नेता, कार्यकर्ताले चुनावबारे शङ्का व्यक्त गर्ने अभिव्यक्ति नदिनुस् : निर्वाचन आयाेग

 बैशाख १, २०७९ बिहिबार १७:५:५१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – निर्वाचन आयोगले पालिका चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवम् कार्यकर्तालाई आग्रह गरेको छ । आज बिहीवार आयोगको नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले पालिका चुनावका सम्बन्धमा शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरू नदिन राजनीतिक दलका नेता एवम् कार्यकर्तालाई आग्रह गर्नुभएकाे हाे । 

पत्रकार सम्मेलनमा प्रवक्ता पौडेलले निर्धारित समयमै पालिका चुनाव गर्न तयारी अन्तिम चरणमा पुगेको अवस्थामा चुनावबारे शङ्का व्यक्त गर्ने अभिव्यक्तिहरूप्रति आयोगको ध्यानाकर्षण भएको बताउनुभयो । उहाँले भन्नुभयाे, ‘निर्धारित समयमै पालिका चुनाव गर्न तयारी अन्तिम चरणमा पुगेको छ । चुनावबारे संशय व्यक्त गर्ने अभिव्यक्तिहरू राजनीतिक दलका नेता एवम् कार्यकर्ताबाट आएको अभिव्यक्तिप्रति आयोगको ध्यानाकर्षण भएको छ । चुनावबारे अलमल सिर्जना गर्ने किसिमका अभिव्यक्ति नदिनु हुन सरोकारवाला सबैलाई आयोग आग्रह गर्दछ । 

प्रवक्ता पाैडेलले पालिका चुनावका लागि आवश्यक पर्ने एक करोड ९४ लाख थान मतपत्रमध्ये आजसम्म ३९ जिल्लाका लागि ७० लाख ३३ हजार थान मतपत्र छापिएकाे जानकारी दिनुभयाे । अहिले दैनिक सरदर आठ लाख थान मतपत्र छपाइ भइरहेको उहाँकाे भनाइ छ ।

पालिका चुनाव २०७९ को पर्यवेक्षण गर्न चाहने राष्ट्रिय संस्थाका लागि १५ दिनको समय दिइ पर्यवेक्षण अनुमतिका लागि गएकाे चैत १३ गते सूचना प्रकाशित गरी आवेदन माग गरिएकोमा ६५ वटा संस्थाबाट विद्युतीय माध्यमबाट निवेदन प्राप्त भएको छ । ती संस्थाबाट प्रस्तावित पर्यवेक्षकको सङ्ख्या २० हजार चार सय ६७ रहेकाेमा पुरुष ११ हजार ६ सय ९४, महिला आठ हजार चार सय ८२ र अन्य दुई सय ९१ जना रहेका छन् । 

निर्वाचन आयोगले पालिका चुनावसम्बन्धी सम्पूर्ण गतिविधि र सूचनाको सहजरूपमा जानकारी दिन आजैदेखि हरेक दिन स्थानीय तह निर्वाचन ई बुलेटिन प्रकाशन सुरु गर्दैछ । बुलेटिन आयोगको वेबसाइटमा उपलब्ध हुनेछ । यसबाट आयोगका आधिकारिक सूचना सम्बन्धित सबैमा पुग्ने विश्वास लिइएको छ । 

पालिका चुनाव आउँदाे वैशाख ३० गते एकै चरणमा हुँदैछ । 

अन्तिम अपडेट: बैशाख २७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया