उम्मेदवार टुङ्गो लगाउन दलहरु छलफलमा : गठबन्धनलाई सकस

 वैशाख ५, २०७९ सोमबार ६:४९:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पालिका चुनावका लागि उम्मेदवारी दर्ता गर्ने दिन नजिकिँदै गर्दा दलहरुको व्यस्तता बढेको छ । उम्मेदवार छनोटबारे छलफल गर्न सत्ता गठबन्धनको बैठक आज पनि बस्दैछ ।

आज बेलुकीसम्म ६ महानगर र ११ उपमहानगरपालिकाको बाँडफाँट टुङ्गो लगाउने गठबन्धनका नेताहरुले दाबी गरेका छन् । तर गठबन्धनका पाँचवटै दलले आआफ्ना अडान र दाबी छोडेका छैनन् ।

सत्ता गठबन्धनमा सहभागी दलहरुले महानगर र उपमहानगरपालिकामा आ–आफ्नो दाबी गरेका छन् । नेपाली कांग्रेसले काठमाण्डौ, ललितपुर, विराटनगर महानगरपालिकाको प्रमुखमा दाबी गरेको छ ।

यस्तै, माओवादी केन्द्रले भरतपुर, एकीकृत समाजवादीले पोखरा र जनता समाजवादी पार्टीले वीरगञ्ज महानगरपालिकामा दाबी गरेको छ।

११ उपमहानगरपालिकामध्ये कांग्रेसले बुटवल, जनकपुर, तुलसीपुर, कलैया, घोराही, धनगढी, हेटौँडा लगायतमा दाबी गरेको छ । माओवादी केन्द्रले घोराही, जितपुर सिमरा, हेटौडा र धरान उपमहानगरपालिकामा दाबी गरेको छ ।

एकीकृत समाजवादीले तुलसीपुर, हेटौँडा र इटहरी तथा जसपाले नेपालगञ्ज उपमहानगरपालिकामा मात्रै दाबी गरेको छ । गठबन्धनमा भएका पाँच दलमध्ये छ वटै महानगरपालिकामा कांग्रेसको मतभार धेरै छ । त्यहीकारण कांग्रेसका स्थानीय कार्यसमितिले अल्पमतको नेतृत्व स्वीकार्न नसकिने अडान लिएका छन् ।

गठबन्धनमा रहेका दलका आआफ्नै दाबी र अडानले उम्मेदवार टुङ्ग्याउन सकस भएको छ । निर्वाचन आयोगले आउँदो १० र ११ गते उम्मेदवारी मनोनयनको दिन तोकेको छ ।

एमाले सचिवालय बैठक आज

चुनावी तयारीको विषयमा छलफल गर्न नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । आज बेलुकीपख तुलसीलाल स्मृति भवन च्यासलमा बस्ने बैठकमा घोषणापत्र र उम्मेदवार छनोटबारे छलफल हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिनुभयो ।

केन्द्रले टुङ्गो लगाउने ६ महानगर र ११ उपमहानगरपालिका सबैमा एमालेले उम्मेदवार सिफारिस गरिसकेको छ । सिफारिस भएका उम्मेदवारको समीक्षा र बाँकी रहेकामा कसलाई पठाउनेबारे बैठकमा छलफल हुनेछ ।

यसैगरी कम्युनिस्ट दिवसका दिन वैशाख ९ गते सार्वजनिक गरिने घोषणापत्रमाथि पनि छलफल गरेर अन्तिम रुप दिइने एमालेले जनाएको छ।

अन्तिम अपडेट: असार १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया