धरहरा चढ्नका लागि मूल्य निर्धारण
मंसिर ७, २०८१ शुक्रबार
काठमाण्डाै - निर्वाचन आयोगले पालिका चुनावमा घर–घरमा पुगेर मतदाता शिक्षा नदिने भएको छ।
मतदाता शिक्षाको परम्परागत पद्धति खर्चिलो र अपेक्षा अनुसार प्रभावकारी पनि हुन नसकेको निष्कर्षसहित यसपटक मतदाता शिक्षाको घरदैलो कार्यक्रम परिमार्जन गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगको प्रगति प्रतिवेदनमाथि विभिन्न समीक्षा बैठक तथा राज्य व्यवस्था समितिको बैठकमा समेत मतदाता शिक्षा त्यति प्रभावकारी नभएको, तोकिएका कतिपय मतदाता शिक्षा स्वयम्सेवक सबै ठाउँमा परिचालित नभएका, निश्पक्ष मतदाता शिक्षा प्रदान गर्न नसकेको जस्ता पृष्ठपोषण प्राप्त भएका कारण कार्यक्रम परिमार्जन गरेको आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
उहाँले भन्नुभयो,‘घरघरमा पुगेर मतदातालाई शिक्षा दिँदा राम्रो भयो भन्ने भन्दा पनि धेरै नकारात्मक टिकाटिप्पणी आएपछि यसपालि रोकिएको हो ।’ प्राप्त सुझाव र प्रतिक्रियापछि आयोगले मतदाता शिक्षामा थप कढाइ या परिमार्जन गर्नुपर्ने दुई वटा मात्रै विकल्प भएकाले परिमार्जन गरेको उहाँको भनाइ छ । घरघरमा र टोल टोलमा पुग्न हुने खर्च, आवश्यक बजेट र स्रोत साधन पनि कमी रहेको आयोगले जनाएको छ ।
वैशाख २९ र ३० गते मतदान स्थलमा दुई/दुई जना स्वयम्सेवक खटिने
२०७४ सालको पालिका चुनावमा घरदैलोका लागि २० हजार स्वयम्सेवक खटाइएको थियो । घरदैलोको सट्टामा आयोगले यसपालि मतदान स्थलमा दुई दिन भोट खसाल्ने तरिका सिकाउने तयारी गरेको छ । त्यसका लागि वैशाख २९ र ३० गते हरेक मतदान स्थलमा दुई/दुई जना स्वयम्सेवक खटिनेछन् । मतदान स्थलमा मतदाता सूचना केन्द्र पनि स्थापना हुनेछ ।
२९ गते मतदाता परिचय पत्र वितरण गर्दा र ३० गते भोट खसाल्न आउने कसैलाई अलमल भएमा नमुना मतपत्र देखाएर सहजीकरण गरिने सहप्रवक्ता अर्यालले बताउनुभयो । ७७ वटै जिल्लामा नमुना मतदानका लागि मतपत्र पुगिसकेको छ ।
मतपत्रमा विभिन्न दलका चुनाव चिह्न रहन्छन् । आयोगले डमी अर्थात नमुना मतपत्रका आधारमा मतदाता शिक्षा दिन्छ । तर दलहरुको गठबन्धन र एउटै पार्टीको चुनाव चिह्नबाट अरु दलका उम्मेदवार उठ्ने भएकाले पनि मत बदर हुने जोखिम धेरै छ । २०७४ सालमा भएको पालिका चुनावमा झन्डै ५ प्रतिशत मत बदर भएको थियो ।
सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोग हुने
आयोगले पर्चा पम्पलेट, सञ्चारमाध्यम, सामाजिक सञ्जाल, प्रविधिको प्रयोग गरेर पनि मतदाता शिक्षा कार्यक्रम तत्काल सुरु गर्ने जनाएको छ ।
‘विद्युतीय सञ्चारमाध्यम र सामाजिक सञ्जालको अधिकतम प्रयोग गरिनेछ’ आयोगका सहप्रवक्ता अर्यालले भन्नुभयो,‘मतदाता शिक्षालाई सकेसम्म प्रभावकारी बनाइनेछ । त्यसबाट बदर मत प्रतिशत पक्कै घट्नेछ । कोभिड महामारीमा सूचना प्रवाह भएजस्तै मतदानमा सहभागी हुन मोबाइलमा रिङ्ग ब्याक टोन पनि राखिनेछ ।’
राजनीतिक दल र कार्यकर्ताले पनि मत माग्न जाँदा मतदातालाई सिकाउने हुँदा अलि सहज हुने आयोगले जनाएको छ । पालिका चुनाव आउन अब २६ दिन मात्रै बाँकी छ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।