घट्दै खर्च, बन्दै भविष्य

 चैत २७, २०७८ आइतबार १३:३१:० | सुजता सुनुवार
unn.prixa.net

काठमाण्डौ – बाग्लुङको जैमिनी नगरपालिका-५ की शान्तिदेवी शर्मा सिलाइ कटाइको तालिममा व्यस्त हुनुहुन्छ ।

सुरक्षित आप्रवासन परियोजना सामीले निःशुल्क तालिमको अवसर दिएपछि उहाँको व्यस्तता बढेको हो । उहाँले फाटेको लुगा सिलाउन मात्रै होइन भविष्यको बाटो कोर्न पनि सिक्नु भएको छ । वित्तीय साक्षरता कक्षामा सहभागी भएपछि फजुल, अतिआवश्यक र ऐच्छिक खर्चकाबारेमा शर्मालाई ज्ञान भयो । अनि त उहाँका रहरहरु टुट्दै गए र जोडिंँदै गए भविष्यका बाटाहरु । 

उहाँ पहिले खाजामा चाउचाउ र चाउमिन खानुहुन्थ्यो । आफू र छोराछोरीको लागि खाजा जुटाउँदा दैनिक दुई सय रुपैयाँभन्दा धेरै खर्च हुन्थ्यो । वित्तीय साक्षरता कक्षामा बसेपछि दुर्गाले घरैमा खाजा तयार गर्न थाल्नु भयो । घरमा चाउमिन र चाउचाउका ठाउँमा कोदोको रोटी, मकै, भटमास लगायतका खाजा बन्न थाल्यो ।

आफू मात्रै होइन छोराछोरीलाई पनि यसैमा बानी पार्नु भयो । ऐच्छिक खर्चलाई कटाएर शान्तिले छोराछोरीको नाममा जीवन बीमामा बचत गर्न सुरु गर्नु भएको छ । उहाँ भन्नुहुन्छ, ‘वर्षको ७० हजार रुपैयाँ नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बचत गर्छु ।’ यसले उहाँलाई मेहेनती र स्वस्थ त बनाएको छ नै, छोराछोरीको भविष्य सुन्दर बनाउने जिम्मेवारी पनि जोडिएको छ । 

छोराछोरी दुई महिनाको हुँदा श्रीमान् लिलाकण्ठ पौडेल भारत जानुभयो । अनि त काखे नानी च्यापेर परिवार समाल्ने जिम्मा शान्तिको काँधमा आइलाग्यो । भारतको कोइलाखानीमा काम गरेर कमाएको पैसाले घरखर्च टार्न गाह्रो भयो । त्यसपछि लिलाकण्ठ मलेसिया उड्नु भयो । 

परदेशीको कमाइले घरखर्च चलाउन हम्मे–हम्मे परेको बेला शान्तिलाई वित्तीय साक्षरता कक्षा लिने अवसर मिल्यो । कक्षाले खर्च व्यवस्थापन गर्न मात्रै होइन मेहनती पनि बनाएको छ । सिप सिक्नु भएको छ । गाई, भैँसी र बाख्रा पाल्नु भएको छ । अहिले त श्रीमान् पनि गाउँ फर्कनुभएको छ । 

बाग्लुङको जैमिनी नगरपालिकाकै शान्ति नेपालीले पनि वर्षको ३५ हजार बचत गर्नुहुन्छ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडमा बचत सुरु गरेको एक वर्ष भयो । सिलाइकटाइको सिप सिक्न जाँदा दिनमा उहाँको खाजामै ७० रुपैयाँ सकिन्थ्योे ।

‘वित्तीय कक्षामा बचत गर्ने तरिकाबारे थाहा भएपछि पैसाको साटो घरैको खाजा बोकेर जान थालेँ' शान्ति भन्नुहुन्छ, ‘सिकेको ज्ञान व्यवहारमा लागू पनि गरेँ । अहिले परिवर्तन भएको छ ।’ खाजामा खर्च हुने रकम उहाँले बचत गरिरहनु भएको छ । 

हिजोआज शान्तिले कमाइ र खर्चको हिसाबकिताब पनि राख्नु हुन्छ । यसका लागि उहाँले नोटबुकमा फजुल, अतिआवश्यक र ऐच्छिक खर्च तालिका भर्नु हुन्छ । तालिकाबाट शान्तिलाई आम्दानी र खर्च कति हुन्छ भन्नेबारे जानकारी पनि हुन्छ। 

शान्तिसँग पारिवारिक खर्च जुटाउने जिम्मेवारी श्रीमान्को मात्रै होइन मेरो पनि हो भन्ने ज्ञान छ । यो ज्ञान उहाँले कक्षामा बसेपछि थाहा पाउनु भएको हो । शान्तिको घरमा अहिले कुखुरा फार्म छ । यो फार्म उहाँले आफ्नै लगानीमा सञ्चालन गर्नुभएको हो । उहाँको श्रीमान् गणेश नेपाली साउदी बसेको चार वर्ष भयो । अहिले पनि उतै नै हुनुहुन्छ । श्रीमानको अनुपस्थितमा उहाँले घरखर्च चलाइरहनुभएको छ ।

जैमिनी नगरपालिका- १ की केन्द्र पुनले पनि महिनामा सात सय ७० रुपैयाँ बचत गर्नुहुन्छ । उहाँको बचत भने सहकारीमा छ । उहाँ भन्नुहुन्छ, ‘खर्च व्यवस्थापनबारे जानकारी भएपछि बचत गर्नुपर्ने रहेछ भन्ने सिकेँ।’ 

जैमिनी नगरपालिकाको चोक बजारमा केन्द्र पुनको होटल छ । सँगै कुखुरा पनि पाल्नु भएको छ । वित्तीय साक्षरता कक्षामा बसेपछि कुखुरा पाल्न थाल्नुभएको हो । छोराछोरी पढाउन र घरखर्च टार्न श्रीमान्कै भर पर्नु पर्ने उहाँलाई अहिले आफैँले गरेको आम्दानीले पनि सहयोग गरेको छ । सात वर्ष परदेश बसेका श्रीमान् अहिले सँगै हुनुहुन्छ  ।

बाग्लुङको जैमिनी नगरपालिकाका चार वटा वडामा वित्तीय साक्षरता कक्षा सञ्चालन भइरहेको छ । वित्तीय साक्षरता सहजकर्ता सीता अर्यालका अनुसार गएको आर्थिक वर्ष चार वटा वडाका ८९ जना कक्षामा सहभागी थिए । यो आर्थिक वर्षमा भने एक सय पाँच जना सहभागी छन् । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया