बर्दियामा मित्रवत् प्रतिस्पर्धा गर्ने गठबन्धनकाे सहमति

 बैशाख ७, २०७९ बुधबार १९:१२:३० | भावुक योगी
unn.prixa.net

बर्दिया – बर्दियामा पाँच दलीय सत्ता गठबन्धनले भागबन्डाको टुङ्गो लगाउन नसकेपछि मित्रवत् ढङ्गबाट पालिका चुनावमा जाने सहमति गरेका छन् ।

यही वैशाख ३० गते हुने चुनावका लागि सत्ता गठबन्धनका टोलीले सात दिनसम्म लगातार पालिकाको नेतृत्व बाँडफाँट टुङ्ग्याउने प्रयास गरिरहेका थिए । तर कार्यदलको बैठकमा दलहरूले आफ्नो अडान नछाडेपछि मित्रवत् प्रतिस्पर्धा गर्ने सहमति भएको हो । 

गठबन्धनका विषयमा आज बुधवार सदमुकाम गुलरियामा पत्रकार सम्मेलन गर्दै टोलीले चुनावमा मित्रवत् प्रतिस्पर्धा गर्ने लगायतका १० बुँदे निर्णय गरिएको सहमति पत्र सार्वजनिक गरिएको हो । 

पत्रमा बर्दियाका आठ वटै पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र वडा सदस्य पदका लागि पाँच दलले मित्रवत् प्रतिस्पर्धा गर्ने, गठबन्धनभन्दा फरक कुनै पनि दलसँग सहमति गरेर चुनावमा जान नपाइने निर्णय भएको उल्लेख छ ।

गठबन्धन गर्ने भए आठ वटै पालिकामा गर्ने नभए सबै ठाउँमा मित्रवत् ढङ्गबाट प्रतिस्पर्धा गर्ने भन्ने छलफल हुँदा पाँच दलीय गठबन्धन बर्दिया जिल्लास्तरीय संयन्त्रले मित्रवत् प्रतिस्पर्धामा सहमति गरेको नेपाली कांग्रेस जिल्ला सभापति अरुण प्रकाशसिंह राठौरले जानकारी दिनुभयो ।

६ नगरपालिका र दुई गाउँपालिका गरी आठ पालिका रहेको बर्दियामा २०७४ सालको पालिका चुनावमा नेकपा एमाले विजयी भएका तीन वटा पालिकामा मात्र भए पनि गठबन्धन गर्ने अन्तिम प्रस्तावमा पनि सहमति हुन नसक्दा सबै पालिकामा मित्रवत् प्रतिस्पर्धा हुने भएको हो । 

अन्तिम अपडेट: चैत ३, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया