बालबालिकालाई टाइफाइड विरुद्धको खाेप दिन आजदेखि विद्यालयमै खाेपकेन्द्र

 चैत २५, २०७८ शुक्रबार ८:४:१४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डाै - १५ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई टाइफाइड विरुद्धको खोप दिन आजदेखि राष्ट्रिय अभियान हुँदैछ ।

आउँदो वैशाख १८ गतेसम्म हुने अभियानमा १५ महिनादेखि १५ वर्षमुनिका ७४ लाख बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने सरकारको लक्ष्य रहेको छ । टाइफाइडविरुद्धको खोप सुरु गर्ने नेपाल दक्षिण एसियामै पहिलो राष्ट्र हो । आजदेखि देशभर ५० हजार केन्द्रबाट खोप दिने तयारी छ ।

विद्यालयमै समेत खोपकेन्द्र राखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । आजदेखि राष्ट्रिय अभियान हुँदै भए पनि बालबालिकालाई यसअघि नै खोप दिन सुरु भइसकेको छ । हिजो प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्यकर्मीलाई खोप हस्तान्तरण गर्दै अभियानको उद्घाटन गर्नुभएको थियो ।

हिजो काठमाण्डौको दरबार हाइस्कुलका केही विद्यार्थीलाई खोप दिइएको थियो । परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालकाअनुसार नेपालमा हरेक वर्ष झन्डै चार लाख ५० हजारभन्दा धेरै टाइफाइडबाट सङ्क्रमित हुन्छन् ।

पानीजन्य रोगबाट हुने टाइफाइड, हैजाजस्ता समस्या हरेक वर्ष बढिरहेका छन् । टाइफाइडबाट ज्यान गुमाउनेको सङ्ख्या कम भए पनि सङ्क्रमणदर धेरै रहेकाले जोखिममा रहेका समूहलाई खोप दिन थालिएको परिवार कल्याण महाशाखाका प्रमुख डाक्टर विवेककुमार लालले बताउनुभयो ।

यसैबीच, टाइफाइडविरुद्धको खोप कार्यक्रममा सहयोग गर्न काठमाण्डौ महानगरपालिकाले आफू मातहतका सबै विद्यालयलाई आग्रह गरेको छ ।

महानगरपालिकाको शिक्षा विभागले सूचना निकालेर आजदेखि आउँदो वैशाख १८ गतेसम्म १५ महिनामाथि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने कार्यक्रम रहेकाले सहयोग गर्न आग्रह गरेको हो ।

महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीका अनुसार महानगरका सामुदायिक र निजी गरी ६ सय विद्यालयमा खोप केन्द्रको व्यवस्था गरिएको छ । अहिले चालु शैक्षिकसत्रको परीक्षा सञ्चालन हुने समय भएकाले परीक्षा सञ्चालन गरिने दिन परीक्षा समयअघि वा पछि अनुकूलता हेरेर अभियान सञ्चालन गर्न उहाँको आग्रह छ । 

अन्तिम अपडेट: असोज १०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया