सरकारको सबै शक्ति चुनावमा केन्द्रित छ : गृह मन्त्री खाण

 चैत २५, २०७८ शुक्रबार १७:२७:५५ | जनार्दन घिमिरे
unn.prixa.net

गुल्मी – गृह मन्त्री बालकृष्ण खाणले सरकारको सबै शक्ति आउँदो वैशाख ३० गते हुने पालिका चुनावमा केन्द्रित भएको बताउनुभएको छ । उहाँले चुनावमा भाग लिने सबै दललाई आश्वस्त पार्दै चुनाव स्वतन्त्र, निष्पक्ष र भयरहित बातावरणमा सम्पन्न हुने बताउनुभयो । 

उद्योग वाणिज्य सङ्घ गुल्मीले आज शुक्रवारदेखि सदरमुकाम तम्घासमा सञ्चालन गरेको चौथो गुल्मी महोत्सवको उद्घाटन गर्दै मन्त्री खाणले यस्तो बताउनुभएको हो ।  कार्यक्रममा उहाँले पालिका चुनावले नागरिकको अधिकारलाई शक्तिशाली बनाउने बताउनुभयो । उहाँले अहिलेसम्म चुनावमा भाग नलिएका दलका उम्मेदवारहरूलाई एउटै चुनाव चिह्न दिने प्राविधिक व्यवस्था मिलाउन निर्वाचन आयोगलाई सरकारको तर्फबाट विशेष आग्रहसमेत गर्नुभएको थियो ।  

महोत्सव उद्घाटनको अवसरमा सदरमुकाम तम्घासमा रहेका विभिन्न सङ्घ–संस्थाहरूले विभिन्न झाँकी लगायत र्याली प्रस्तुत गरेका थिए । महोत्सव अवधिभर विभिन्न औद्योगिक क्षेत्रबाट उत्पादित सामग्रीका साथै गुल्मीका विभिन्न जाति विशेषका खानाका परिकार पनि प्रदर्शन गरिने भएको छ । 

महोत्सवमा गुल्मीमा उत्पादन हुने कफी, तरकारी, मह, च्याउ लगायतका अरू कृषिजन्य सामग्री तथा सेरामिक्स, बाँस तथा निगालोबाट बन्ने सामग्रीहरूलाई उच्च प्राथामिकताका दिइएको छ । 

महोत्सवबाट आम्दानी भएको रकममध्ये ४० प्रतिशत सामाजिक क्षेत्रमा र बाँकी ६० प्रतिशत वाणिज्य सङ्घको आम्दानीमा राखिने आयोजकले जनाएको छ । महोत्सवमा ८० हजार जनाले मेला अवलोकन गर्ने अपेक्षा गरिएको गुल्मी उद्योग वाणिज्य सङ्घका अध्यक्ष ईश्वरीप्रसाद पौडेलले बताउनुभयो ।       

‘गुल्मी जिल्लाको सम्पन्नता र समृद्धिको निकास शिक्षा, स्वास्थ्य, कृषि र पर्यटनमा आधारित व्यापारको विकास’ भन्ने नाराका साथ आजदेखि सुरु भएको महोत्सव वैशाख ४ गतेसम्म चल्ने छ  । 

अन्तिम अपडेट: चैत २७, २०८०

जनार्दन घिमिरे

गुल्मीका क्रियाशील पत्रकार जनार्दन घिमिरे लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया