राजनीतिक दलको प्रचारमा सरकारी गाडी प्रयोगमा रोक

 वैशाख ४, २०७९ आइतबार १८:१८:७ | रासस
unn.prixa.net

बैतडी – पालिका चुनावमा राजनीतिक दलले आफ्नो चुनावी प्रचारप्रसारमा सरकारी गाडी प्रयोग गर्न नपाउने भएका छन् । चुनाव लक्षित आचारसंहिता लागू भइसकेकाले कुनै पनि राजनीतिक दलका प्रतिनिधि तथा उम्मेदवारका कार्यक्रमका लागि सरकारी गाडीको प्रयोगमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिनुभयो । सरकारी गाडी प्रयोग गरेको पाइएकामा यथाशीघ्र र यथास्थितिमै गाडी नियन्त्रणमा लिइ आवश्यक कारबाही हुने जनाइएको छ । 

जिल्ला प्रशासन कार्यालयले हातहतियार बुझाउन गरेकोे आग्रहको पनि अटेरी भएको पाइएको छ । यही वैशाख ३० गते हुने पालिका चुनावलाई लिएर  गएको चैतसम्म इजाजत प्राप्त हातहतियार बुझाउन अनुरोध गरिएको थियो । त्यस अवधिमा एक जनाले पनि हतियार नबुझाएको कार्यालयका सूचना अधिकारी भारतीले बताउनुभयो ।  

जिल्लामा बारबोर, एकनाले र दुईनाले बन्दुकसहित झन्डै एक हजार इजाजत प्राप्त हातहतियार रहेकामा तीमध्ये दुई सय ५१ हातहतियार द्वन्द्वकालमै प्रशासनमा जम्मा गरिएका थिए । चुनाव विश्वसनीय, सुरक्षित र भयरहित वातावरण बनाउन सबै प्रकारका हतियार बुझाउन भनिएको उहाँको भनाइ थियो । ‘हातहतियार बुझाउन अटेरी गरेका छन्’, सूचना अधिकारी भारतीले भन्नुभयोे, ‘हातहतियार नबुझाउनेलाई के गर्ने भन्नेबारे गृह मन्त्रालयको आदेश पर्खिराखेका छौँ, त्यहीअनुसार कारबाही प्रक्रिया अगाडि बढाउँछौँ ।’ तोकिएको समयमा हातहतियार नबुझाएकाले खानतलासी गरेर कारबाही गरिने जनाइएको छ । 

हातहतियार जम्मा नहुँदा यसले चुनावको शान्ति, सुरक्षामा असर पार्ने आशङ्का गरिएको छ । सूचना निकालेर बुझाउन आग्रह गरेकामा नबुझाउनेलाई कानुनअनुसार कारबाही हुने प्रहरी नायब उपरीक्षक रमेश पालले बताउनुभयो । उहाँले भन्नुभयो, ‘हातहतियार बुझाउन आग्रह गरिसेकका छौँ, नबुझाउनेले कानुनी सजाय भोग्नुपर्छ ।’ 

अन्तिम अपडेट: असार ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया