आउन थाले मतदान सामग्री, प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी

 चैत २७, २०७८ आइतबार ८:२३:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनावका लागि प्रयोग हुने मतदान सामग्री आउन थालेका छन् । मतदान र मतदानस्थलमा प्रयोग हुने आवश्यक साना आकारका सामग्री आइसकेको तर मतदानमा प्रयोग हुने छेकबार, लाहा अझै नआएको निर्वाचन आयोगले जनाएको छ ।

नमुना मतपत्र, स्वस्तिक छाप, कैँची, स्टाम्प प्याड, मसी, स्टिच र पिन, पन्चिङ मेसिन, मार्कर, कलम, मास्क, स्यानिटाइजरलगायत आइपुगेको छ । यी धेरैजसो सामग्री भारतबाट आएका छन्। चुनावमा ५६ प्रकारका सामग्री प्रयोग हुनेछन् ।

मतपेटिका चीनबाट आयात भइसकेको तर अहिलेसम्म आयोगले बुझिनसकेको प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो । यसपालिको पालिका चुनावमा ९५ हजार मतपेटिका प्रयोग हुने अनुमान छ । त्यसमध्ये २५ हजार खरिद गरिँदैछ । बाँकी मतपेटिका आयोगसँग मौज्दात छ । निर्वाचन आयोगले चुनाव हुनु एक महिनाअघि नै सबै सामग्री बुझाउनेगरी गएको फागुन अन्तिम हप्ता आपूर्तिकर्तासँग सम्झौता गरेको थियो ।

मतदान प्रयोजनका लागि आयोगले १० वटा प्याकेजमा २३ प्रकारका सामग्री खरिदको सम्झौता गरेको थियो । त्यसमध्ये झन्डै १५ प्रकारका सामग्री आयोगले प्राप्त गरेको प्रवक्ता पौडेलले बताउनुभयो । यी सामग्री आवश्यक प्रक्रिया पूरा गरी जिल्ला जिल्लामा पठाउने तयारी छ ।

आयोगले जिल्लामा खटिएका निर्वाचन अधिकृत, अधिकृत र अधिकारीलाई आवश्यक तालिम दिने पनि तयारी गरेको छ । आउँदो ३० गते विराटनगर, धुलिखेल, पोखरा र नेपालगञ्जमा र वैशाख २ गते जनकपुर, हेटौँडा, बुटवल र धनगढीमा तालिम दिने तयारी छ । तालिम चुनावको व्यवस्थापन र तयारीमा केन्द्रित हुने आयोगका प्रवक्ता पौडेलले जानकारी दिनुभयो ।

पालिका चुनाव आउन अब ३३ तीन मात्रै बाँकी छ । हिजोदेखि चुनावको आचारसंहिता समेत लागू भइसकेको छ ।

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया