भारतमा देखिएको समुद्री आँधीको प्रभाव नेपालमा, पूर्वी भागमा हावाहुरी र असिनासहित पानी पर्न सक्ने

 चैत ८, २०७८ मंगलबार १७:३४:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपालको पूर्वी भागमा हावाहुरी र असिनासहित पानी पर्ने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । भारतबाट समुद्री आँधी सुरु भएको र त्यसको प्रभाव नेपालको पूर्वी भागमा देखिन सक्ने सम्भावना बढेको मौसमविद् डा. धर्मराज उप्रेतीले बताउनुभयो । 

उहाँका अनुसार ६० देखि ७० किलोमिटर प्रतिघण्टाकोे वेगमा चलिरहेको हावाले बङ्गालको खाडी र म्यानमारमा पानी पारिरहेको छ । हावाको बेग दुई, तीन दिन अझै बढ्ने देखिएको छ । 

नेपालमा प्रि–मनसुन सुरु भएपछि असर पार्न सक्ने यो पहिलो समुद्री आँधी हो । आँधीको असर कति दिनसम्म जान्छ भन्नेबारेमा भोलि बुधवारसम्म निर्धारण हुने तर अहिलेसम्मको गति अध्ययन गर्दा दुई, तीन दिनसम्म प्रभाव पार्न सक्ने अनुमान गरिएको उप्रेतीले बताउनुभयो । सामान्य हावाहुरी र असिना पानी परे पनि अरू ठूलो असर नदेखिएको उहाँको भनाइ छ । सामान्यतया मार्च महिनामा यस्तो समुद्री आँधी नआउने भए पनि जलवायु परिवर्तनको असर हुन सक्ने पनि मौसमविद् उप्रेतीले बताउनुभयो । 

अहिले काठमाण्डौ उपत्यकासहित देशका केही ठाउँको मौसम बद्ली भएको छ । स्थानीय वायुको प्रभावका कारण मौसम बद्ली भएको र सामान्य हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना रहेको मौसमविद् वरुण पौडेलले जानकारी दिनुभयो । उहाँका अनुसार काठमाण्डौ उपत्यकासहित धादिङ, काभ्रे, गोरखा, पोखरा आसपासको क्षेत्रमा हावाहुरी र चट्याङसहित पानी पर्ने सम्भावना छ । प्रि–मनसुनको समयमा दिउँसोपख घाम लागे पनि बेलुकातिर हावाहुरी र चट्याङसहित पानी पर्ने गर्छ । 

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया