पहिलो संस्करणको नेपाल कबड्डी लिगमा ६ वटा टोलीले सहभागिता जन...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ गठबन्धनले आज सोमवार बेलुकासम्म महानगर र उपमहानगरपालिकाको साझा उम्मेदवार टुङ्गो लगाउने बताउनुभएको छ । पछिल्ला केही दिनदेखि लगातार आन्तरिक छलफलमा रहेका दलले ६ महानगर र ११ उपमहानगरपालिकाको साझा उम्मेदवार तय गर्ने भएका हुन् ।
गठबन्धनमा आबद्ध माओवादी अध्यक्ष प्रचण्डले आज पार्टी केन्द्रीय कार्यालयमा आयोजना गर्नुभएको पत्रकार सम्मेलनमा सहमतिका आधारमा साझा उम्मेदवार तय गरिने जानकारी दिनुभयो । काठमाण्डौ, ललितपुर, पोखरा, भरतपुर, वीरगञ्ज र विराटनगर गरी ६ वटा महानगरपालिका छन् । त्यसमा नेपाली कांग्रेसले तीन वटा महानगरपालिका पाउनेछ भने माओवादी, नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टी नेपाल (जसपा) ले एक/एक वटा महानगरपालिका लिने गरी सहमतिको नजिक पुगेको उहाँले जानकारी दिनुभयो । यही ढाँचामा उपमहानगरपालिकाको पनि नेतृत्व बाँडफाँट हुने बताइएको छ ।
त्यस्तै नगरपालिका र गाउँपालिकाको हकमा निर्णय गर्ने अधिकार जिल्ला समितिलाई नै दिइएको छ । जिल्ला समितिले टुङ्गो लगाउन नसकेका र मतैक्य हुन नसकेका ठाउँमा भने केन्द्रले सुझाव दिएर निष्कर्ष निकालिने उहाँको भनाइ छ ।
फरक एक प्रसङ्गमा अध्यक्ष प्रचण्डले आफूहरूलाई भरतपुर महानगरपालिका नै चाहिन्छ भनेर गरिएको प्रचारमा सत्यता नभएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘गठबन्धनका दलबीच सहमति गर्दा, एउटा महानगरपालिका माओवादीले पाउने भन्ने छ । त्यसमा जुन सहज हुन्छ, त्यही लिने भन्ने कुरा हुन्छ । त्यही दिशामा नै छलफल भइरहेको छ ।’
उहाँले माओवादीलाई महानगरपालिकामध्ये जुनसुकै एउटा दिए पनि हुन्छ भन्ने कोणबाट छलफल भएको बताउनुभयो । उहाँले भन्नुभयो, ‘सहजताका हिसाबले जुन उपयुक्त लाग्छ, त्यही निर्णय हुन्छ ।’
पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले चुनावको प्रक्रिया अगाडि बढिसकेको खण्डमा साझा चिह्न बनाउने विषय प्राविधिक हिसाबले गाह्रो रहेको बताउनुभयो । गठबन्धनमा आबद्ध दलहरूका बीचमा यसबारेमा समान्य छलफल भएको जानकारी दिँदै उहाँले भन्नुभयो, ‘निर्वाचन आयोगले चुनावको प्रक्रिया अगाडि बढाइसकेकाले केही जटिलता उत्पन्न हुन सक्छ । हाम्रो भनाइ भने जुन वडामा जुन पार्टीको उम्मेदवार हुन्छ, उसैको निर्वाचन चिह्न प्रयोग गर्दा सजिलो भने हुन्छ ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।