दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
काठमाण्डाै - परराष्ट्रमन्त्री डा. नारायण खड्काले चीनका स्टेट काउन्सिलर तथा विदेशमन्त्री वाङ यीको नेपाल भ्रमणका क्रममा सीमा नाकाको समस्या समाधानको लागि पहल गर्ने बताउनुभएको छ । सिन्धुपाल्चोक उद्योग वाणिज्य सङ्घको ज्ञापनपत्र बुझ्दै मन्त्री खड्काले चीनसँगको आयात–निर्यातमा देखिएको समस्या समाधानको लागि पहल गर्ने बताउनुभयो ।
सिन्धुपाल्चोकको तातोपानी नाका तथा रसुवाको नाकाबाट केही मात्रामा आयात भए पनि निर्यात ठप्प रहेको भन्दै मन्त्री खड्काले आयात तथा निर्यात दुवै सहज हुने व्यवस्थाका लागि आफूले चिनियाँ विदेशमन्त्री वाङ यीसँग छलफल गर्ने बताउनुभयो ।
आयात सहज नहुँदा नेपाली व्यापारीले समस्या झेल्नुको साथै मूल्यवृद्धी लगायतका समस्या देखिएको र निर्यात नहुँदा नेपालको अर्थतन्त्र नै जोखिममा हुने भन्दै मन्त्री खड्काले नाका खोल्न सक्दो पहल हुने बताउनुभयो ।
कोरोना महामारीका कारण बन्द भएको नाकामा चिनियाँ पक्षले निर्यात खुलाए पनि आयात नखुलाउँदा नेपालबाट निर्यात ठप्प रहेको छ । मन्त्री खड्कालाई ध्यानाकर्षणपत्र बुझाउँदै उद्योग वाणिज्य सङ्घ सिन्धुपाल्चोकका अध्यक्ष होमबहादुर बस्नेतले २०७२ सालको भूकम्पपछि बन्द रहेको तातोपानी नाका पहिलेको अवस्थामा फर्कन नसक्दा र निर्यात ठप्प हुँदा झण्डै १० हजार जनाले प्रत्यक्ष रोजगारी गुमाउनुको साथै व्यापार व्यवसाय धरासायी बनेको बताउनुभयो ।
नाका नियमित नहुँदा चालक, परिचालक, लोडर लगायतका स्वरोजगार मजदुरहरुको काम पनि बन्द भएको छ । उहाँले नेपाल र चीन दुवैतर्फ कोरोना सङ्क्रमणको जोखिम कम भए पनि चिनियाँ पक्षले कोरोनाकै कारण देखाइ नेपालबाट सामग्री लैजान रोक लगाएको र नेपाल तर्फको आयात पनि सहज नभएको बताउनुभयो ।
विज्ञप्तिमा नाकालाई नियमित गरी सहज आयात निर्यातको व्यवस्था गर्न माग गरिएको छ । यस्तै विज्ञप्तिमा अरनिको राजमार्ग विभिन्न ठाउँमा जीर्ण बनेको भन्दै मर्मत सुधारको लागि पहल गर्न पनि आग्रह गरिएको छ ।
अध्यक्ष बस्नेतसँगै निवर्तमान् अध्यक्ष वेदबहादुर श्रेष्ठ, उपाध्यक्ष सूर्यबहादुर कार्की, महासचिव सम्भुबहादुर तिमल्सिनालगायतको टोली परराष्ट्रमन्त्रीको निवास पुगेर ध्यानाकर्षणपत्र बुझाएको हो । चिनियाँ विदेशमन्त्री वाङ यी भोलि नेपाल भ्रमणमा आउँदै हुनुहुन्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।