइङ कम्पनीको ७३७ मोडलको जहाज, तस्बिर : सीजीटीएन

चीनमा हिजो साेमवार एक सय ३२ जना यात्रु बोकेको बोइङ कम्पनीको ७३७ मोडलको जहाज दुघर्टना भएपछि विभिन्न देशले यो मोडलको जहाजको उडानमा सुक्ष्म निरीक्षण थालेका छन् ।

भारतको नागरिक उड्डयन महानिर्देशनालयले बोइङ ७३७ को उडान प्रक्रिया, हावामा हुने गतिको घटबढ र अन्य प्रक्रियाको अनुगमन गर्न टोली बनाएको बीबीसीले जनाएको छ । उडान सुरक्षा गम्भीर विषय भएकाले यसको अध्ययनमा लागेको महानिर्देशनालयका प्रमुख अरुण कुमारले बताउनुभएको छ । भारतमा स्पाइस जेट, विस्तारा र एअर इन्डिया एक्सप्रेसले बोइङ ७३७ का सयौँ विमान प्रयोग गरिरहेका छन् ।

यस्तै अमेरिकी विमान निर्माता बोइङले चीनमा भएको दुर्घटनाको अनुसन्धानमा सघाउने र सुरक्षाको सवालमा कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता जनाएको छ । बोइङ ७३७–८०० सिरिजका चार हजार दुई सय आठ वटा जहाजमध्ये एक चौथाइ अर्थात् १२ सयभन्दा धेरै जहाज चीनमा रहेका छन् । सन् २०१८ र २०१९ मा बोइङ ७३७ म्याक्स सिरिजका दुई वटा जहाज दुघर्टनामा परेर तीन सय ४६ जना यात्रुको ज्यान गएपछि कम्पनीले सुरक्षाको विषयमा धेरै आलोचना खेपिरहेको छ ।

चीनमा हिजाे भएको दुर्घटनापछि अमेरिकाको शेयर बजारमा बोइङ कम्पनीको मूल्य साढे तीन प्रतिशतले घटेको छ । हिजो चाइना इस्टर्न एअरलाइन्सको जहाज दुघर्टना हुँदा एक सय ३२ जनाकै ज्यान गएको अनुमान गरिएको छ । चाइना इस्टर्नले बोइङ ७३७ मोडलका जहाज ग्राउन्डेड गरिसकेको छ ।

हिजोको दुर्घटनाले बोइङले निर्माण गरेका ७३७ म्याक्स मोडलका जहाजकाे फेरि बिक्री सुरु गर्ने कम्पनीको योजनामा अर्को धक्का लागेको छ । बोइङले चीनको बजारलाई लक्षित गरेर एक सय ४० वटा ७३७ म्याक्स मोडलका जहाज बनाए पनि सुरक्षाको कारण देखाउँदै चिनियाँ कम्पनीले खरिद गर्न मानेका छैनन् । 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया