‘उपमेयर सुत्केरी भेटघाट कार्यक्रम’ले गरिब तथा विपन्न आमामा खुसी

 चैत ९, २०७८ बुधबार १०:४१:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

सुनसरी – इटहरी उपमहानगरपालिका वडा नम्बर १६ कि भगवन्ती चौधरी ५ महिनाकी छोरीकी आमा हुनुहुन्छ । उहाँको परिवारमा आमा छोरीसँगै श्रीमान, सासु/ससुरा, श्रीमानका दुई जना भाइ र एक बहिनी छन् । श्रीमान, ससुरा र भाइहरुको दैनिक ज्याला मजदुरीले परिवारको खर्च चल्ने गरेको छ । 

भगवन्तीका श्रीमान् कन्ट्रक्शनमा काम गर्नुहुन्छ । भगवन्ती भने दिनभरजसो घरमै रहनुहुन्छ । ५ महिनाअघि इटहरी उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतम, एक स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीले उहाँलाई घरमै पुगेर भेटे । आमा र शिशुलाई १५ दिनसम्म पुग्ने आवश्यक सामान दिनुभयो । 

‘नगरपालिकाको मान्छे आउँदै छ भनेर भन्नुभएको थियो । म घरमा नै थिएँ’, भगवन्तीले भन्नुभयो, ‘उहाँहरुले मलाई नानी (बच्चा) लाई दुई हप्ता पुग्ने खानेकुरा र कपडा दिएर जानुभयो । घरमा आएर नगरपालिकाको मान्छेले यसरी खानेकुरा र कपडा दिँदा खुसी लाग्यो ।’ 

सरकारी स्तरबाट भएको यस्तो सहयोगले केही समय भए पनि सहयोग पुगेको उहाँको भनाइ छ । ‘तीन जना दिनभर अरुकोमा काम गर्नुहुन्छ । त्यही पैसाले हाम्रो घर चल्छ’ उहाँले भन्नुभयो, ‘सुत्केरीको बेला पहिलेभन्दा धेरै र पोषिलो खानुपर्छ भन्ने पनि थाहा थिएन । उहाँहरुले भनेर जानुभयो । उहाँले दिएको सामान २० दिनसम्म पुर्याएर खाएँ । जे होस् नगरपालिकाले हामी जस्तो गरिबलाई पनि हेर्दोरहेछ भन्ने लागेको छ । धेरै खुसी छु ।’ 

भगवन्ती जस्तै इटहरी ५ की सविता पण्डितलाई पनि उपमहानगरको टोलीले त्यही दिन भेटेको थियो । उहाँ पनि ५ महिने छोराको आमा हुनुहुन्छ । उहाँको परिवार पनि दैनिक ज्याला मजदुरीले नै चलेको छ ।

‘खानेकुरा, कपडासहित डाक्टर पनि आउनुभएको थियो’, उहाँले भन्नुभयो, ‘डाक्टरले सुत्केरी भएको बेला के गर्ने, के खाने, बच्चालाई बिरामी हुन नदिन के गर्ने, खान नहुने कुराहरु पनि भनेर जानुभयो । उहाँहरु आउँदा खुसी लागेको छ ।’

इटहरी उपमहानगरले आर्थिक वर्ष २०७६/०७७ देखि ‘उपमेयर सुत्केरी भेट कार्यक्रम’ सुरु गरेको हो । गरिब तथा विपन्न परिवारका सुत्केरीको स्वास्थ्य परीक्षण र दुई सातासम्म पोषिलो खानेकुरा पुर्याउने उद्देश्यले यो कार्यक्रम सुरु गरिएको उपमेयर लक्ष्मी गौतमले जानकारी दिनुभयो । 

‘कोरोना सुरु भएपछि हामी जस्तो परिवारलाई त खान लाउन समस्या भयो । झन् दैनिक ज्याला मजदुरी गरेर खानेलाई काम नै रोकिएपछि सुत्केरीको ख्याल गर्न समस्या भयो भन्ने लागेर कार्यक्रम सुरु गर्यौँ’, उपमेयर गौतमले भन्नुभयो, ‘हामी गरिब तथा विपन्न परिवारका सुत्केरीलाई भेट्न जाँदा कोरोनाको बेला उहाँहरुलाई यस्तो सहयोग अझ बढी चाहिएको रहेछ भन्ने थाहा भयो ।’

विपन्न र गरिब समुदायका सुत्केरीलाई पोषिलो खानेकुरा, स्वास्थ्य परामर्श र न्यानो कपडा वितरण गरिँदै आएको उहाँले जानकारी दिनुभयो । उपमहानगरको इटहरी अस्पतालमा आएका महिलाको लगत राख्ने र त्यसैको आधारमा लक्षित समुदायका सुत्केरीलाई उपमहानगरको तर्फबाट भेटघाट गर्दै आएको उहाँले जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, ‘कतिपयका श्रीमान दैनिक ज्याला मजदुरीको काम गर्ने हुन्छन् । कतिको वैदेशिक रोजगारीमा गएका हुन्छन् । त्यस्तो अवस्थामा उहाँहरुले खासै स्वास्थ्य र खानपानमा ध्यान दिएका हुँदैनन् । हामी स्वास्थ्यकर्मीका टिम सहित जान्छौँ । उहाँहरुको स्वास्थ्य र बच्चाको स्वास्थ्य पनि हेर्छौँ । साथै १५ दिनसम्म खानपुग्ने सामानहरु दिएर आउँछौँ ।’ 

उपमेयर गौतमका अनुसार सुत्केरी महिलालाई चामल, दाल, तेल, गेडागुडी, अण्डा, आमा र बच्चालाई एक–एक जोर कपडा दिने गरिएको छ । 
 

अन्तिम अपडेट: मंसिर १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया