चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौमा

 चैत ११, २०७८ शुक्रबार १७:८:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिनियाँ विदेश मन्त्री वाङ यी काठमाण्डौ आइपुग्नुभएको छ । तीन दिने भ्रमणका लागि उहाँ आज शुक्रवार दिउँसो काठमाण्डौ आइपुग्नुभएको हो ।

भारतको नयाँ दिल्लीबाट काठमाण्डौ आइपुगेको उच्चस्तरीय भ्रमण टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा परराष्ट्र सचिव भरतराज पौड्याल, नेपालका लागि चिनियाँ राजदूत हाेउ यान्छीलगायतले स्वागत गर्नुभयाे ।  

विमानस्थलबाट विदेश मन्त्री वाङ यी सोझै होटल द्वारिकाज पुग्नुहुनेछ । भ्रमणको दोस्रो दिन भोलि शनिवार बिहान विदेश मन्त्री यी शिवपुरी हाइकिङ जाने कार्यक्रम रहेको छ । त्यसपछि परराष्ट्र मन्त्री नारायण खड्कासँग सिंहदरबारमा भेट हुनेछ । भेटमा नेपाल र चीनबीच विभिन्न विषयमा द्विपक्षीय सहमतिपत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

त्यसपछि वाङ यीले प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गर्नुहुनेछ । त्यस्तै पर्सि आइतवार बिहान वाङ यीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शीतल निवासमा भेट्ने तालिका छ । 

तीन दिने भ्रमणका क्रममा उहाँले राजनीतिक दलका शीर्ष नेताहरूसँग पनि भेट्नुहुनेछ । उहाँकाे भ्रमणलाई मध्यनजर गरेर काठमाण्डौको सुरक्षा व्यवस्था कडा पारिएको छ । नेपाल प्रहरीको विशेष टोली खटिएको छ ।

अमेरिकी सहायता परियोजना एमसीसी पारित गर्ने क्रममा चीनले पनि विभिन्न प्रतिक्रिया दिएको थियो । एमसीसी पारित भएपछि हुन लागेको चीनका विदेश मन्त्रीको नेपाल भ्रमणलाई निकै महत्त्वका साथ हेरिएको छ ।

चिनियाँ विदेश मन्त्रीको भ्रमणका क्रममा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋणको ब्याज घटाउन, चीनमा मेडिकल शिक्षा पढिरहेका तर कोरोनाका कारण नेपाल आएका विद्यार्थीलाई फेरि चीन लैजान, बीआरआई अन्तर्गतका आयोजना कार्यान्वयनमा चीनले अनुदान दिनुपर्ने लगायतका विषय उठाउने नेपालको तयारी छ । 

अन्तिम अपडेट: जेठ ३२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया