लालीगुराँसको राजधानीमा पर्यटकको आगमन (तस्बिरसहित)

 बैशाख ७, २०७९ बुधबार ९:२३:३९ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – पूर्वी पहाडी जिल्ला संखुवासभा, तेह्रथुम र ताप्लेजुङको सिमानामा पर्ने लालीगुराँसको राजधानी भनेर चिनिने तिनजुरे–मिल्के–जलजले (टीएमजे) क्षेत्रका बनभरि ढकमक्क लालीगुराँस फुलेका छन् ।

लालीगुराँस फुलेर बनैभरि राताम्मे भएका छन् । लालीगुराँस हेर्न आउने पर्यटकहरुको समेत घुइँचो लाग्ने गरेको छ । गएको दुई वर्ष गराँसको राजधानीमा कोरोना भाइरसका कारण पर्यटकहरु पातलो भए पनि यो वर्ष कोरोना भाइरस केही नियन्त्रण भएपछि पर्यटकहरुको आवागमन ह्वात्तै बढेको हो । गएको वर्षसम्म सुनसान बनेको पर्यटकीय क्षेत्रमा यतिबेला भने पर्यटकहरुको घुइँचो नै लाग्छ । यो वर्ष विगतका वर्षहरुको तुलनामा लालीगुराँस समेत धेरै फुलेको स्थानीयको भनाइ छ ।

संखुवासभाको चैनपुर नगरपालिका–१ अन्तर्गत पर्ने गुफापोखरी, सुकेटार, मेन्छायम डाँडा र मादी नगरपालिका भित्र पर्ने चौकीमंगलबारे, मदामसिंह क्षेत्र र धर्मदेवी नगरपालिकाको टुटेदेउराली र पाथीभरा मन्दिर परिसरमा दैनिक रुपमा पर्यटकहरु भरिभराउ हुन थालेका छन् । आन्तरिक पर्यटकहरु भन्दा विदेशी पर्यटक लालीगुराँस देखेपछि भुतुक्कै हुने गरेको स्थानीयको भनाइ छ ।

पछिल्लो समय भारत, अमेरिका र बेलायत लगायतका विदेशी पर्यटकहरु समेत यो क्षेत्रमा घुम्न आउन थालेका छन् । उनीहरु विशेष कामले नेपाल आएको समयमा टीएमजे क्षेत्र समेत घुम्न आउने गरेको भेटिन्छन् । यहाँको गुराँसको बारेमा अनलाइन, युट्युब लगायतबाट जानकारी पाएकाले घुम्न आएको संयुक्त राज्य अमेरिकाका स्किनक्यर कम्पनीका सीईओ सुजन्माले बताउनुभयो । उहाँले नेपाल र नेपालका ग्रामीण क्षेत्र घुम्ने रहर भएकाले गुराँस हेर्न आएको बताउनुभयो ।

चैत पहिलो हप्तादेखि जेठ पहिलो हप्तासम्म टीएमजे क्षेत्रमा दैनिक दुई/तीन सय जना पर्यटकहरुको आवागमन हुने गरेको चौकीका स्थानीय कृष्ण लों तामाङले बताउनुभयो । उहाँले आन्तरिक तथा बाह्य पर्यटक दिनभर घुमफिर गर्ने, रमाइलो गर्ने र केही मानिसहरु चाहिँ यही रात कटाउने योजना बोकेर आउने बताउनुभयो । ‘दिनभर गुराँसको रुपमा र गुराँसको फुलसँग फोटो खिच्ने, घुम्ने, डुल्ने, भिडियो बनाउने लगायत गर्नेहरुको भीड नै हुन्छ । यहाँका डाँडाकाँडा, हरियाली बसन्त र मनै लोभ्याउने ठूला–ठूला चाैर तथा खर्कहरुले पर्यटकहरुको तानेको छ’, तामाङले भन्नुभयो ।

समुन्द्री सतहदेखि २ हजार ८ सय २९ मिटरको उचाईमा रहेको गुफापोखरी र आसपासका भौगोलिक सौन्दर्यले भरिपूर्ण बनावट हेर्न नै पर्यटकहरुको ठूलो घुइँचो नै लाग्ने गर्दछ । टीएमजे क्षेत्रमा विशेषगरि मंसिर देखि माघसम्म हिउँ खेल्न र फागुन देखि जेठसम्म लालीगुराँस हेर्न आउने गर्दछन् । पछिल्लो समय जिल्लाभित्रका विभिन्न सरकारी तथा गैरसरकारी संघसंस्थाहरुको टिम, विद्यालयहरुबाट शैक्षिक भ्रमण र स्थानीयहरु समेत यस क्षेत्रमा पिक्निक लगायत घुमघामकाे लागि आउने गरेको अर्का स्थानीय मित्रकला खनालले बताउनुभयो । उहाँले पर्यटकहरु आउन थालेपछि होटल व्यवसाय समेत फस्टाउन थालेको बताउनुभयो ।

‘पहिले–पहिले पर्यटक तथा पाहुनाहरु आउँदा अगाडि नै होटल तथा लजहरु बुकिङ्ग गर्नुपर्थ्याे । होटल तथा लज भरिभराउ हुन्थे । कोरोनाले सुनसान बनेको थियो, अब फेरि आवागमन बृद्धि हुन थालेपछि खुशी भएका छौ’, खनालले भन्नुभयो, ‘कोरोनाले हाम्रो त व्यवसाय नै चौपट पारेको थियो । अब लयमा फर्किँदैछ । हाम्रो मुख्य पेशा नै होटल व्यवसाय भएकाले पर्यटक नआएपछि के खाने भन्ने समस्या हुन थालेको थियो ।’

तीनजुरे-मिल्के-जलजले क्षेत्रमा बिराटनगर, धरान, इटहरी र काठमाण्डौदेखि समेत घुमफिर गर्न आउने गर्दछन् । प्रायः जसो आन्तरिक तथा बाह्य पर्यटकहरु लालीगुराँस हेर्न, फोटो खिच्न, शहरबजारको भीडबाट केही समयलाई ‘फ्रेस’ हुनलाई यहाँ पर्यटकहरु आउने गरेको पाइन्छ ।

टीएमजे क्षेत्रको मुख्य आकर्षण

पर्यटकीय क्षेत्र तीनजुरे-मिल्के-जलजले अर्थात्  टीएमजेको मुख्य आकर्षण भनेको विश्वमा पाइने ३२ प्रजातिका लालीगुराँसमध्ये २८ प्रजाति लालीगुराँस यसै ठाउँ हेर्न पाइनु हो । टीएमजे क्षेत्र पुगेपछि विभिन्न जातका रंगीबिरंगी लालीगुराँस हेर्दै पर्यटकहरु रमाउने गर्छन् । त्यसपछि उच्च हिमाली क्षेत्रमा गुफापोखरी, मेन्छायम डाँडा, सूर्याेदयकाे दृश्य हेर्न, भीमसेनले बोकेको ढुङ्गा, रेडगार्डेन, कञ्चनजंघा लगायतका हिमश्रृङखला नजिकै देखिने, तमोर नदीको र्‍याफटिङ्ग सजिलै देख्न सकिने, सानो पाथीभराको मन्दिर पनि यहाँको आकर्षण हो ।

यस्तै, यहाँको भौगोलिक बनावट, निगालाेबाट बनेका चित्राले छाएको परम्परागत घर तथा घरका छानो, स्थानीय जातका खानेकुरा तथा परिकारहरु, उच्च हिमाली क्षेत्रको रहनसहन र बसोबासले पनि पर्यटकहरुलाई आकर्षण गर्दछ । टीएमजे क्षेत्रको अर्को आकर्षण भनेको छिनछिनमै हुने मौसम परिवर्तन समेत हो । एकैछिनमा घाम लाग्ने र एकैछिन पानी पर्ने र बाक्लो हुस्सु लाग्ने हुनाले कति बेला मौसम परिवर्तन हुन्छ भन्ने पत्तो नहुने स्थानीय बताउनुहुन्छ ।

पछिल्लो समय एटीएमजे क्षेत्रमा सडक यातायात समेत विस्तार भएकाले सहज भएको छ । अहिले गुफापोखरी र चौकीमंगलबारेसम्म गाडीमा पुग्न सकिन्छ । यता सदरमुकाम खाँदबारी र तुम्लिङटार एअरपोर्ट देखि चैनपुर–मादी हुँदै गुफापोखरी पुग्न सकिन्छ भने अर्को बाटो चैनपुर –माम्लिङ–मुडेशनिश्चरेदेखि टुटेदेउराली हुँदै टीएमजे क्षेत्र पुग्न सकिन्छ ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया