आर्थिक अनियमितताको आरोपमा ताप्लेजुङ अस्पतालको फार्मेसी कक्षका चार जना निष्कासित

 चैत ९, २०७८ बुधबार ९:७:५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

ताप्लेजुङ – जिल्ला अस्पताल ताप्लेजुङको फार्मेसी कक्षमा कार्यरत चार जना कर्मचारीलाई अस्पताल व्यवस्थापनले निष्कासित गरेको छ । उनीहरुलाई आर्थिक अनियमितताको आरोप लागेको छ ।

फार्मेसीमा आर्थिक अनियमितता भएकोे विषय बाहिरिएपछि छानबिनका लागि गठित समितिले अनियमितता गरेको निष्कर्ष सहितको प्रतिवेदन बुझाएसँगै चार जना कर्मचारीलाई निष्कासित गरिएको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष घनेन्द्र मादेनले जानकारी दिनुभयो । अध्यक्ष मादेनका अनुसार व्यवस्थापन समितिको बैठकले गएको चैत्र २ गते सहायक प्रमुख जिल्ला अधिकारी यमबहादुर भट्टराई संयोजक रहेको छानबिन समिति गठन गरेको थियो ।

समितिले फार्मेसीमा अनियमितता भएको निष्कर्ष सहितको प्रतिवेदन बुझाएको हो । समितिले प्रतिवेदन बुझाए लगत्तै अस्पताल व्यवस्थापन समितिको बैठकले प्रतिवेदनले दिएको सुझावलाई कार्यान्वयन गर्ने निर्णय गरेको थियो । सहायक प्रमुख जिल्ला अधिकारी भट्टराईको संयोजकत्वमा अस्पतालका डाक्टर दीपेन्द्र बोखिम, प्रहरी निरीक्षक राकेश यादव, कोष तथा लेखा नियन्त्रक कार्यालयका लेखापाल दुर्गा थापा र स्वास्थ्य कार्यालयका विवेक थुलुङ सदस्य रहेको पाँच सदस्य छानबिन समिति गठन गरिएको थियो ।

निष्कासित कर्मचारीले अब जिल्ला अस्पताल ताप्लेजुङमा काम गर्न पाउने छैनन् । तर उनीहरुलाई अन्य अस्पताल वा जिल्लामा गएर काम गर्न भने रोक लगाइएको छैन । फार्मेसीमा कार्यरत कर्मचारीले डाक्टर लेखेर दिएको बाहेक पनि बिरामीलाई थप औषधि दिने गरेको, स्वास्थ्य बीमा कार्यक्रम अन्तर्गतको रकम दाबी गर्न बीमा फाँटलाई कागजात पेश गरेर बिरामी, अस्पताल र बीमा बोर्डलाई नै आर्थिक भार पर्ने गरी अनियमितता गरेकोलगायत आरोप छ । अनियमितता गरेको रकमलाई यकिन गरि असुल गर्ने वा नगर्ने भन्ने विषयमा बीमा समितिको छानबिनपछि मात्रै टुङ्गो लाग्नेछ ।
 

अन्तिम अपडेट: माघ १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया