मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघातका बिरामीले मासिक ५ हजार रुपैयाँ उपचार खर्च पाउने, यस्तो छ कार्यविधि

 चैत १७, २०७८ बिहिबार ८:१३:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै –  सरकारले मिर्गौला, क्यान्सर र मेरुदण्ड पक्षघात भएका बिरामीलाई औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ दिने भएको छ । औषधि उपचार बापत खर्च उपलव्ध गराउने कार्यविधि २०७८ स्वीकृत भएसँगै मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात भएका बिरामीले औषधि उपचारका लागि मासिक पाँच हजार रुपैयाँ पाउने भएका हुन् ।

गएको १३ गतेको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको हो । स्वास्थ्य तथा  जनसंख्या मन्त्रालयको नीति, योजना तथा अनुगमन महाशाखा देशभरका ७ सय ५३ पालिकाबाट यो रकम उपलब्ध गराउन कार्यविधि कार्यान्वयनका लागि पत्राचार गरिसकेको छ । अब स्थानीय पालिकाले यस्ता बिरामीको लगत संकलन गर्नेछ । लगत संकलन पछि नाम अध्यावधिक गरिने छ र त्यो तथ्याङ्क पालिकाले स्वास्थ्य मन्त्रालयमा पठाउनेछ । त्यसपछि बिरामीको खातामा रकम पठाइने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

उहाँकाअनुसार आउँदो बैशाख महिनादेखि नै यस्ता बिरामीलाई मासिक पाँच हजार रुपैयाँ दिने गरी तयारी भएको छ । तर लगत संकलनका लागि समय लाग्ने र स्थानीय तहको चुनाव पनि नजिकिएकाले बैशाख महिनादेखिनै लागू हुने सम्भावना कम छ । कार्यविधिअनुसार सरकारले तोकेको मासिक पाँच हजार रुपैयाँका दरले तीन/तीन महिनाको अन्तिम दिन स्थानीय तहले लाभग्राहीको बैंक खातामा रकम जम्मा गरिदिने छन् ।

यस्तै, सरकारबाट उपलव्ध ज्येष्ठ नागरिक भत्ता, एकल महिला भत्ता दलित भत्ता, पिछडिएको वर्ग भत्ता, अपांग भत्ता पाउनेले यो भत्ता वा उपचार खर्च मध्ये एक रोज्नुपर्ने छ । यस्तै एक भन्दा बढी रोग लागेकाहरुले पनि दोहारो भत्ता पाउने छैनन् ।  यसअघि २०७४ सालमा सरकारले यी रोगका बिरामीलाई मासिक पाँच हजार रुपैयाँ औषधि खर्च दिने घोषणा भएको थियो । तर, चार वर्षसम्म कार्यविधि नबन्दा कार्यान्वयन भएको थिएन ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया