नेता, कार्यकर्तालाई माधव नेपालकाे आग्रह : अरूको सहारामा चुनाव जित्ने कुरा नसाेच्नुस्

 चैत ९, २०७८ बुधबार १८:२१:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको छ । आज बुधवार काठमाण्डाैमा भएको पार्टीको वाग्मती प्रदेश कमिटीको दोस्रो पूर्ण बैठकमा बोल्दै अध्यक्ष नेपालले पार्टीका नेता तथा कार्यकर्तालाई अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्न आग्रह गर्नुभएको हो । उहाँले आफ्नो शक्ति बलियो भएमात्र अरूसँगको तालमेलको अर्थ रहने भन्दै आफ्नो स्थिति कमजोर भएको बेलामा अनावश्यक कुरा सोच्न नहुने बताउनुभयो । 

अध्यक्ष नेपालले भन्नुभयो, ‘हामी सबैले ध्यानमा राख्नुपर्ने कुरा के हो भने आफ्नो शक्ति बलियो भयो भने मात्र अरूसँगको तालमेलको कुनै अर्थ रहन्छ । अरूको सहारामा चुनाव जित्ने कुरा नसोच्नुहोस् । हाम्रो शक्तिको जगमा उभिएर नै अरूको सहयोग लिएर जित्ने कुरा सोच्न सकिन्छ । स्थिति कमजोर छ भने अनावश्यक रूपमा दाबी गर्ने काम पनि गर्नु हुँदैन ।’

अध्यक्ष नेपालले सबै गठबन्धन मिलेर चुनावमा प्रतिस्पर्धा गरेमात्रै नेकपा एमालेलाई पराजित गर्न सकिने बताउनुभयो । उहाँले ओलीको घमण्डलाई चकनाचुर पार्ने कुरामा नेपाली कांग्रेस पनि सहमत रहेको दाबी गर्नुभयाे । 

कार्यक्रममा बाेल्दै अध्यक्ष नेपालले आफ्नो पार्टीमा रहेका मन्त्रीद्वय प्रेमबहादुर आले र कृष्णकुमार श्रेष्ठ राति नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएको कुरा झुटो भएको दाबी गर्नुभयो । उहाँले अध्यक्ष ओलीका साइबर सेनाहरूले झुटो प्रचार गर्दा आफ्नो र पार्टीका नेताहरूको निद्रा खराब भएको बताउनु भयो । 

अध्यक्ष नेपालले एमाले अध्यक्ष ओलीले नै एमसीसी परियोजनामार्फत नेपाललाई इन्डाेप्यासिफिकको अङ्ग बनाउने कुरा ल्याएको आरोप लगाउनुभयो । उहाँले आफूले त्यसको विरोध गरेपछि अहिले अमेरिकाले इन्डाप्यासिफिकको अङ्ग बन्ने कुरा काटेको बताउनुभयो । अध्यक्ष नेपालले अध्यक्ष ओलीको विचारमा क्रान्तिकारिता नभएको आरोप लगाउँदै दक्षिणपन्थी अवसरवादसँग ओली रहेको बताउनुभयो ।

यस्तै अध्यक्ष नेपालले तत्कालीन नेकपामा ओलीले दाउपेच खेलेपछि आफूले पनि राजनीतिक दल विभाजनसम्बन्धी विधेयकमा २० प्रतिशतमा झारेर पार्टी दर्ता गराएको बताउनुभयो । उहाँले आफ्नो पार्टी सानो दुःखले आर्जेको पार्टी नभएको भन्दै आफ्नो पार्टीलाई हेपेको सहन नसक्ने बताउनुभयो । 

अन्तिम अपडेट: मंसिर २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया