उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन बनाउन ढिलाे भइसक्याे : गगन थापा

 चैत ९, २०७८ बुधबार १५:२९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन बनाउनुपर्ने बताउनुभएको छ । आज बुधवार कीर्तिपुरमा आयोजित त्रिभुवन विश्वविद्यालय कर्मचारी सङ्घ केन्द्रीय समितिको १२ औँ राष्ट्रिय सम्मेलन उद्घाटन समारोहलाई सम्बोधन गर्दै उहाँले नेपालको उच्च शिक्षा सञ्चालनसम्बन्धी छुट्टै ऐन बनाउनुपर्ने बताउनुभएको हो । 

नेपालमा नयाँ संविधान बनेर सङ्घीयतामा प्रवेश गरिसकेको सन्दर्भमा आजसम्म पनि नयाँ ऐन बनाउन नसकिएको भन्दै महामन्त्री थापाले उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन निर्माण गर्न ढिलो भइसकेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘यत्रो ठूलो राजनीतिक परिवर्तन गर्‍याैँ । संविधानले नयाँ संरचना बनायो । स्थानीय सरकार, प्रदेश सरकार बनाएका छौँ । तर यत्रो ठूलो परिवर्तन पछाडि चाहिँ हामी विश्वविद्यालय कसरी सञ्चालन गर्ने भन्ने कुराको सन्दर्भमा मूल विषयमा प्रवेश गर्न चाहेनौँ । उच्च शिक्षा सञ्चालनसम्बन्धी ऐन बनाउनुपर्छ भनेर मैले भन्दै आएकाे छु । ऐन ल्याइसकेपछि हाम्रो बाटो के हो, हामी उच्च शिक्षामा लगानी कति गर्ने हो ? कसले गर्ने हो ? कसरी गर्ने हो ? विश्वविद्यालय कसरी चलाउने हो ? सङ्घको जिम्मेवारी के हो ? प्रदेशको जिम्मेवारी के हो ? भइरहेको विश्वविद्यालयलाई के गर्ने हो ? नयाँ विश्वविद्यालय खोल्ने हो कि होइन ? यो सबैको सन्दर्भमा पहिला एउटा प्रबन्ध गरौँ । यो प्रबन्ध गरिसकेपछि त्यसमा जमेर बहस गरौँ । सबै राजनीतिक दललाई एक ठाउँमा ल्याएर काम गर्न तयार छौँ । तर यसको नेतृत्व धेरै हदसम्म त्रिभुवन विश्वविद्यालयकै टिमले लिनुपर्ने हुन्छ ।’

महामन्त्री थापाले त्रिभुवन विश्वविद्यालयमा अहिले देखिएका समस्या समाधानका लागि सबै पक्ष जिम्मेवार भएर लाग्नुपर्ने बताउनुभयो । विश्वविद्यालयमा जिम्मेवारीमा रहनुहुने कसैले पनि राजनीतिक पूर्वाग्रह राखेका काम गर्न नहुने उहाँले बताउनुभयो । 

अन्तिम अपडेट: असार ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया